अमेरिका पुगेका नेपाली महिलामा दासी मानसिकता !

सोमबार फागुन ३,

सतीदेवी थापा ; भनिन्छ खुल्ला मानसिकता भएको परिवेशमा मात्र संकीर्ण सोचबाट माथि उठ्न सकिन्छ । तर पनि यो कथन असत्य ठहर्छ जब खुल्ला परिवेशमा पनि संकीर्ण सोचलाई बढावा दिइन्छ वा संकीर्ण सोचलाई नैसर्गिक सत्य हो भनी आत्मसात गरिन्छ । यस सन्दर्भमा अमेरिका जस्तो विकसित मुलुकमा पनि नेपाली नारीले पुरुष प्रधान विचारधारालाई प्रश्रय दिई स्वयम्नै दोहोरो शिकार (double victimization) भएको देख्दा पितृसत्तात्मकताको प्रेतले माक्र्सवादीहरुको कथित भूत (specter) झैं तर्साइरहेको भान हुन्छ ।

सांस्कृतिक कुरितिले सदैव महिलालाई दमन गरेकै हुन्छ । तर त्यस्ता कुरिति नेपालमा नै हटेर जान लागेको अवस्थामा सपनाको नगरी अमेरिकामा आएर पनि नेपाली महिलाले निरन्तरता दिएको देख्दा उदेक लाग्नु अस्वाभाविक हैन । यहाँ मेरो कथन कुनै संस्कार विशेषतर्फ लक्षित हैन कि यस्तो खुल्ला मानसिकता भएको समाजमा आइसकेपछि पनि महिलाले आफ्नो निर्णय गर्ने अधिकार (decision-making power) आफ्नो घरको पुरुष सदस्यलाई नै दिनु र उनीहरुको वैधानिक/अवैधानिक सबै प्रकारका निर्णयलाई मूक सर्मथन गर्नुले अमेरिकामा महिलाको झन् बढी शोषण/दमन भएको प्रस्ट देखिन्छ ।

सबै पुरुषलाई दोषी ठहर गर्न खोजेको त हैन तर पनि अधिकांश पुरुषले आफ्ना घरका महिला सदस्यलाई शोषण गरेको पाइन्छ । विदेशी महिलासँग दोस्रो विहे गर्ने वा गर्लफेन्ड बनाउने वा आफू काम नगरी श्रीमतीलाई दुई ठाउँमा काम गर्न लगाउने, आर्थिक लोभमा कलेज पढ्न शुरु गरेका छोरीको विहे गरिदिने जस्ता अपराधसमेत चुपचाप सहन गरेको देख्दा उदेक लागेर आउँछ । आफू पढेलेखेको भए पनि आफ्नो बैंक खाता भने श्रीमानलाई चलाउन दिने र दासजस्तै विभिन्न प्रकारका शारिरीक तथा मानसिक यातना सहन गर्दै बस्ने कार्यले महिलाको स्थिति झन् दर्दनाक बनेको देखिन्छ ।
कुरा तीजमा ब्रत बस्ने/नबस्ने वा पति परमेश्वरको खुट्टाको जल खाने नखाने भन्ने हैन कि अमेरिकामा आएर पनि आफ्नो आर्थिक स्वतन्त्रता, निर्णय गर्ने अधिकार तथा दैनिक जीवनयापन गर्न आवश्यक कुरासमेत गर्न पुरुषको भर पर्ने अवस्थाले महिलालाई झन् दास जस्तै बनाएको देखिन्छ । त्यसैगरी बैंक, सरकारी कार्यालय, अस्पताललगायतका स्थानमा जानसमेत पुरुषको भर पर्ने बानीले महिलालाई पछाडि पारिरहेको छ ।

महिलाहरुमाथि हुने दमनको मुख्य कारण उनीहरुले आफ्नो र आफ्नो भविष्यका बारेमा निर्णय गर्ने अधिकार पुरुषलाई सुम्पनु नै हो । पुरुषको निर्णय जहिले पनि सही हुन्छ भन्ने पितृसत्तात्मक सोचलाई नचिरेसम्म नेपाली दिदीबहिनीको अवस्था अमेरिकामा सुध्रन सक्दैन ।

अमेरिका सपनाको नगरी नेपालमा रहदाँसम्म हो र तर यहाँ आइसकेपछि मोह भंग हुन क्षणभर पनि लाग्दैन । मेहनत र केवल मेहनत मात्रै अमेरिकाको वास्तविकता हो । यहाँ अहोरात्र खटेर काम नगरेसम्म आफ्नो परिवारलाई सम्मानपूर्वक पाल्न कठिन छ । काममा सबै यसरी लिन हुन्छन् कि श्रीमान् श्रीमतीको महिनौंसम्म पनि भेट नै हुँदैन । साना बालबालिकाले आफ्नो बाबु–आमाको मुख नै नदेखेर कहिलेकाहीँ राती नसुतेर भए पनि कुरेर बसेको प्रसस्त उदाहरण पाइन्छ । यस्तो दारुण अवस्थामा समेत पतिको दास बनेर बसेको देख्दा विगतमा नेपाली गाँउघरमा रहेका दिदी बहिनीको झझल्को आउँछ । धेरै महिला यसरी आफ्नो स्वतन्त्रता पुरुषलाई सुम्पेर कालान्तरमा आत्महत्या गर्न खोजेको धेरै दृष्टान्त विगत दुई दशकको मेरो अमेरिका बसाइमा धेरै चोटि देखेको छु ।

महिलाहरुमाथि हुने दमनको मुख्य कारण उनीहरुले आफ्नो र आफ्नो भविष्यका बारेमा निर्णय गर्ने अधिकार पुरुषलाई सुम्पनु नै हो जस्तो लाग्छ । अनपढ र अशिक्षित महिलाका बारेमा त ठीकै हो तर आजभोलि नेपालमा धेरै महिलाले स्नातक तहसम्म अध्ययन गरेका छन् । यस्तो शिक्षित वर्गले पनि परनिर्भर बनेर आफ्नै जीवनलाई नरक बनाइरहेको देख्दा उदेक लाग्दछ । पुरुषको निर्णय जहिले पनि सही हुन्छ भन्ने पितृसत्तात्मक सोचलाई नचिरेसम्म नेपाली दिदीबहिनीको अवस्था अमेरिकामा सुध्रन सक्दैन भन्ने मेरो मान्यता छ ।

समानताका लागि नेपालका दिदीबहिनीहरु लडेर देशको राष्ट्रपतिमा समेत एक विघुवा महिलालाई पु-याएको अवस्थामा अमेरिका जस्तो मुलुकमा आएर पनि परम्परागत सोचलाई निरन्तरता दिँदै फगत दास बनेर बसेको देख्दा मन कुँडिएर आउँछ । त्यसकारण आफ्नो समस्यालाई बाहिर ल्याउने, अग्रजहरुसँग सही सल्लाह लिने र भएन भने कानुनको सहारा लिने साथै पुरुषमाथिको परनिर्भरता त्याग्न आफूलाई सक्षम बनाउने जस्ता कार्य नगरि अमेरिकामा नेपाली पितृसत्तात्मकताको प्रेत मन्साउन नसकिने मेरो ठहर छ ।
– वुडव्रिज, भर्जिनिया
अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com