आज महाशिवरात्री, बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं फागुन २४,

महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २: ४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए ।


पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । भक्तजन जुन ढोकाबाट प्रवेश गर्ंयो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।

यस वर्षको शिवरात्रीमा ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको टन्डनले बताए । अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् ।

यस वर्ष भारतीय भक्तजनको सङ्ख्या बढी देखिएको नेपाल–भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रीमा भारतलगायतका देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उनले उल्लेख गरे ।

आज बिहानैदेखि चाबहिल चोक, रातोपुल, पुरानोबानेश्वर चोक र सिनामङ्गलबाट गौशाला आउने सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ ।

पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् ।

पशुपतिभित्र दर्शन गर्ने व्यवस्था व्यवस्थित भए पनि बाहिर भने अव्यवस्थित रहेको बानेश्वरबाट दर्शनका लागि आउनुभएका रामप्रसाद भण्डारीले जानकारी दिए । -आनापूर्ण;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com