७५ प्रतिशत विवाहित महिला पतिबाटै बलात्कार

नयाँ दिल्ली, चैत १८,

संयुक्त राष्ट्रसंघको एक तथ्यांक अनुसार भारतमा ७५ प्रतिशत विवाहित महिला पतिबाटै बलात्कार हुने गरेका छन् ।

भारतमा बलात्कार मुद्दाको दायराबारे विवाद देखिदैं आएको छ । सन् २०१३ मा न्यायाधीश जे एस बर्मा नेतृत्वको एक समितिले आपराधिक कानुन संशोधनमाथि आफ्नो प्रतिवेदन पेश गर्दै भारतमा पत्नी बलात्कारको मुद्दालाई पनि कानुनी दायरामा ल्याउन सुझाव दिएका थिए ।
Capture
तर संसदीय समितिले पत्नी बलात्कारको मुद्दा कानुनको दायरामा ल्याउने हो भने पारिवारिक व्यवस्था नै दबाबमा आउने जिकिर गरेको थियो ।

महिला एवं बाल विकास मन्त्री मेनका गान्धीका अनुसार पतिबाट पत्नी बलात्कार हुनु भारतमा अपराध श्रेणीमा आउन सक्दैन किनकी शिक्षा र अशिक्षाको स्तर, गरिबी, सामाजिक रिति रिवाज र धार्मिक विश्वास यसका लागि जिम्मेवार छ ।

पत्नीको उमेर १५ वर्षभन्दा माथि भएको अवस्थामा कुनै पनि पुरुषले आफ्नी पत्नीसँग यौन सम्बन्ध कायम राख्नु वा यौन कृत्य गर्नु बलात्कार हुन नसक्ने भारतको वर्तमान कानुनमा उल्लेख छ ।

उल्लेखनीय छ, १२५ मुलुकमा यौन उत्पीडन, ११९ देशमा घरेलु हिंसा र केवल ५२ देशमा पतिद्वारा बलात्कार गरिएको विरुद्ध कानुनी व्यवस्था छ । केही मुलुकमा पत्नीसँग जबर्जस्ती यौन सम्बन्ध राख्नुलाई पनि अपराधको श्रेणी मानिन्छ ।

मलेसियाले सन् २००७, टर्कीले सन् २००५, बोलिभियाले २०१३ मा यो कानुन अपनाएका थिए । अमेरिकामा १९७० कै दशकमा यो कानुन लागू भएको थियो । युरोपेली मुलुकमा ९० को दशकमा यो कानुन लागू भएको हो भने बेलायतले १९९१ मा पतिबाटै बलात्कार हुनुलाई कानुनी रुपमा अपराध घोषणा गरेको थियो ।

भारत, चीन, अफगानिस्तान, साउदी अरब, पाकिस्तान लगायतका मुलुकमा अझै पनि पतिबाट बलात्कार हुनुलाई अपराध मानिदैंन । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com