‘भाँडा माझ्दामाझ्दै संविधानसभा’ पुगेकी शान्ता चौधरी आफ्नैबाट हेपिएपछि…

देविका घर्ती मगर
दाङ, चैत्र ७ ,

लक्ष्मीपुर गाविस–८ स्थित एउटा विद्यालय । उच्च मावि डाडागाउँ गोग्ली । विद्यालयको उत्तरपट्टिको भवनको दोस्रो तलाको पनि अन्तिम कक्षा । जहाँ पूर्व सभाषद् शान्ता चौधरी कक्षा ८ को वार्षिक परिक्षा दिँदैछिन् । कक्षाकोठाको दाँयातर्फको पहिलो बेञ्चको छेउमा उनको रोल नम्बर टाँसिएको छ ।

उच्च मावि डाडागाउँ गोग्लिमा कक्षा ८ मा भर्ना भएकी पूर्व सभाषद् शान्ता चौधरी आजदेखी कक्षा ८ को जिल्लास्तरिय वार्षिक परिक्षामा सामेल भएकी छिन् । परिक्षाको पहिलो दिन नेपाली विषयको परीक्षामा शान्ता सहभागी भएकी छिन् ।

लक्ष्मीपुर–४ निवासी पूर्व सभाषद् शान्ता चौधरी औपचारिक शिक्षा लिनेक्रममा २०७२ असारमा कक्षा ८ मा भर्नासँगै उनको विद्यालय भर्नाको समाचारले चर्चा पाएको थियो । १८ वर्ष कमलहरी जीवन बिताएर मुक्त भएसँगै भूमिअधिकार आन्दोलनमा लागेकी शान्ता चौधरी संविधानसभाको निर्वाचन २०६४ मा समानुपातिकतर्फ नेकपा एमालेबाट सभाषद् भएकी थिइन् । तर उनी जब सभाषद् भइन् ‘भाँडा माझ्दामाझ्दै संविधानसभामा आएकी’ धेरैको प्रतिक्रिया यही थियो ।

सामान्य प्रौढ कक्षा मात्र पढेकी शान्तालाई संविधानसभाको भवनभित्र छिर्दै गर्दा अर्काको सहारामा मुस्किलले आफ्नो नाम भने लेख्न सक्थिन् । संविधानभासका सहकर्मी सदस्यहरुबाटै हेपिएकी शान्ता प्राकृतिक संसद्मा स्रोतसाधन समितिको सदस्य समेत बनिन् । त्यहाँ पनि उनले हेपिनु नै पर्यो । त्यही पिडा मनभरी लामो समयसम्म बोकेकी शान्ता चौधरी अहिले भने औपचारिक शिक्षा लिनकै लागि विद्यालय धाइरहेकी छिन् ।

विद्यालय भर्ना भएपछि आफ्ना छोराछोरी उमेरका विद्यार्थीहरुसँगै पढिरहेकी शान्ता अहिले जिल्लास्तरीय वार्षिक परिक्षामा सामेल भएर परिक्षा दिइरहेकी छिन् । राजनितिक/सामाजिक व्यक्तित्व भएका कारण नियमित रुपमा स्कुल आउन नसकेपनि उनले निकै मेहनत गरेर पढाइलाई अगाडी बढाइरहेको उमावि डाडागाउँ गोग्लीका प्रधानाध्यापक शतिष आचार्यले बताए ।

‘यो उमेरमा यसरी मेहनत गरिरहनुभएको छ । उहाँको यो मेहनत र लगाव प्रशंसनीय छ,–प्रअ आचार्यले भने, कहिलेकाँही बाहेक विद्यालय पनि आइरहनुभएको छ । उहाँले अहिलेसम्म पढ्न पाउनुभएन त्यसकारण नियमित विद्यार्थीजस्तो उत्कृष्ट भन्न सकिदैन तर, उहाँको पढाई समग्रमा राम्रै छ ।’

कमलहरी जीवनबाट मुक्त भएसँगै भूमिहिन आन्दोलन हुँदै अहिले राजनितिक जीवनमा सक्रिय शान्ता चौधरी सानैदेखीको पढ्ने धोको पुरा गर्न विद्यालय जीवनको शुरुवात गरेको बताउछिन् । ‘विद्यालयको परिक्षामा पहिलोपटक सहभागी हुँदैछु । अलिअलि डर त लागेको छ । तर पास हुन्छु भन्ने चै लागेको छ’–उनले भनिन् ।

शान्ताका छोरा अनिल अहिले कक्षा ९ को परिक्षा दिइरहेका छन् भने छोरी बिनु कक्षा ७ को । सँगै पढेर छोरासँगै एसएलसी परिक्षा दिने योजनामा रहेकी शान्ता विविध कारणले एक वर्ष पहिले भने विद्यालय भर्ना हुन सकिनन् ।

अहिले विद्यालय भर्ना भएपछि शान्ताले पढाइमा निकै मेहनत गरिरहेकी छिन् । पाठेघर र ब्रेष्ट क्यान्सरलाई पनि जितेकी शान्ताले ३ वर्ष पहिले आफ्नै जीवनमा आधारित ‘कमलहरी देखि सभाषद्सम्म’ पुस्तक समेत लेखेकी थिइन् ।दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com