को हुन् यी आफ्नै बुतामा नेता बन्न खोज्ने महिला ?

काठमाण्डौ फागुन २२,

  पाखुरामा बीपीको ट्याटु खोप्ने युवती

केही समय अघि मार्टिन चौतारीमा आयोजित ‘कांग्रेसमा महिला’ सम्बन्धी कार्यक्रमबाट निस्केपछि एकजना साथीले मनजिकै आएर भनिन्, ‘कांग्रेसमा पनि यस्ता महिला नेता होलान् भनेर कल्पनै गरेको थिइन।’
उनको इसारा लक्ष्मी खतिवडातिर थियो।

लुज प्यान्ट, सर्ट र सफारी लगाएकी लक्ष्मीको अनुहारमा कुनै शृंगार थिएन। अग्लो र खाइलाग्दो ज्यान, हकी आवाज र खुलेर हाँस्ने उनको स्वभाव देखेर मात्र ती साथीले त्यसो भनेकी थिइनन्। लक्ष्मीको विचार र व्यवहारले पनि उनलाई यी  अरूभन्दा पृथक छिन झैँ लागेको थियो।

मार्टिन चौतारीको कार्यक्रमकै क्रममा उनले कांग्रेसमा कस्ता महिला छन् र उनीहरू कसरी चुनिन्छन् भन्नेबारे प्रस्ट विचार राखेकी थिइन्। पार्टी र पार्टीका कुनै पनि नेताले महिलाका मुद्दालाई ध्यान नदिएको उनको गुनासो थियो। महिला सवालमा मात्र होइन, अन्य राजनीतिक तथा सामाजिक क्षेत्रमा कांग्रेसको भावी कार्यदिशाबारे पनि अरू नेताभन्दा प्रस्ट थिइन् लक्ष्मी।

उनी कांग्रेसको केन्द्रीय सदस्यमा महिला तर्फबाट लड्दै छिन्।अहिले आरक्षणका ६ सिटमा लडेपनि उनले अर्को पटक खुलामा प्रतिस्पर्धा गर्ने भनिसकेकी छन्। आफ्नै बुतामा नेता बन्नुपर्छ भन्ने उनको मान्यता छ।
'मेरो उम्मेदवारी पार्टीभित्र कुनै नेताको ढोके, बैठके, चम्चे नभई पनि नेता बन्न सकिन्छ भन्ने सन्देश दिन पनि हो। मेरा लागि पद अवसर मात्र होइन जिम्मेवारी पनि हो जसलाई निर्वाह गर्न कुनै पनि हालतमा चुक्ने छैन भन्ने प्रतिबद्धता ब्यक्त गर्दछु,' उनले आफ्नो घोषणा पत्रमा लेखेकी छन्।

महाधिवेशन हुनु एक साताअघि मात्रै उनी आफैं मोटरसाइकल हाँकेर पूर्व मेचीदेखि पश्चिमसम्म भोट माग्न गएकी थिइन्।

‘मैले मोटरसाइकल हाँकेर देशभरि भोट माग्दै हिँडेको देख्दा धेरै जना चकित परे,’ उनले भनिन्, ‘धेरै साथी खुसी पनि भए।’

महिला नेतामध्ये सुजाता कोइरालाबाहेक अरू सायदै यसरी ठाउँठाउँ पार्टीका मानिस भेट्न र भोट माग्न जान्छन्। त्यो पनि कसैको भर नपरी एक्लै।

पूर्व–पश्चिम यात्राले महिलाले पनि मैदानमा ओर्लिनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ छ।
पार्टीले महिलाका मुद्दामा गम्भीर छलफल त परै जाओस् आफ्ना कुरासम्म नराखेको गुनासो गर्ने उनी आफ्नो उम्मेदवारी पनि यसैका लागि भएको बताउँछिन्।

लक्ष्मीलाई राजनीतिको नसाले छोएको स्कुल पढ्दादेखि नै हो। त्यतिबेलै उनी मज्जाले भाषण गर्थिन्। सानी फुच्चीको भाषण सुनेर सबै जना मुसुमुसु हाँस्थे। आफूले खुब राम्रो भाषण गरेँ भन्ने आत्मसन्तुष्टिले मन भरिन्थ्यो। उनका आमा, बा, दाजु सबै कांग्रेस थिए। सुरुमा उनी अखिलको संगठनमा हिँड्थिन्। २०४६ सालको आन्दोलन बेला जताततै संयुक्त आमसभा हुने भएकाले कुन कसको संगठन भनेर छुट्याइरहँदैनथे उनी।
आन्दोलन सकिएपछि भने उनको परिवारले उनलाई नेविसंघमा काम गर्न भन्यो। २०४७ वैशाखमा उनी सुनसरी, पाँचकन्या गाउँको इकाई सदस्य बनिन्। नेविसंघबाट थालेको राजनीतिक यात्रा २० वर्ष कटिसकेको छ। अहिले उनी कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा छिन्।

उनको पाखुरामा बिपी ट्याटु छ। अनि  उनी शैलजा आचार्यकी पनि फ्यान हुन्। ‘महिला भएकैले अलि बढी सुविधा नखोज्ने शैलजा दिदीजस्ता नेताको पार्टी हो कांग्रेस, नेता भएर उहाँजस्तै हुनुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्।
संगठन विस्तार र मजबुत बनाउन पार्टीले ध्यान दिएन, युवा नेताहरूलाई प्रमोसन गरेन, महिलाका मुद्दामा बोलेन, भ्रातृसंगठनहरूको अधिवेशन गरेन– यस्ता यावत गुनासा छन् उनका पार्टीसँग।
‘हामीजस्ता मानिस ले बनाउने हो अब कांग्रेसलाई,’ उनले भनिन्।

त्यही भएर उनले घोषणापत्रमा लेखेकी छन्– कांग्रेससँग आन्दोलन हाँकेका महिला नेतृत्वको इतिहास छ तर इतिहास केवल सम्झेर गौरवान्वित हुनका लागि मात्र होइन, यस्ता इतिहास त दोहोर्याउनका लागि हुन्छन् । म आफूलाई यतिखेर त्यही इतिहास दोहोर्याउने जिम्मेवार कांग्रेसी कार्यकर्ताको रुपमा महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी दिएकी छु।'सेतो-पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com