' जीवनको अनुभव '

बिष्णु गुरुङ "एकता "
क्यालिफोर्निया

म नेपालमा हुँदा होटेल व्यवसाय गर्थे। ब्यबसाय कसरि गरिन्छ भन्ने कुरा सिक्दा सिक्दै देशको गृहयूद्धले जब पर्यटन ब्यबसाय धरासयमा पर्यो आर्थिक समस्या दिन प्रतिदिन बढ्दै जान थाले पछि त्यस समस्याबाट उम्कन र सुखमय जीवन बिताउने मिठो सपना बोकेर शाक्तिशाली एवं स्वतन्त्र देश अमेरिका आईपुगे। पैसा नै कमाउने मुख्य सोच रहेकोले बेबिसिटर काम जसलाई फूलटाईम गर्छ त्यसलाई न्यानी भन्छ र अमेरिकामा प्राय जसो ठाउँमा तलब प्रत्येक हप्तमा पाईन्छ। 


यहिँ न्यानी गरेर हप्ताको  राम्रो परिवारहरुसँग राम्रो खाना खाएर बर्षको दुई हप्ता भेकेसनको छुट्टी पाएर सरकारी बिदाहरुमा पनि घरमा बसेर हप्ताको ४० घण्टा काम गरेर $८०० कमाउँदा अति खुशी थिए। साँच्चै यो बिपना हो भनेर पत्याउनै गाह्रो लाग्थ्यो। पोखराको लेक्साईड पर्यटन स्थलमा आफ्नै होटेल चलाएर बसेको कुरा आफैलाई सपना जस्तो लाग्यो। कति मिहेनत गरेर पनि पैसा कमाउँन गाह्रो हुने तर यहाँ बिना लगानी कम दुखले यति धेरै पैसा कमाउँने ओंहो यो के अचम्म हो? दङ्ग हुन्थे। 


सधै ति परिवारहरुको प्रसंसा गर्थे। यहिँ कामको सिलसिलामा जुम्ल्याहा छोरीहरु र आमाबुवा दुवै काईजरको डाक्टर थिए। उनीहरुसँग काम गर्न पाउँदा आफु भाग्यमानी ठान्थे। सानो बच्चबाट शुरु गरेको हुँदा कम्तिमा दुईबर्षको लागि काम ढुक्क भयो भनेर आनन्द थिए तर, ठिक एक बर्ष पछि एक दिन सधै झैँ आमा चाहिँ कामबाट आईन र आफुहरुले नयाँ घर किनेको र तुरुन्तै त्यस घरमा सर्न लागेको कुरा गरिन। मैले कुरा बुझे र उनलाई सजिलो बनाउँदै सोधे, के तिमीले भन्न खोजेको कुरा मेरो काम भोलीबाट छैन यहाँ है त ?


 उनले मुन्टो हल्लाउँदै हो भनिन् म अचम्ममा परे। हामी दुईको समझदारी शर्त अनुसार दुबै तर्फबाट छोड्न वा छुटाउन परेमा ३० दिनको अग्रिम सुचना सहित एक महिना बराबरको तलब न्यानीलाई दिने भन्ने थियो। त्यो शर्त मैले उनलाई सम्झाए तर उनले त्यस्तो शर्त नगरेको भन्दै दुई हप्ताको चेक दिएर मलाई बिदा गरिन।  बल्ल थाहा लाग्यो असल मान्छेहरुले पनि कति सम्म आफ्नो लागि मात्र सोच्न सक्दो रहेछ भनेर। त्यसपछि मेरो मनलाई कति फकाउँदा पनि फेरी बेबिसिटर गर्न मानेन। 


अमेरिकामा हायेर  र फाएरलाई एकदम सजिलोसँग लिन्छ यसमा कुनै दुख मान्न पर्दैन। तर पनि यस्तो देशमा जन्मिएर उच्च शिक्षा हाँसिल गरेर अस्पतालमा  काम गर्ने डाक्टरहरुको छोटो ब्यबहारले मलाई भने केहि सोच्न बाध्य बनायो। मैले कुनै काम खोज्नुको बदला आफुलाई बिश्राम दिएर आनन्द लिए। किताबहरु पढ्ने मौका पाए। स्कुल गए जसले मेरो सोच्ने शक्तिमा धेरै परिबर्तन ल्याएको महसुस गरे। मैले आफूलाई आर्थिक हिसाबमा उभ्याउने थुप्रै तरिकाहरु देखे तर पनि मैले आफ्नो सिमित घेरा भित्र रहेर मौकालाई रोज्नु पर्यो त्यसैले दिदि यातायात सेवा दर्ता गरेर आफ्नै ब्यबसाय संचालन गरे। 


बेबिसिटरको बदला मेरो खुशीले काम गर्न पाउछु अहिले। आफ्नो प्राथमिकता अनुसार चल्नु सक्छु र दिमाग र मनलाई लजिलो राख्न सक्छु। यो कुरा जीवनमा महत्वपूर्ण रहेछ। धेरै पैसामा अरुको लागि सधैँ दगुर्नु भन्दा थोरै पैसामा आफुलाई लचिलो राखेर पैसाले कसरि काम गर्छ भन्ने कला सिक्नु ठुलो कुरा हो जस्तो लाग्छ अहिले मलाई। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com