सबैकी आमा ‘ पुस्पा बस्नेत

११ वर्षअघि एकदिन,
puspa basnet
साथीसँग सुन्धारास्थित कारागारको महिला सेल पुग्दा पुष्पा (बस्नेत) झस्किइन् ।
झस्किइनन् मात्रै, आँखा रसाए, मनमा काँडैकाँडाको तारले बिझायो । भर्खरकी ९ महिने सानुकान्छी तामाङलाई देखेर मन मैनझैं पग्लिएर आँखाबाट झर्यो ।
जेल परेका आमाको दुर्दशाभन्दा स–साना केटाकेटीको अवस्था दर्दनाक देखिन् । र, अठोट लिइन्, जसरी भए पनि म यी लालाबालालाई आमा बनेर पाल्छु, आमा–बुवाको सजाय यी निर्दोषले पाउनु हुँदैन ।

र, सुरु भयो उनको जीवनको नयाँ अध्याय । अविवाहित भएर उनी असाधारण आमा बनिन् ।
सुरुवात भाटभटेनीनजिकै ‘शिशु स्याहार केन्द्र’ खोलेर भयो– २००५ मा । सुरु–सुरुमा कारागारबाट बच्चा ल्याउने र छाड्ने काम गरिन् । उनीहरुलाई खेलाउने र कहिलेकाहीँ घुमाउन लैजाने गरिन् । एक जना सहयोगी पनि राखिन्, जसले बच्चालाई कारागरबाट ल्याउने र छाड्ने गर्थे । त्यतिबेला जेलर ऋषिकेश ढुंगेलले पनि उनलाई सहयोग गरे । त्यसपछि २००७ मा बाल गृह खोलिन् । त्यहाँ दुईजना बच्चा थिए । त्यसलाई बिस्तारै प्रारम्भिक विकास केन्द्रको रूप दिइन् ।

सुखसलयमै बाल्यकाल बिताएकी पुष्पाको जन्म २०४० मा मैतीदेवीमा भएको हो । उनी माहिली छोरी हुन् । बुबा र दाइसँग मिलेर पुख्र्यौली व्यपार सम्हाल्ने सपना थियो पहिले । सानैदेखि बोर्डिङ स्कुलमा पढे पनि उनी पढाइमा कमजोरै थिइन् । पटक–पटक स्कुल फेर्दै पुष्पाले जेभियर एकेडेमीमा कर्मस पढिन् । माइतीघरको सेन्ट जेभियर्स कलेजमा सोसल वर्क विषय लिएर स्नातक र काठमाडौं युनिभर्सिटीमा ‘अर्ली चाइल्ड डेभलप्मेन्ट एजुकेसन’मा पोस्ट ग्य्राजुयट गरिन् ।
पढ्ने, जागिर खानेभन्दा सिलाइबुनाइ र नाच्ने रहर बढी थियो उनमा । तर, यी रहर रहरमै खुम्चिए । कारण– उनका बुवालाई छोरी नाचेको मन पर्दैनथ्यो । त्यसैले उनी नाच्नै छाडिन् । बुवा भन्थे– घरकी छोरी नाच्नु हुँदैन, अलच्छिन लाग्छ ।

उमेरले भर्खर यौवन छुँदै थियो– उनी बच्चाबच्ची स्यहार्न जुटिहालिन् । जेल परेका अभिभावकका छोराछोरीलाई नयाँ जीवन दिन उनले खोज–अनुसन्धान गरिन् । यसकै लागि संस्था खोल्ने योजना सुनाउँदा बुवाले पत्याएनन् । केटाकेटीका लागि घर बनाउँछु भन्दा पनि बुवाले विश्वास गरेनन् ।

“अरुका छोराछोरी स्याहारेर दुःखबाहेक केही पाउँदिनौ भन्नुहुन्थ्यो, तर आमाले थोरै भए पनि विश्वास गर्नुभयो,” पुष्पा सम्झिन्छिन्, “छोरीले केही गर्न चाहेको भए गर्न दिऊँ, थाकेपछि चेत खुल्छ भन्नुभयो, त्यसले मलाई हौसला दियो ।”

१० वर्षअघि गैरसरकारी संस्था खोलेर काम गर्नु सजिलो थिएन । पुष्पाले धेरै संघर्ष गरिन् । केही काम नभएर संस्था खोलेको भन्दै कटाक्ष गर्नेहरु कम थिएनन् । त्यसमाथि कारागारमा रहेका बच्चाको स्याहारसुसार गर्नुपर्ने ! तर, पुष्पाको अठोट र अगाडि बढिसकेका पाइला डगमगाएनन् ।

