विभिन्न देशमा नेपाली चेली यसरी बेचिन्छन

बैंकक र कोलम्बो रुटमा तस्करीको जालो भत्काउँदै सीआइबी बैंकक र कोलम्बो रुटमा तस्करीको जालो भत्काउँदै सीआइबी


Siriya
रमेश धमला

४ माघ, काठमाडौं ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले थाइल्याण्ड र श्रीलंकाको रुट प्रयोग गरेर विभिन्न देशमा नेपाली युवतीहरुको तस्करी भइरहेको दाबी गरेको छ ।

सीआइवी स्रोतका अनुसार नेपालबाट युरोप, अमेरिका लगायतका देशमा पठाइदिने भन्दै अन्य मुलुक पुर्‍याउने समूहको पहिचान भइसकेको छ । नेपाली युवतीहरुको तस्करी गर्ने दुईजना नेपालीको पहिचान भएको छ ।

थाइल्याण्डमा रहेका ती नेपालीको पासपोर्टसमेत रद्द गरिसकेको सीआइबी स्रोतले बतायो । ती दुई तस्करहरुले महिला र पुरुष गरेर करिब २५ जनालाई फसाइसकेको र पीडितमध्ये कतिपयलाई वेपत्ता पारेको सूचना सीआइबीमा छ ।

विभिन्न मुलुकमा पठाइदिन्छु भन्दै थाइल्याण्ड बोलाउने, उनीहरुको पैसा लुट्ने र वेपत्ता हुने त्यो गिरोहलाई सीआइवीले एक वर्षदेखि ‘मोष्ट वान्टेड’को सूचिमा राखेर अनुसन्धान गरिरहेको थियो ।

पटक-पटक पक्राउको प्रयास गर्दा पनि सूचना चुहिएर जोगिँदै आएकाले फेरि पनि भाग्न सक्ने भन्दै सीआइवीले उनीहरुको पहिचान खुलाउन चाहेन ।
सीआइवी स्रोत भन्छ, पक्राउ पर्न लागेको समुह थाइल्याण्डको रुटबाट मानव तस्करी गर्ने ठूलो गिरोह हो, उनीहरु नियन्त्रणमा आएपछि सबै पोल खुल्छ ।

युवती तस्करीमा श्रीलंका र थाइल्याण्डको बाटो प्रयोग
नक्कली कागजका भरमा भारतबाट श्रीलंकाको कोलम्बो हुँदै खाडी मुलुक पुर्‍याइन लागेकी एक युवती पक्राउ परेसँगै तस्करहरुले कोलम्बोलाई युवती तस्करीको सुरक्षित रुट बनाइरहेको खुलेको हो ।

गत असोजमा भारत हुँदै कोलम्बोबाट रुस तथा खाडी मुलुक पर्‍याउन लागिएका ७ युवतीहरुलाई स्वदेश फर्काइएको थियो । नेपालको अध्यागमनमा दिल्लीसम्मको मात्रै हवाइ टिकट देखाउने, तर गोजीमा कोलम्बोसम्मको अर्को भिसावाला पासपोर्ट र टिकेट बोकेर जाने गर्छन् युवतीहरु ।

उता भारतबाट श्रीलंका पठाउने गिरोह तयारी अवस्थामा बसेका हुन्छन् । भारतबाट अफि्रकन मुलुक जान भारत स्थित नेपाली दुतवासको नो अब्जेक्सन लेटर लिनुपर्छ । तर, श्रीलंका जान कुनै अवरोध नभएपछि तस्करहरुको नेपालदेखि भारत र भारतबाट श्रीलंका हुँदै विभिन्न खाडी मुलुक र रुससम्म नेपाली युवती पुर्‍याउने गरेको खुलेको छ । तस्करहरुले कोलम्बोलाई ट्रान्जिट मात्रै बनाइरहेका हुन त्यहाँबाट कुवेत, साउदी तथा इजरायल लगायतका मुलुकका नेपाली युवतीहरु पठाउने गरेको बताइन्छ ।

