११ वर्षमा प्रेम, १२ बर्षमा विहे , १३ बर्षमा सुत्केरी, ७ बर्षीय अपाङ्ग छोरोको उपचार खोज्दै संगीता

 जाजरकोट माघ २९,

भेरी मालिका नगरपालिका– ११ कुदुकी संगीता बुढाथोकीको उमेर भर्खर बिहे गर्ने भएको छ।

२० वर्षे जवानीको उमेर भर्खर सुरु भएपनि उनी ७ वर्षको छोराको आमा बनिसकेकी छिन्। १३ वर्षकै उमेरमा जन्मिएको छोरो जन्मेको एक वर्षमै पूरै शरीर नचल्ने भएपछि ६ वर्षदेखि संगीता ठूलो तनावमा छिन्।

जन्मेको एक वर्षमै छोरा शरीरको पूरै भाग अपांग भएर बिरामी भएपछि उनको तनावको जिन्दगी सुरु भएको हो। ७ वर्ष अघि जन्मिएको उनको छोरा आशिष बुढाथोकी गत ६ वर्षदेखि बोल्ने, कराउने नगर्ने गरी अपांग भएका छन्। सुरुको एक वर्षसम्म रुने कराउने, चल्ने शरीर यता उता हल्लाउने गर्ने आशिषपछि पूरै शिथिल भएको संगीताले बताइन्। बिहीबार महिला तथा बालबालिका कार्यालयमा छोराको अपांग परिचयपत्र वनाउन आएकी संगीताले अपांगताको परिचय पत्र बनाए कतै उपचार र अन्य राहतमा सहयोग पुग्थ्यो कि भनेर आसा लागेको बताइन् ।

११ वर्षको उमेरमा प्रेममा परेर १२ वर्षकै उमेरमा विहे गरेकी संगीताले ६ वर्ष देखि छोराको उपचारका लागि धेरैलाई गुहारेको तर कतै कसैले आफ्नो समस्या समाधानमा सहयोग नगरेको बताइन्। छोरोको अवस्था बिग्रिएदेखि नै घरपरिवारले पनि आफुलाई राम्रो व्यवहार गर्न छोडेको भन्दै उनले आफूलाई सारै आपतमा परेको बताइन्। शरीरका सवै अंग नचल्ने गरी छोरो अपांग भएपछि उनले उपचारका लागि सकेजति सवैसँग हारगुहार गरिसकिन् तर न डाक्टरले उनको छोराको रोग पत्ता लगाएर उपचार गर्न सक्छन न उनलाई कसैले उपचार खर्च सहयोग नै गरेको छ। १२ वर्षमा गर्भवाती भएर १३ वर्षको उमेरमा सुत्केरी भएकी संगीता गर्भवती भएको १२ महिनापछि मात्र सुत्केरी हुदाँ निकै गाह्रो भएको थियो । सुत्केर हुन निकै सारो भएपछि उनलाई मिसन अस्पताल चौरजहारीमा बेहोस हुने सुइ लगाएर अप्रेसन गरी सुत्केरी गराइएको थियो।

तीन वर्ष अघि माइतीबाट ल्याएको केही पैसाको जोहो गरी कमाइ गर्न श्रीमान्लाई विदेश पठाएकी संगीतालाई श्रीमानको कमाइ हात पर्न छोडेको पनि धेरै भयो। 'एक त सानैमा बिहे गरेर ठूलो गल्ती गरेछु,' उनले भनिन्,' त्यसमाथि पनि अपांग छोरो पाएको भन्दै परिवारले हेला गर्न थालेपछि पछुतो मात्र गरेर बाच्नु पर्ने भयो।'

५ कक्षामा पढ्दै गर्दा गाँउकै एक महिलाले फकाएर बिहे गराइदिएको भन्दै उनले विहेकै कारण चाहे जति पढ्न नपाएको र बिरामी छोराको कारण एसएलसी पनि दिन नपाएको बताइन्।

संगीताका ससुरा खीमबहादुर बुढाथोकीले पनि ७ वर्षीय नाति आषिशको उपचारका लागि आफनो आर्थिक क्षमताले नभ्याएका कारण ठूलो समस्यामा परेको बताए।नागरिक न्युज;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com