कविता '' प्रेमजेल ''


कविता प्रेमदिवसको अवसरमा~
  '' प्रेमजेल ''
***
प्रिय शिकारी !
तिमीले कालान्तरदेखि
ओछ्याउँदै आएको
प्रेमजालमा परेपछि
आज म तिम्रो कैदी भएकी छु ।

स्वतन्त्र आकाशमा
आफ्ना पखेटा फिँजारेर
उडिरहेकी मलाई
जालमा पोको पारेर
सुन्दर सुनको पिंजरामा
सरक्क राखेका छौ तिमीले !
मेरो भोकप्यास
सबै र सबै आवश्यकता पनि
पूरा गरेका छौ तिमीले
अहोरात्र मेरै पहरेदारी समेत
गरिरहेछौ तिमीले नै ।
ए प्रिय शिकारी !
वर्षौँदेखि कुँजिएका
मेरा प्रिय पखेँटा बोकेर
अब एक्लै हावामा कावा खान सक्तिन म
अब क्षितिजसम्म पुगेर
एक्लै रमाउन पनि सक्तिन म
त्यसैले के भनुँ म तिमीलाई ?
कसरी भनुँ म तिमीलाई ?
शव्दहरू लाटा र बहिरा भएका छन्
प्रेमजेलबाट मुक्त हुन पनि सक्तिन अब म
प्रेमजेलमै रमाउन पनि सक्तिन अब म !
शायद स्वतन्त्र आकाशमा
उड्दाउड्दै
अनायस कुनै व्याधाको शिकार हुनुमा
मेरो आनन्द लुकेको
हुनुपर्छ
शायद स्वतन्त्र जङ्गलमा चर्दाचर्दै
कुनै जङ्गली जनावरको
अचानक आहार बन्नु मै
मेरो परमानन्द टिकेको हुनुपर्छ ।
ए मेरो प्रिय शिकारी !
शायद त्यसैले हो कि
प्रेमको आहालमा चुर्लुम्मै डुबेर पनि
म केवल घृणा गर्छु तिमीलाई !
मेरो प्यारो शिकारी !

इन्दिरा प्रसाई
घट्टेकुलो, काठमाण्डु 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com