संघर्षशील नारीहरुको आत्मविश्वासलाई सलाम

शिवा स्त्री
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन शुरु भएको १ सय ६ वर्ष वितिसकेको छ । हरेक वर्षको मार्च ८ तारिखका दिन विश्वभर नारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्दा १०६ वर्षअगाडि अमेरिकाको कारखानामा कार्यरत क्लारा जेट्किन नामकी महिलाको नेतृत्वमा भएको आन्दोलनका नामबाट यो दिवस मनाउन शुरु गरिएको मानिन्छ । 

विश्वको सबैभन्दा विकसित र धनी देश अमेरिकी समाजमा पनि नारी र पुरुषबीच भेदभावपूर्ण व्यवहार भएका कारण कारखानामा कार्यरत महिला कामदारलाई संगठित बनाएर क्लाराको नेतृत्वमा आन्दोलन शुरु भएको थियो । समान काम गर्ने नारी र पुरुषबीच समान ज्याला नदिएको, दैनिक १६ घण्टा पुरुष सरह काम गर्नुपर्ने तर समान ज्याला नपाएका कारण यसबाट असन्तुष्ट भएका कपडा मिलका नारी मजदुरहरु ‘समान कामको समान ज्याला, समान रोजगार र अवसर’ को नारा लिएर नारी अधिकारका लागि यही ८ मार्चका दिन सन् १९०८ मा अमेरिकाको न्युयोर्कमा सडकमै उत्रिएर आन्दोलन गरेका थिए । नारी अधिकारका लागि लड्ने विश्वकै पहिलो नारी नेतृ क्लारा जेटकिनको मृत्यु सन् १९३३ मा भयो । उनले त्यस बेलामा उठाएका नारी समानता र स्वतन्त्रताको प्रेरणाले विश्वका सबै अग्रगामी नारीहरु मुक्तिका लागि लडिरहेका छन् । उनले देखाएको बाटोलाई पछ्याइरहेका छन् ।

अहिले त व्यवसायिक क्षेत्रमा होस् वा सामाजिक, धार्मिक राजनीतिक तथा सामान्य कार्यालयदेखि ठूला–ठूला वित्तीय संस्थाहरुको जिम्मेवारी एवम् व्यवस्थापन र सञ्चालकमा होस् नारीलाई नै देख्नु अब कुनै आश्चर्यको विषय रहेन् । हरेक क्षेत्रको सरल कामदेखि जटिल कामसम्म नारीले सहज र सक्षम तरीकाले गरेको पाइन्छ । हिजोआज हरेक काम पूर्ण आत्मविश्वासका साथ अहिकोे व्यस्त दुनियाँमा व्यस्त नारीहरु प्रशस्तै छन् ।
१०६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा नेपाली केही नारी पनि आफ्नो कर्मक्षेत्रमा सफल हुँदै गएको देखिन्छ । ती मध्येकी एक उद्यमी र विभिन्न सामाजिक एवम् धार्मिक क्षेत्रमा सक्रिय संर्घषशील नारी हुनुहुन्छ– गुल्मीमा जन्मेर काठमाडौंलाई कार्यथलो बनाउँदै व्यवसायमा सक्रिय ‘लिला स्त्री’ । सर्वप्रथम त यी साहसिली र हिम्मतिली नारीको आत्मविश्वासलाई सलाम ।

केही समय पहिले आफ्नो व्यवसायका लागि काठमाडौंदेखि बुटवल आएकी लिला स्त्रीलाई एउटा कार्यक्रम भेट्दा उहाँले बोलेका केही शब्द मलाई अझै पनि याद छ । उहाँले– ‘हामीले केही महिनादेखि नाकाबन्दीको मार खेप्दै आएका छौं । आज यसरी भारतले नाकाबन्दी गर्दा धेरै वस्तुको अभाव भएको छ । हामी सधै अरुसँग निर्भर भयौं । पहिलेदेखि नै भन्दै आएको शब्द आत्मनिर्भर बनौं अब त साच्चिकै आत्मनिर्भर हुन जरुरी छ । 

