यस कारण महिला घरेलु कामदारका रुपमा साउदी नगएको राम्रो

काठमाडौं फागुन १६,

नेपालले साउदी अरबसँग औपचारिक रुपमै घरेलु महिला कामदार ल्याउनेबारे सम्झौता गर्ने तयारी गरिरहेको छ । तर, साउदी अरबमा काम गरिरहेका नेपाली भने यही अवस्थामा नेपाली घरेलु महिला कामदार ल्याउन नहुने बताइरहेका छन् ।

नेपालबाट घरेलु महिला कामदार ल्याउन रोकिएकै अवस्थामा पनि भारत र खाडीकै कुवेत लगायत मुलुकमा भित्रिने नेपाली महिलाको संख्या निकै ठूलो छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी अरबले महिला कामदार ल्याउन अनुमति पाएका केही खाडी मुलुकको यथार्थ अवस्था मूल्यांकन गरेर साउदी अरब नेपाली महिला कामदारका लागि उपयुक्त नभएको जनाएको छ ।

एनआरएन साउदी अरबले हालै एक विज्ञप्ति जारी गर्दै साउदी अरबमा महिला कामदार अहिलेकै अवस्थामा किन पठाउनु हुँदैन र पठाउनुपरे त्यसअघि के-के गर्नुपर्छ भन्नेबारे जानकारी गराएको छ ।

संघले नेपाल सरकार, श्रम मन्त्रालयलाई समेत बोधार्थ पठाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघको त्यही विज्ञप्तिलाई संक्षिप्त यहाँ प्रस्तुत गरेका छौं ।

महिला कामदारलाई शारीरिक र मानसिक यातना

घरेलु महिला कामदारलाई यहाँ धेरै अप्ठेरा र समस्या छन् । घर मालिकले महिला कामदारको राहदानी कब्जामा राख्ने प्रवृत्ति छ भने घरेलु कामदारलाई आप्रवासी कामदारको रुपमा मान्यता पनि दिइएको छैन ।

यस्तै महिलाले घरमा आरामबिना लामो अवधि काम गर्नुपर्छ । महिला कामदारलाई घुमफिरमा रोक लगाइन्छ । सम्झौतामा तोकिएअनुसार तलब नदिने समस्या छ ।

शारीरिक एवं मानसिक शोषण हुने गरेका कुरा लुकेका विषय हैनन् । घरेलु कामदारलाई मालिकबाटै डर-त्रास हुने गरी धम्कीपूर्ण व्यवहार गरिन्छ । त्यसैले महिलाले बाध्यात्मक श्रमिकको रुपमा काम गर्नुपर्ने  अवस्था आउँछ । यस्तो अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने अवस्था आउँछ ।

‘कफला’ (कामदारको भिसा प्रायोजनसम्बन्धी नीति) प्रणालीमा पीडित नै उल्टै अपराधी ठहरिने व्यवस्था विद्यमान छ । घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टको चंगुलमा फसेर देह व्यापार गर्ने बाध्यतामा समेत महिला पर्छन् । यस्तै घरभित्रै पनि पर्याप्त मात्रामा खाना खान नदिने, समयमा उपचार नगराउने, करार अवधि सकिए पनि घर जान नदिएर जबर्जस्त काम गराइरहने समस्या पनि छ ।

खुला सीमानाका कारण एउटा मुलुकको श्रम स्वीकृति लिई अर्को मुलुक लैजाने प्रचलन पनि छ । घर र आफन्तसँग सम्पर्क गर्न नदिने, समयमा भिसा नलगाई गैरकानुनी हैसियतमा काम गराउने, स्पोन्सरले मनोमानी तरिकाले घरेलु कामदारलाई अर्को एजेन्सी र स्पोन्सरकोमा बेच्ने गरिएको छ ।

कामदारलाई घरभित्र अत्याधिक कामको बोझ हुने तथा लैंगिक हिंसाको पनि उच्च जोखिम छ । यसमा एजेन्सी र उनीहरूका दलालको कमजोरी पनि अत्यधिक छ । उनीहरूले घरेलु कामदारलाई यथार्थ स्थितिबारे जानकारी नदिई मीठा-मीठा सपना मात्र बाँड्ने गरेको पाइन्छ ।

घरमा काम गर्न नसकी ‘कफला’ अवधिभित्र भागेर सम्बन्धित एजेन्सीको अफिस आएका महिला कामदारलाई शारीरिक एवं मानसिक यातना दिने गरेको समेत भेटिएको छ । जिम्मेवारीको अवधि सकिएपछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र पछि आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति पनि खाडी मुलुकमा छ ।

काम गर्न आएका वा कामबाट भागेका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने बारम्बार उजुरी पर्ने गरेको छ । छोटो अवधिका लागि काममा पठाई आर्थिक शोषण गर्ने नौलो विषय होइनन् ।

कसरी रोक्ने यसलाई ?

