महिला दिवसको शुभकामना दिँदै महिला अधिकार कार्यान्वयनमा लाग्न आग्रह - राष्ट्रपति

काठमाडौं फागुन २५,

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए महिला दिवसको शुभकामना 

१०६ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै नयाँ संविधानले प्रत्याभूत गरेको महिला अधिकार कार्यान्वयनमा लाग्न आग्रह गरेकी छन् ।

महिला दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नेपाली तथा संसारभरका दिदीबहिनीमा लैङ्गिक समानता, महिला सशक्तिकरण र महिला मानवअधिकारको सुनिश्चितताको कामना गर्दै सुख शान्ति र समृद्धि, सुस्वास्थ्य र उत्तरोतर प्रगतिको कामना गरेकी छन् । महिला अधिकारबारे नयाँ संविधानले धेरै अघिकार प्रदान गरेकाले संविधानको कार्यन्वयनतर्फ अघि बढ्न आग्रह गरेकी छन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जनसङख्याको आधा भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह अवसर पाउनुपर्ने बताएका छन् । पुनले संविधानसभाबाट जारी भएको संविधानले महिलाहरुलाई हदैसम्मको अधिकारसम्पन्न बनाएको बिज्ञप्तिमार्फत बताएका छन् ।

जारी बिज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएर कार्यन्वयनको प्रक्रियामा रहेको नयाँ संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका हकको ग्यारेन्टि गरेको छ ।’

महिला दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको बिज्ञप्तिमा मुलुकमा आधाभन्दा बढी जनसख्या भएको महिला दिदीबहिनीहरु देश विकासका मेरुदण्ड भएको उल्लेख गरेका छन् । संविधानसभाबाट जारी संविधानले महिलाको प्रजनन स्वास्थ्य तथा हिंसा एवम् विभेद विरुद्धको एकताको मौलिकहकको रुपमा प्रत्याभूत गरेकाले संविधानतः महिला अधिकार सुरक्षित रहेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारले पाँच वर्षे लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्र मार्फत आवश्यक सेवा प्रवाह भइरहेको छ ।’

तथापि, सरकारका विभिन्न प्रयासहरु हुँदाहुँदै पनि पुरुषको तुलनामा गुणस्तरीय शिक्षा र आधारभुत स्वास्थ्य, रोजगारी तथा राजनीतिमा पनि महिलाको पहुँच र सहभागिता पुरुषको दाँजोमा न्यून रहेकाले महिला सशक्तिकरणको लागि नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजीक्षेत्र तथा नागरिक समाजलाई आ-आफ्नो स्थानबाट योगदान पुर्याउन प्रधानमन्त्रीले आहृवान गरेका छन् ।

त्यस्तै सभामुख ओनसरी घर्तीमगरले पनि महिला दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नयाँ संविधानमा उल्लेख भएको महिला अधिकारसँग सम्बन्धित व्यवस्थालाई कार्यन्वयन गर्ने प्रतिबद्धताका रुपमा यो बर्ष महिला दिवस मनाउन सबैमा आग्रह गरेकी छन् ।

पितृ सतात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै समानतामुलक समाजको स्थापना गर्नका लागि नयाँ संविधान कोशेढुंगाको बन्ने सभामुख घर्तीको बिश्वास छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com