हामी आत्मनिर्भर हुन नसक्दा स्नातक र स्नातकोत्तर डिग्री उत्तीर्ण गरेर पनि आफ्नै भूमिका अर्थहीन भइरहेका छौं । आफ्नै देशमा आफ्नो प्रतिभा र शिक्षाको कदर हुन नसक्दा आफ्नो देश, समाज र परिवारको उन्नति गर्न चाहने शिक्षित युवाहरु विदेशिएका छन् । जबसम्म यी प्रतिभावान सक्षम युवालाई यही देशमै परिचालन नगरेसम्म देश सम्मृद्धितर्फ अघि बढ्दैन ।’ उहाँले यसरी देशको सम्मृद्धि र युवाका बारेमा पूर्ण आत्मविश्वासका साथ भन्दा आनन्द लाग्यो र खुसी पनि लाग्यो । खुसी केवल नारीहरुको आत्मविश्वास देखेर मात्र लागेको होइन । मेरो खुसीको कारण हो– नारीहरुको आर्थिक सम्पन्नता र माथि उठिरहेको उनीहरुको राष्ट्रिय चिन्तन ।

अहिले लीला स्त्री जस्ता थुप्रै नारी छन् । जसले ठूलाठूला व्यवसाय चलाएका छन् । सञ्चारमाध्यम चलाएका छन् । दुई भाइबहिनी मध्येकी एक हुन्– लिला स्त्री । उहाँले व्यवसायी रुपमा पनि नेपाली उत्पादित वस्तुलाई नै विश्व बजारसम्म पु¥याउने लक्ष्य राख्नुभएको छ । उहाँ हाम्रो ग्रुप अफ कम्पनीज्को कार्यकारी सदस्य र सडक बालबालिकालाई मनोसामाजिक वैज्ञानिक परामर्शदाताको रुपमा कार्यरत पनि हनुहुन्छ । त्यस्तै जयसंगत संस्थाको सक्रिय सदस्य, राष्ट्रिय धर्मसभाको आजिवन सदस्य, नेपाल योग तथा प्राकृतिक चिकित्सा पूर्व विद्यार्थी परिषद् वाल्मीकिको कोषाध्यक्ष, नेपाली महिलासभा सेवा समाज सितापाइलाको सचिव हुनुहुन्छ । 

त्यसैगरी उहाँ अन्य सामाजिक क्षेत्रमा पनि आबद्ध रहन सफल हुनुहुन्छ । यो सफलता पाएर कस्तो अनुभूति भइरहेको छ (?) भन्ने प्रश्नमा उल्टै प्रतिप्रश्न गर्नुहुन्छ– ‘सफलता कुन कुरालाई मान्ने ? यसको मापदण्ड र आधार के हो ?’ हुन पनि सफलता नाप्ने टेप अहिलेसम्म बनेको छैन । यद्यपी पछिल्लो समय अझ व्यस्त रहनुभएकी लीला स्त्रीले आफ्नो मोबाइलमा आएको फोन रिसिभ गरेलगत्तै जवाफ दिनुभयो– ‘मेरो जीवन सफलतातर्फ उन्मुख भएको अनुभूति गरिरहेको छु । यो अनुभुति हुनुको पछाडि मेरो लक्ष्य प्राप्ति प्रतिबद्वता, आफूभित्रको गुणको पहिचान, लगनशीलता र आत्मविश्वास आदि थुप्रै कुरा छन् । जसको लक्ष्य तथा दृष्टिकोण पक्का हुन्छ, उनीहरु कहिल्यै सानातिना विषयमा अल्झँदैनन् र पछुताउँदैनन् ।’

पछिल्लो समय धार्मिक र सामाजिकसँगै व्यवसायलाई नै अगाडि बढाउन सक्रिय लीला स्त्रीलाई यति धेरै क्षेत्रमा काम गर्न कसरी भ्याउनुहुन्छ ? भन्ने जिज्ञासा भुईंमा खस्न नपाउँदै भन्नुभयो– ‘समयलाई मैले मिलाउने हो, समयलाई सही तरिकाले बाँडफाँड र सदुपयोग गर्न जान्यो भने जति पनि काम गर्न भ्याइन्छ र सकिन्छ पनि । जानिएन भने एउटा पनि काम गर्न सकिँदैन ।’ किनकी उहाँको परिभाषामा सफलता भन्ने कुरामा मानिसले जीवनको अन्तिम क्षणसम्म थाहा पाउँछ । उहाँलाई जति अघि बढे पनि अझ उचाइ चढ्ने चाहना हुन्छ । आफ्नो कार्यसँग सन्तुष्ट भएर निरन्तर लागिरहनु अनि सहकर्मीहरुको साथ र सहयोग पाउनुलाई उहाँ सफलताको सिढी चढ्ने माध्यमका रुपमा लिनुहुन्छ । आफ्नो सफलतालाई व्याख्या गर्दै लीला स्त्री भन्नुहुन्छ– ‘त्रिशुलीको पानी अञ्जुलीमा पिउँदैमा सधैंका लागि तिर्खा मेटिदैन ।’ उहाँ आफ्नो कामबाट आत्मसन्तुष्टि मिल्नुलाई सफलता नभनेर अझ अघि बढ्ने प्रेरणा र उत्साहका रुपमा लिनुहुन्छ । तसर्थ उहाँ आफ्नो काममा आत्मसन्तुष्ट भएर पनि सफल हुनका लागि अघि बढ्ने दौडानमा रहनुभएको छ र निरन्तर संघर्ष पनि गरिरहनुभएको छ ।

