छाउपडी प्रथामुक्त अभियानको थालनी

जुम्ला माघ २९,

कुप्रथाका रुपमा विद्यमान छाउपडी प्रथामुक्त अभियानको सबैभन्दा ठूलो चुनौती ‘देवता रिसाउँछ’ भन्ने जनविश्वास रहेको निक्र्योल गरिएको छ। 
 
फोटो फाइल 
आत्मसम्मानका लागि सहकार्य (क्याड) जुम्लाको सहयोग र महिला तथा बालबालिका कार्यालयद्वारा आयोजित गोष्ठीमा सो कुराको निक्र्योल गरिएको हो। 
 
गोष्ठीमा मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा गहिरो जरा गाडेको यो प्रथाका कारण महिला हिंसाका घटना बढेको तथ्य खुलाइएको छ। 
 
विशेषगरी, समाजमा छोइछिटो नगर्दा देउता रिसाउने र त्यसले ज्यानै लिने डर स्थानीयवासीमा भएकाले यो अभियान चुनौतीपूर्ण भएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले बताए। 
 
परम्परागत संस्कारबाट ग्रसित नागरिकमा चेतनाको विकाससम्बन्धी गतिविधि सञ्चालन गर्न सुझाउँदै अभियान पूर्णताका लागि प्रशासनले सक्दो सहयोग पुर्‍याउने उनको भनाइ थियो । 
 
स्थानीय विकास अधिकारी मित्रमणि पोखरेलले छाउपडीमुक्त अभियानलाई गाँउमा लैजान सम्पूर्ण गाविस सचिवलाई निर्देशन दिने बताए। 
 
गाविस सचिव स्थानीयस्तरमा छाउपडी निगरानी समितिको संयोजक भएकाले छाउपडीमुक्त अभियानका विभिन्न गतिविधि परिचालन गर्न सचिवहरुको मुख्य भूमिका हुन्छ । 
 
सर्वोच्च अदालतको आदेश बमोजिम सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका–२०६४, कार्यान्वयन तहमा नलैजाँदा हिंसा न्यूनीकरण हुन नसकेको आत्मसम्मानका लागि सहकार्य (क्याड) जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमले बताए। 
 
यो अभियानलाई सफल पार्न धामीझाँक्री र पुरोहितलाई एकै ठाउँमा राखेर चेतनामूलक अभिमुखीकरण गरिनुपर्ने सहायक वन अधिकृत श्यामलाल महतले सुझाव दिए। 
 
महिला तथा बालबालिका कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख मञ्जु पाण्डेले छुई प्रथा तथा हिंसा न्यूनीकरण गर्न सासू–बुहारी सचेतना कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो । गोष्ठीमा संस्कार रुपान्तरणका लागि अधिकांश सहभागीले सैद्धान्तिक सचेतनाभन्दा व्यावहारिक ज्ञान दिन सुझाव दिएका थिए । 
 
एकसातापछि जिल्लाका प्रत्येक गाउँ, बस्ती, वडा र गाविसबाट छाउपडीमुक्तविरुद्धका सचेतनामूलक कार्यक्रम अभियानका रुपमा अगाडि थाल्ने क्याड जुम्लाले जनाएको छ ।रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com