कैलालीको ३ युवति बिदेशमा बेपत्ता, उद्धार गरिदिन परिवारको आग्रह

धनगढी फागुन २० ,

फूलवारी कैलालीकी सावित्री सुनार लेवनानमा अलपत्र परेकी छिन् । सावित्रीलाई एक वर्षअघि इश्वर लामाले लेवनानको बेरुतमा रहेको नमस्ते स्माइल कम्पनीमा केयरगिभरको रुपमा पठाइ दिएका थिए । रोजगारदाताले दुई सय ५० अमेरिकी डलर मासिक तलव दिने भनेकोमा सुरुका पाँच महिना एक सय ७५ मात्र दिएको सावित्रीकी आमा मायादेवी सुनारले बताउनुभयो । 

‘एक त तलवै कम त्यसैमा खाना पनि नदिएर मार्न लागे भनेर छोरी भागी’, मायादेवीले भनिन्, ‘अहिले बेरुत नजिकैको मुसाहमदमा फिलिपिन्सकी महिलाको शरणमा बसेर कहिलेकाँही काम गरेर खाना खर्च निकाली रहेकी छ ।’  ११ वर्षको छोरा माइतमा छाडेर गएकी सावित्रीको १२ मार्च २०१६ मा एकवर्षे भिसाको म्याद पनि सकिन लागेको छ । 

‘लामालाई फोन गर्‍यो भने उठाउँदैन उठाइ हालेपनि मैले घर हेरेर पठाएको होइन, म के तिम्रो छोरीका लागि लेवनान जाउँ ? भनेर उल्टै थर्काउँछ’ सुनारले भनिन् ‘छोरी मलाई बचाउनुस भन्छे तर मैले कसैलाई चिनेको छैन के गरुँ ?’  

मीनालाई खोजीदिने कोही छैन  
कैलालीको पथरैया गाविसको कटासेकी मीना राजी पनि मलेसियामा सम्पर्कविहिन हुनुहुन्छ । पाँच वर्षअघि धनगढीकी सन्तु पौडेलले भारतको बाटो मलेसिया पठाएकी मीना छ महिनादेखि सम्पर्कविहीन भएको उहाँकी मावल हजुरआमा साउनी राजीले बताउनुभयो । 

‘छोरी मरी, ज्वाईं (मीनाका बुबा मोति) को घर नभएकाले डुलुवा बनेका छन्’, मीनाका बाजे पाख्रे राजीले भने, ‘मीनाको खोजीनीति गर्ने कोही छैन ।’ मीनाको सानो भाइ सुरेश मावलमै बसेका बसेका छन् भने जेठो सुरेश एक महिनाका लागि माछा मार्न हिडेको उहाँले बताउनुभयो । अधिकांश राजी समुदाय नदी किनारमा बस्ने, नदीमा माछा मार्ने, मह काड्ने पेशाबाट जिविका चलाउँदै आएको छ ।  

 छोरी फर्किने आश नै मरिसक्यो 
एकवर्ष अघि बाँकेका मोहनलाल विकले भारतको बाटो हुँदै कुवेत पुर्‍याएर बन्धक बनाइएकी प्रतापपुर गाविस खरौलाकी दुर्गा कुमारी खनालको पनि उद्धार हुन सकेको छैन । 

‘अब त छोरी फर्किएला भन्ने आश लाग्न छाड्यो, आक्कल झुक्कल आउने फोनमा रुवाबासी मात्र हुन्छ’ दुर्गाका बुबा छविलाल खनाल भन्छन्, ‘जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७१ जेठ १५ गते उजुरी गरें, इलाका प्रहरी कार्यालय लम्की कैलाली र इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी गरें तर केही भएन ।’ प्रहरीले यस विषयमा चासो दिएको छैन । 

विकले खनाललाई छोरी फर्काउने भए पैसा पठाउ भनेपछि विकको बैंक खातामा ३५ हजार रुपैयाँ पनि पठाएको बताउछन् । दुर्गाकुमारी कुवतेमा बन्धन भएको खवर गएको असार ५ गते उज्यालो अनलाइनमा प्रकाशित भएपनि अहिलेसम्म उद्धारका लागि कसैले पनि सहयोग नगरेको परिवारले गुनासो गरेका छन् । उज्यालो;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com