सुरुमा संस्था दर्ता गर्दा १५ सय रुपैयाँ लाग्यो । जसोतसो पैसा जुटाएर दर्ता गरिन् र केटाकेटी ल्याएर राख्न थालिन् । त्यसपछि बल्ल उनले आमा हुनुको दुःख, सुख, पीडा सबै भोगिन् । भन्छिन्, “आमा हुनु त सृस्टिकै गाह्रो काम रहेछ !”
लागेको थियो । आमालाई धेरै सताउने गर्थिन् । आफु आमा हुदा बल्ल बुझेकिछिन् आमा हुनुको अपठेरो सजिलो । उनि भन्छिन् “आमा हुनु त धेरै गाह्रो कुरा रहेछ” ।

चकलेट र टिभी भएपछि केटाकेटी भुल्छन् । पुष्पाले पनि सुरुमा यही उपाय लगाइन् । त्यससँगै बेलाबेला बाहिर घुमाउन लगेपछि अरु के चाहिनू ! केटाकेटीले उनलाई आफ्नै आमाभन्दा बढी नजिक ठाने । पुष्पा ढिलो पुग्दा कतिपटक उनीहरु ढोकामै कुरेर बस्थे । घर पुग्नेबित्तिकै अँगालो मार्थे । यसले पुष्पामा बलियो आत्मविश्वास जगाउँथ्यो ।

कतिपटक हुलै लिएर बाहिर घुमाउन लैजाँदा मान्छेहरु सोध्थे, “यी केटाकेटी को हुन् ?”
पुष्पा भन्थिन्, “सबै मेरा सन्तान हुन् ।”
त्यसपछि प्रश्न सोध्नेहरु केही नबोली बाटो लाग्थे । कतिले त अनुहारै मिल्दैन पनि भन्थे । पुष्पा मुसुक्क हाँसेर टारिदिन्थिन् ।

करिब एक दशकसम्मै भाडामा बसेर २ महिनाअघि मात्रै पुष्पा केटाकेटीसहित बूढानीलकण्ठस्थित आफ्नै घरमा सरेकी छन् । साना–साना नानी बस्ने घर भएकाले घरको नाम नै ‘बटरफ्लाई होम’ राखेकी छन् । यो घर बनाउने पैसा उनले ‘सीएनएन अवार्ड २०१२’बाट जुटाइन् । ‘सीएनएन हिरो’ भएबापत उनले साढे ३ करोड रुपैयाँ पुरस्कार पाएकी थिइन् । आर्थिक रूपमा सधैं धरमरधरमर उनको अभियानलाई यो पुरस्कारले ठूलो टेवा दियो ।

‘बटरफ्लाई होम’मा बस्ने स–साना केटाकेटीलाई उनका आमा–बाबुबारे पुष्पाले कहिल्यै एक शब्द केही भन्दिनन् । केटाकेटीहरु पनि सोधखोज गर्दैनन् । आफ्ना बाबुआमा जेलमा छन् भन्ने सुन्दा बाल मनोविज्ञानमा नराम्रो असर पर्छ भन्ने लागेरै पुष्पाले उनीहरुबाट यो सत्य लुकाउँछिन् ।

“तर, कहिलेकाहीँ बाहिर जाँदा कसैले प्याच्च भनिदिन्छ,” पुष्पा भन्छिन्, “त्यतिबेला साह्रै चित्त दुख्छ । अलि बुझ्ने भएका केटाकेटीले सोध्छन् पनि, के उत्तर दिनू ? उमेर बढ्दै गएपछि म आफैं भनिहाल्छु, मान्छेहरु अति जान्ने भएर
स–साना केटाकेटीको भावनासँग खेलिदिन्छन् ।”
आमा–बाबुको सत्यता जानकारी गराउँदा पुष्पा हरेकलाई भन्ने गर्छिन्, “तिमीहरुले बुवा–आमाजस्तो गल्ती कहल्यिै नगर्नू । उहाँहरुले पढ्न पाउनु भएन, तिमीहरु शिक्षा लिएर इज्जतको जिन्दगी बाँच्नुपर्छ । अपराधकर्ममा लागेर कमसेकम मेरो आँखामा आँसु नल्याइदिनू ।”

बाबुआमा जेलबाट रिहा भएपछि उनीहरु सँगै जान्छन् । पारिवारिक अवस्था हेरेर उनीहरुलाई प्रारम्भिक बाल विकास केन्द्रले पढाइ खर्च पनि दिने गरेको छ ।