अब सरकारले सबै नेपाली तथा भारतीय दलाललाई खोजी गरेर कानुनी कारबाही गर्नुपर्छ । भारतीय नाका तथा विमानस्थलमा विशेष निगरानी र चेकजाँच गरी यस्तो अवैध बेचबिखन रोक्न सरकारी स्तरमै सरकारले अधिकतम प्रयत्न गर्नुपर्ने देखिन्छ ।
सकभर खाडीमा घरेलु महिला कामदार नआएकै राम्रो । आउँदा पनि सबै मापदण्डको पूर्ण पालना सुनिश्चितता लिएर मात्रै आउन सकिन्छ । संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।

कुवेतलगायत साउदी अरबसँग सीमा जोडिएका मुलुकबाट नेपाली महिला घरेलु कामदारका रूपमा स्थान्तरण गरी साउदी पठाइने हुनाले सम्बन्धित मुलुकसँग नेपाल सरकारले कूटनीतिक पहल गरेर स्थान्तरणमा रोक लगाउनुपर्छ ।

उद्धार कसरी गर्ने ?

यति गरेर मात्रै सरकारको दायित्व पूरा हुँदैन । स्वदेशी तथा विदेशी दलाललाई उद्धार तथा स्वदेश फिर्तीमा आउने खर्च जरिवानास्वरूप व्यहोर्न लगाउने व्यवस्था गर्नुपर्छ ।  उनीहरूलाई कानुनतः जेल सजाय समेत दिनुपर्छ ।

यस्तै, साउदी सरकारसँग सरकारी वार्ता तथा समझदारी गरी आफ्ना नागरिकको रक्षा र उद्धार गर्न नेपाली दूतावास र यसले खटाउने प्रतिनिधिलाई साउदीका घरभित्रै गई उद्धार गर्न पाउने अधिकार लिनुपर्छ । अवैध र अलपत्र महिला कामदारलाई दूतावासमा सम्पर्क राख्न नेपालमा तिनका परिवारमा सूचना प्रवाह गर्ने र स्वदेश फिर्तीमा सरकारले नै सघाउनुपर्छ ।

नेपाल प्रहरीले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ९७७-११७७ को उपयोग गर्दै प्रहरीसँग पनि समन्वय र सहकार्य गर्नुपर्छ । दूतावास र नेपाली समुदाय तथा संघ-संस्थाले उद्धारमा सहकार्य गर्दा राम्रो हुन्छ । सरकारले नै प्रवासमा पीडित बन्ने नेपाली घरेलु महिला कामदारको उद्धार तथा स्वदेश फिर्तीका लागि उद्धार कोष बनाएर काम गर्नुपर्छ ।

पठाउने नै भए यसो गरौं

सकेसम्म साउदीमा महिला घरेलु कामदार नआउँदा उचित हुन्छ । तर, महिलालाई सुरक्षित राख्ने गरी पठाउने हो भने केही कुरामा ध्यान दिनैपर्छ । घरेलु काममा पनि संगठित क्षेत्रमा जस्तै ८ घन्टा र ६ दिन मात्रको ड्युटी, तलब-सुविधा, अधिकार, स्वतन्त्रता, सुरक्षा, बिमालगायत सबै सुविधाको प्रत्याभूति लिनुपर्छ ।

नियमित रूपमा दूतावासले निगरानी तथा जाँचबुझ गर्न पाएमा र हरेक हप्ता फोनमा र महिनामा एकपटक दूतावाससँग प्रत्यक्ष भेटवार्ताको व्यवस्था गरिनुपर्छ । महिला सहचारीसहित सबै महिला कामदारको पर्याप्त रेखदेख गर्न सक्ने जनशक्ति नेपाली दूतावासमा हुनैपर्छ ।

महिलाहरू पनि पुरुषसरह एक्लै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार ग्यारेन्टी गर्न लगाउनुपर्छ । तर, यसमा ध्यान नदिएर अहिलेकै अवस्थामा नेपाली चेलीबेटीलाई साउदी अरबमा पठाउने सम्झौता भए राष्ट्रकै लागि घातक र दर्दनाक हुनेछ . स्रोत;अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com