श्रीमान खोज्न सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म

ताप्लेजुङ, चैत्र १३ ,

एक महिनाको शिशु च्यापेर एक महिला बिहानै ताप्लेजुङ बजारमा कसैको ठेगाना सोध्दै हुनुहुन्थ्यो । नाबालक बच्चा काखि च्यापेर सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म अधिकार खोज्न आएकी दुर्गादेवी मल्ल फोटो देखाउँदै केही सोध्दै हुनुहुन्थ्यो ।

एक हातले शिशु च्यापेर श्रीमानको घर खोज्दै हिँडेकी दुर्गाले धेरैलाई ठेगाना सोध्दा कसैले बताइदिएनन्, जिल्ला प्रहरी कार्यालय गएर सोध्न भने । स्थानीय बासिन्दाकै सल्लाह अनुसार डडेल्धुरा महाकाली गाविस-९ कि दुर्गा प्रहरी कार्यालय ताप्लेजुङ जानुभयो । काखे बालक च्यापेर आएकी दुर्गा कुनै उजुरी दिन होइन श्रीमान खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालय पुग्नुभएको थियो ।
woman
‘एक महिनाकी सुत्केरी भएपनि उहाँलाई भेटिन्छ भन्ने आशाले यो दुरी टाडा लागेन’ दुइ दिनको बस यात्रापछि ताप्लेजुङ पुगेकी दुर्गाले भन्नुभयो । उहाँले खोजेका व्यक्ति थिए ताप्लेजुङ नगरपालिका-५ का विवेक राजभण्डारी । ताप्लेजुङका विवेक र डडेल्धुराकी दुर्गाको भेट मलेसियामा भएको हो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका विवेक र दुर्गाको भेट कामकै शिलशिलामा भएको थियो ।

भेट बाक्लिएपछि उहाँहरुले अव एकअर्कासँगै जिन्दगी बिताउने निधो गर्नुभयो । उहाँहरुबिच शारीरिक सम्बन्ध भएपछि दुर्गा गर्भवती हुनुभयो । गर्भवती भएपछि दुर्गा गएको कार्तिकमा नेपाल आउनुभयो । नेपाल आइसकेपछि पनि दुर्गा र विवेकको फोनमा कुराकानी भइरहन्थ्यो । त्यसको दुई महिनापछि विवेक पनि नेपाल आउनुभयो । तर विदेशमा हुँदा फोन गरिरहने विके नेपाल आएपछि भने सम्पर्कविहीन हुनुभयो । न फोन आयो न भेट्नै जानुभयो । दुर्गाले गएको फागुन ५ गते एक छोरी जन्माउनुभयो ।

‘छोरी जन्मिई तर बाबु नै छैनन् त्यही भएर आफैं खोज्दै हिँड्नुपर्ने भएपछि घरबाट हिँडे’ दुर्गा भन्नुहुन्छ । मलेसियामा दुई वर्ष सम्बन्धमा रहेर विवेककै सन्तान जन्माइसक्दा पनि थाहा नपाएको यथार्थ दुर्गाले ताप्लेजुङ पुगेर थाहा पाउनुभयो । विवेक अविवाहित रहेनछ श्रीमती र छोराछोरी रहेछन् भन्ने कुरा । श्रीमान भेटिएपछि समस्या कम हुन्छ भन्ने सोचेकी दुर्गालाई समस्या बढीरहेको जस्तो लागेको छ । दुर्गाको समस्या सुनेपछि जिल्ला प्रहरी कार्यालयले दुबैबिच मेलमिलाप गर्न सामजिक कानुनी सहायत केन्द्र ताप्लेजुङलाई जिम्मा दियो ।

सहायत कानूनी केन्द्रले उनीहरुबिच छलफल गराई छोरी ६ वर्षकी हुञ्जेलसम्मका लागि भरणपोषण गर्न दुर्गालाई विवेकबाट दुई लाख रुपैयाँ दिलाएर मेलमिलाप गराएको छ । कानूनी सहायता केन्द्रका वकिल राम नेयोहाङले भन्नुभयो, ‘अहिलेलाई मेलमिलाप गराएर पाठाएका छौँ, बाँकी उनीहरुबिच केही छलफल होला ।’स्रोत-उज्यालो;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com