सीएनएन हिरो
पुष्पालाई संसारभर चिनाएको ‘सीएनएन हिरो’ले हो । विश्व त टाढैको कुरा– नेपालमै पनि उनलाई चिन्ने नगन्य थिए ।
सन् २०१२ मा अमेरिकी समाचार संस्था सीएनएनले विश्वभर गरेको इन्टरनेट भोटिङमा सर्वाधिक मत ल्याएपछि पुष्पाले यो अवार्ड पाएकी हुन् । उनले विश्वका अरु ९ प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । आफूले गरेको सत्कर्मकै फल ठानेर उनले यसलाई स्वीकारिन् । खुसीका आँसु पनि झर्दा रहेछन् भनेर उनले त्यतिबेला पहिलो पटक भोगिन् ।
त्यसपछि ३ लाख रुपैयाँ पुरस्कार राशिको कोरियन पुरस्कार पनि पाइन् ।

अबको जीवन
आफ्नो पूरै जीवननै यस्तै बालबालिकाको सेवामा समर्पित गर्ने पुष्पाको सपना छ । यही सपनाका लागि उनले बिहेसमेत गरेकी छैनन् । भन्छिन्, “बिहे गर्नैपर्छ, जीवनसाथी नै चाहिन्छ भन्ने छैन । घरबाट पनि प्रेसर छैन ।”

अहिलेसम्म आफूलाई बुझ्ने केटा नपाएको पनि उनले सुनाइन् । “बुबाले सधैं विवाह गर्नुपर्दैन, आफ्नो भविष्य बनाउनुपर्छ, केही राम्रो काम गर्नुपर्छ भन्नुहुन्थ्यो, म जानीनजानी त्यस्तै भएँ,” पुष्पा भन्छिन्, “बुवाको त्यही वाणीले मलाई अविवाहित आमा बनाइदियो । मैले विवाह गरेको भए आफ्नै छोराछोरीको मात्रै कथा लेख्थें होला तर अहिले धेरै छोराछोरीको कथा लेख्न सक्छु ।”

बाबुले आमाको हत्या गरेपछि जन्मको ४५ दिनदेखि पुष्पासँग बस्दै आएकी पुष्पाञ्जली अहिले २ वर्षकी भइन् । पुष्पालाई सबैभन्दा प्यारी यिनै लाग्छिन् । “अनुहारसमेत मसँग मिल्छ, अहिले किन्डरगार्टेनमा पढ्छिन्,” पुष्पाञ्जलीलाई काखमा राख्दै पुष्पा मुसुक्क हाँसिन् ।

यी केटाकेटी अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेको पुष्पाले सुनाइन् । पढाइसँगै खेल, नाचगान सबैमा कोही न कोही प्रतिभाशाली छन् । उनीहरुलाई अप्ठ्यारो पर्ने हुँदा पुष्पा स्कुलका कार्यक्रममा समेत जाँदिनन् । “बच्चालाई प्राइभेसी चाहिन्छ भनेर म स्कुल जान्नँ,” भन्छिन्, “स्कुलका टिचरहरुसमेत सहयोग हुनुहुन्छ, त्यसैले पढाउन एकदमै सहज भएको छ ।”

‘बटरफ्लाई होम’
‘बटरफ्लाई होम’मा अढाई वर्षे नानीदेखि २० वर्षका किशोरकिशोरीसम्मले स्नेह, सुरक्षा र शिक्षा पाइरहेका छन् । उनीहरु सबै बिहान ५ बजे उठिसक्छन् । नित्यकर्मपछि ६ देखि ७ बजेसम्म योग कक्षा हुन्छ । त्यसपछि खाजा खाएर सबैले आफ्ना भाँडा आफैं माझ्छन् । त्यसपछि ९ बजेसम्म पढछन् । साँझ पनि त्यहीअनुसारको रुटिन छ । स्कुलबाट आउनेबितिकै खाजा खाएर होमवर्क गर्न थालिहाल्छन् । तेक्वान्दो, नृत्य, चित्रकला– जसलाई जेमा रुचि, उसले त्यहीमा अभ्यास गर्छ । त्यसपछि साँझको खाना खान्छन् । साना केटाकेटी सुत्छन्, ठूला पढ्छन् ।

साढे १० बजेसम्म पढ्न उनीहरुलाई अनिवार्य गरिएको छ ।
अरुभन्दा ‘बटरफ्लाई होम’का केटाकेटीले जीवन बुझेको पुष्पा दाबी गर्छिन् । भन्छिन्, “जिन्दगी चिनेका छन् । जस्तोसुकै समस्यासँग पनि जुझ्न सक्छन् । कोसँग कसरी बोल्ने, काँटा चम्चा र चपस्टिकले कसरी खाने सबै जान्दछन् । पछि जहाँ गए पनि दुःख पाउँदैनन् ।”साभार-बाह्रखरी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com