कुनै पनि ठाउँमा काम गर्न केवल शिक्षा मात्र प्रयाप्त हुँदैन । जस्तोसुकै काममा पनि आँट, हिम्मत चाहिन्छ नै । आँट र हिम्मतका लागि दृढ आत्मविश्वास चाहिन्छ नै । यि सबै कुराले नारी सक्षम नभएसम्म त कुनै पनि कामको जिम्मा लिन सक्ने स्थिति हुँदैन । यसकारण के स्पष्ट हुन्छ भने कामकाजी नारीको संख्या बढेको छ । त्यसमा पनि समाजमा सम्मानित अनि राम्रो र धेरै आम्दानी हुने खालका काममा पनि नारीको संख्या दिनप्रतिदिन बढेको पाइन्छ । त्यसैले त आज हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । नियमित घरायसी कामदेखि राज्य सञ्चालनका काममा पनि महिलाको सहभागिता बढेको देखिन्छ ।

घर र कार्यालयको भार बोकेर भए पनि काम गरेर आत्मनिर्भर हुने नारीको इच्छा र साहसकै नतिजा हो– नारीहरुको सुधारोन्मुख आर्थिक स्थिति । आर्थिक पक्ष बलियो भएपछि समाजले नारीलाई हेर्ने दृष्टिकोण पनि विस्तारै परिवर्तन आइरहेको महसुस गर्न सकिन्छ । सक्षम र सहज तरीकाले काम गरेको देखेर होला धेरै ठाउँमा नारीकै माग हुने गर्दछ । र समाजले नारीप्रति गर्ने व्यवहारमा विस्तारै परिवर्तन आएका थु्रपै उदाहरण पनि छन् ।

पुरुषकै तुलनामा काम गर्ने नारीको शक्तिले उनीहरु समाजमा पनि क्रमशः आलोचित हुन छाडेका छन् । केही वर्षअघिसम्म नारीलाई ठूलठूला कम्पनीको व्यवस्थापनको काम सुम्पिन डराउने अवस्था थियो । नारीले व्यवसाय पनि गर्न सक्दैनन् भन्ने मान्यता समाजमा व्याप्त थियो । तर अहिलेको परिस्थिति फेरिएको छ । नारीहरु हरेक क्षेत्रमा सक्रिय छन् । अझ पुरुषको तुलनामा महिलाले गरेका काम उत्कृष्ट ठहरिइरहेका छन् । यसले उनीहरुको आत्मविश्वासमासमेत वृद्धि भइरहेको छ । यद्यपी सबै क्षेत्रमा भेदभाव अझै हटेको छैन । समाजमा सुधार आइरहेको सुन्दा नारीहरु पनि खुसी हुने अवस्था भने पक्कै आएको छ ।

महिलाहरुको परिवर्तन शहरमा जुन किसिमबाट भइरहेको छ । त्यो अनुसारको ग्रामीण क्षेत्रमा भने हुन सकेको छैन । परिवर्तन भनेको फूलको सुगन्ध जस्तै हो । शहरबाट शुरु भएको परिवर्तन गाउँमा पुग्न धेरै समय त नलाग्दा तर त्यसका लागि महिलाहरु अझै सचेत र जागरुक भएर अगाडि बढ्नुपर्ने हुन्छ । शहर केन्द्रित नारीले आफ्नो सामाजिक तथा आर्थिक स्तरमा ल्याएको परिवर्तनले गाउँका नारीलाई पनि भेट्न धेरै समय लाग्ने छैन भन्ने विश्वास गर्न सकिन्छ ।

त्यसैले त भन्नै पर्छ लिला स्त्री जस्ता संघर्षशील साहसी आम नारीलाई अझै आत्मविश्वास र हिम्मतका साथ अगाडि बढ्दै जाऊ । यही छ नारी दिवसको शुभकामना ।।स्रोत-दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com