' सन्दर्भ फागुपूर्णिमा '

आज होली वा फागुपूर्णिमा हो । त्यसैले होलीका केही कुरा गर्नु मुनासिप होला । कोही होली भन्छौँ र कोही फागु पूर्णिमा भन्दछौँ । दिन एउटै हो र पर्व एउटै हो । परापूर्व कालमा हिरण्यकशिपु नाम भएका दैत्यका राजा थिए । उनी विष्णु भगवानका विरोधी थिए । उनका पुत्रको नाम प्रह्लाद थियो । उनले विष्णुको भक्ति गरेको आरोपमा आफ्ना बालक छोरा प्रह्लादलाई मार्ने अनेकौँ प्रयास गरे ।

विष खुवाएर भिरबाट खसालेर सर्पलाई टोकाएर हात्तीलाई कुल्चाएर नानाभाँती गर्दा पनि मार्न सकेनन् । हिरण्यकशिपुकी एउटी बहिनी थिइन् । उनको नाम होलिका थियो । उनले आगोबाट नडढ्ने वरदान पाएकी थिइन् । आखिरमा हिरण्यकशिपुले आफ्नो विरोध गर्ने र विष्णुको भक्ति गर्ने छोरालाई मार्न उनै बहिनी होलिकासँग सहायता मागे । उनीहरुको सल्लाह अनुसार होलिकाले प्रह्लादलाई बोकेर बलिरहेको अग्निमा प्रवेश गर्ने । त्यसो गर्दा प्रह्लादलाई डढाएर मार्न सकिन्छ भन्ने लागेको थियो । तर भगवानको भक्त भएका कारण अग्निले प्रह्लादलाई नडढाएर असत्यको पक्षमा रहेकी हुनाले होलिका नै डढेर भस्म भइन् भन्ने कथा भागवत महापुराणमा आउँछ । असत्यको पक्षमा रहेकी होलिका डढेको र सत्यको पक्षमा रहेका प्रह्लाद सकुशल रहेको खुसीमा अबिर जात्रा गरी पर्वउत्सव मनाइयो । त्यसै बेलादेखि होली पर्व सुरु भएको भन्ने मानिन्छ । कतैकतै पहिले होलिकालाई पहिले जलाएर पछि होली पर्व मनाउने चलन यसै भएर चलेको हो । सायद तराईमा भोलिपल्ट होली मनाएको यही कारणले होला ।

होलीको यो प्रसङ्ग सत्ययुगको भयो । त्यस्तै द्वापर युगको अर्को प्रसङ्ग छ । श्रीकृष्णको जन्म झ्यालखानमा रहेका देवकी र वसुदेवबाट भयो । कंसले मार्छ कि भन्ने त्रासले मथुरामा लगेर नन्दका घरमा सुरक्षित राखियो । कंसले त्यो कुरा पत्ता लगाएर कृष्णलाई मार्नका लागि अनेकौँ प्रकारका प्रयत्न गर्यो । कुनै तरिकाले कृष्णलाई मार्न नसकेपछि पूतना नामकी विषालु दुध भएकी राक्षसीलाई दुध खुवाएर मार्न भनी पठायो । अनेकौँ प्रकारका आक्रमण र त्रास भइरहेकै थियो । आपद् पार्ने नियतले आउनेलाई कृष्णले मारिदिन्थे र व्रजवासीहरुलाई सन्तोष हुन्थ्यो । उनीहरु त्यसरी आपद् टरेको अवसरमा उत्सव मनाउँथे । त्यही बेलामा दुध खुवाउन आएकी राक्षसीले कृष्णलाई मार्न खोजे पनि कृष्णले दुध चुस्ता चुस्तै उसको प्राण नै चुसेर समाप्त गरिदिए । व्रजवासीले बालकघातिनी राक्षसीको मृत्यु भएकोमा रङ र अबिर लगाएर उत्सव मनाउँदै पूतनाको दाह संस्कार गरे । त्यस अवस्थामा पहिले रङ लगाएर उत्सव मनाउने चलन रह्यो र अर्को दिन मात्रै होलिका वा पूतनालाई जलाउने चलन रह्यो । काठमान्डु उपत्यकामा अघिल्लो दिन होली र भोलिपल्ट होलिका दहन हुनुको कारण यसै हुन सक्छ ।

मानिसका जीवनमा छवटा रस र सातवटा रङको महत्व ठुलो छ । शरीरमा रङको अभाव नहोस् भनेर सूर्यलाई अर्घ्य दिँदै शरीरमा इन्द्रेणीको स्पर्श गराउने वैज्ञानिक तथ्य हाम्रै विद्वान पुर्खा प्राचीन ऋषिमुनिले आविष्कार गरे । कारणवश कुनै रङको अभाव हुन गयो भने त्यसको पूर्तिका लागि गणितीय अध्ययन गर्ने ज्योतिषिले गणितद्वारा कुन रङको कमी हो भन्ने पत्ता लगाएर आवश्यकता अनुसार औँठी बनाएर त्यही रङको पत्थर लगाउन दिने गरेका छन् । जीववैज्ञानिक महत्वका हिसाबले शरीरमा रङको कमबेस भएर त्यससम्बन्धी रोग नलागोस् भन्ने उद्देश्यले पनि यस्तो उत्सव मनाउन चलन हुन सक्छ । त्यसै गरी होलिका दहन गर्ने क्रममा फोहोर मैला जलाएर पर्यावरण शुद्धि गर्ने यसको सामाजिक महत्व पनि कम छैन । रङले एक प्रकार सञ्चारको काम पनि गर्छ । यातायातको सुविधाका लागि विविध प्रकारको रङ भएका बत्तीले सवारी साधन चालकले साङ्केतिक सञ्चारको प्रयोग गर्दछन् । जीवनको सुखलाई सङ्केत गर्ने र दुःखलाई सङ्केत गर्ने काममा पनि रङको प्रयोग हुन्छ । त्यसैले होली पर्वसँग यस्ता धेरै पक्षको वैज्ञानिक अर्थ गाँसिएको छ र त्यसको अध्ययन हुनु आवश्यक छ ।

आफ्ना चाडपर्वकी प्राचीन इतिहास के हो र त्यसको महत्व के हो भनेर बुझ्नुपर्ने आवश्यकता एकातिर छ भने अर्का्तिर होलीका अवसरमा फोहोर मैला पानी छ्याप्ने डढेको मोबिल हान्ने प्लास्टिकका थैला र बेलुनमा पानी र हानिकारक तरल पदार्थ भरेर हान्ने परिचित र खेल्न आउनेलाई मात्रै होइन अपरिचित र होली नखेली अन्य काममा लागेका मानिसलाई हान्ने जस्ता कुप्रथाहरु पनि बिस्तारै भित्रिँदै छन् । दसैँतिहार जस्ता अरु पर्वमा र होलीमै पनि मद्यपान गर्ने हल्लाखल्ला मच्चाउने झैझगडा गर्ने पैसा मागरे दुःख दिने जस्ता अनेकौँ प्रकारका विकृति समावेश हुँदै छन् । यस्तो हुनबाट जोगाउने हो भने हाम्रा सबैजसो चाडपर्वले कुनै न कुनै प्रकारको महत्वपूर्ण सन्देश वा उपलब्धि समाजलाई दिएकै हुन्छन् । यसको महत्व खोज्दै चाड पर्व मनाउने प्रयास गरौँ । अन्त्यमा होली मनाउने र नमनाउने मसँग फेसबुकमा मित्रता भएका र नभएका सबैलाई हाेलीको धेरै धेरै शुभकामना ।।

तिलक लुइंटेल
काठमाण्डौ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com