कविता ''नर्तकी" By, सुरज राना


कविता  ''नर्तकी" By, सुरज राना

म नाचिरहदा म सङ्गै उफ्रने
मेरो स्तन र नितम्ब हेरेर
पुरुषत्वमा नशामत्त मान्छेहरु
अर्को नृत्यको फर्माईश गरि रहन्छन
र म नाची रहेछु - सदियौ देखि ।
कहिले धार्मिक तबलाको तालमा
कहिले सँस्कारिक मुर्चुङ्गाको सुरमा
कहिले परम्परागत बिणाको धुनमा
कहिले सास्कृतिक हार्मोनियमको सरगममा
मलाइ नचाइ रहियो , म नाची रहे
मेरो रुपाकृतिमा मदहोस दुनियाले
अहँ कहिल्यै सुन्न सकेन
कुन्ठित अभिलासाको- कोरस
र कैद चाहानाको - आलाप
हातमा श्रीमानले दिएको
मर्यादाको चुरा पहिरिएर
पाउमा मातृत्वको पाउजु बजाउदै
म नाँची रहेछु , बस! नाँची नै रहेछु।
मलाइ नाच्न यत्ती माहिर बनाइएको छ कि
ओछ्यानमा नाङ्गिएर
मन्दिरमा अनास्थाको पुस्पगुच्छा चढाएर
दर्शनको झिनो दोपट्टा ओढेर
या रिवाजको केन्द्रित परिधिमा अटाएर
जसरी पनि नाँच्न सक्छु
म नाँच्न सक्दिन त केवल
आफनै धड्कनको पार्श्व सङ्गीतमा
सामाजिक रङ्गमन्चको
अघिल्तिर बसेको दुनियाँलाइ
मौसम र परिवेश अनुसार
कथ्थक र भैरब नृत्यचाल देखाउदै
म नाची रहेछु , बस! नाची नै रहेछु
ए मान्छेहरु हो!
अब यो नर्तकीमा नाच्ने सामार्थ्य सकियो
कृपया मलाइ माफ गर्दै
तिमिहरुको सङ्गीत बन्द गरि देउ!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com