यौन सम्पर्कबाट जिका भाइरस संक्रमण

बुधबार माघ२०,

अमेरिकामा यौन सम्पर्कबाट जिका भाइरसको संक्रमण फैलिएको फेला परेको छ । टेक्सासका एक व्यक्तिमा जिका भाइरसको संक्रमण फेला परेको र ती व्यक्तिलाई लामखुट्टेको टोकाइबाट नभई यौन सम्पर्कबाट संक्रमण फैलिएको हो ।


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले टेक्ससको डालसका एक व्यक्तिमा जिका भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित व्यक्ति जिका भाइरस संक्रमण फैलिएको क्षेत्रमा नभएको तर उनको यौन साथी संक्रमण फैलिएको भेनेजुएलाबाट आएकाले ती व्यक्तिलाई यौन सम्बन्धबाटै जिकाको संक्रमण फैलिएको सिडिसीले जनाएको छ । जिका भाइरस विशेष गरी एजिप्टाइल जातको लामखुट्टेको टोकाबाट सर्ने गर्दछ । यो भाइरसका कारण बालबालिकाको मस्तिष्कमा असर पर्ने गर्दछ ।

बच्चा गर्भमै रहँदा यसको संक्रमण भएमा मानसिक रुपमा कमजोर बच्चा जन्मने गर्दछ । यो भाइरसको संक्रमण भएका व्यक्तिको टाउकाको विकास पनि कम हुन्छ । विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्दै यसविरुद्ध एकीकृत प्रयासका लागि आह्वान गरेको छ ।

यसका कारण उत्तर तथा दक्षिण अमेरिकी देश बढी प्रभावित भएका छन् । ब्राजिलमा चार हजारभन्दा धेरैमा यसको संक्रमण देखिएको छ । अहिलेको जस्तै अवस्था रहने हो भने एक वर्षभित्र त्यस क्षेत्रका ४० लाख मानिसमा जिकाको संक्रमण फैलने विशेषज्ञहरुले चेतावनी दिएका छन् । एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com