श्रीलंकाको रुट प्रयोग गर्ने गिरोहको खोजीमा सीआइबी
मानव तस्करीको नयाँ नयाँ रुट र गिरोहको सञ्जाल तोड्ने प्रयास गरिरहेको सीआइवीले पछिल्लो समय श्रीलंकाको रुट प्रयोग गर्ने गिरोहको खोजी गरिरहेको छ । यसअघि अफि्रकन मुलुकहरु, केन्या, तान्जनिया, युगाण्डा, लगायतका नेपाल युवतीहरु तस्करी गर्ने गिरोहको सञ्जाल तोडेको सीआइवीले चाइनामा युवती पठाउने तस्करलाई पनि कारवाहीको दायरामा ल्याएको थियो ।
CIB
सीआइवीले पछिल्लो चार वर्षमा मात्रै विभिन्न देशमा बेचिएका ५४ जना नेपालीहरुको उद्धार गरिसकेको छ । जसमा ओमानबाट १ जना, चीनबाट २ जना, काजिकिस्तानबाट १ जना, उज्वेकिस्तानबाट १ जना, केन्या र तान्जानियाबाट २ जना , कुर्दिस्तानबाट १ जना, सिरियाबाट १, श्रीलंकाबाट ८ र भारतबाट ३६ जना नेपाली युवतीहरुको उद्धार भैसकेको छ । त्यसरी युवती तस्करी गरेको आरोपमा अहिलेसम्म २ जना विदेशीसहित ४५ जना कार्वाहीको दायरामा आइसकेका छन् ।

चीनबाहेक अन्य मुलुकमा भारतकै बाटोबाट नेपाली युवतीहरु बेचिने गरेका छन् । तर, सरकारले भारतबाट अफि्रकन मुलुक जान ‘नो अब्जेक्सन लेटर’ जारी गरेपछि तस्करहरुले श्रीलंकाको रुट प्रयोग गरिरहेका छन् ।

सीआइबीका प्रमुख डीआइजी हेमन्त मल्ल भन्छन्- ‘अहिले एउटा-एउटा गरेर घटना बाहिर आइरहेका छन्, तर त्यसको मुख्य गिरोह खोज्न जरुरी छ ।’
सीआइबीले श्रीलंकाको रुट प्रयोग गर्नेहरुको खोजीलाई तिव्रता दिइरहेको डीआइजी मल्ल बताउँछन् । श्रीलंकाको बाटो प्रयोग गरेर लगिएका युवतीहरुको गन्तव्य कहाँ हो भन्ने स्पष्ट हुन सकेको छैन ।

युवतीहरुलाई विदेश पठाउनेमा अधिकांश नजिककै आफन्तहरु भेटिएका छन् । संगठितरुपमा हुने अपराध भएकाले गाउँका युवतीहरुलाई शहरसम्म ल्याउने काम आफन्तहरुले गर्ने गरेको सीआइवीका प्रमुख डीआइजी मल्ल बताउँछन् ।

एउटा रुटमा कडाइ गरे पनि तस्करहरुले जुनसुकै बाटो प्रयोग गरेर भए पनि युवतीहरु विदेश पठाउँछन् त्यसैले वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकाय सक्रिय नभए मानव तस्करी नियन्त्रण चुनौतिपूर्ण हुने डीआइजी मल्लको भनाइ छ ।

नेपालबाट श्रम स्वीकृति किन लिँदैनन् ?
पछिल्लो समय नेपाली युवतीहरुको आर्कषणको केन्द्र बनिरहेका अफि्रका तथा खाडीका कतिपय मुलुकहरु असुरक्षित भन्दै सरकारले महिलाहरुलाई रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंका प्रमुख मधुविलास पण्डितका अनुसार व्यक्तिगतरुपमा जानहरुका लागि १६७ देशमा श्रम स्वीकृती हुन्छ भने संस्थाबाट जानेहरुका लागि ११० वटा देशमा श्रम स्वीकृती दिन सकिन्छ ।

यसका लागि कम्पनीको सम्झौता पत्र अथवा काम गर्ने अनुमति लिएपछि जानेहरुका लागि श्रम स्वीकृति लिन कुनै समस्या नहुने पण्डित बताउँछन् । विभागका प्रमुख पण्डित भन्छन्-‘जुन देशमा नेपाली युवतीहरु असुरक्षित हुन्छन्, ती देशहरुमा अहिले पठाउन सकिँदैन, तर जहाँ सुरक्षाको कुनै समस्या छैन, त्यो देशमा जानसमेत दलालको पछि लागेर गलत बाटो प्रयोग भइहेको छ ।

अहिले चर्चामा आएका केही अफि्रकन मुलुकदेखि रुससम्मको कुरामा अहिले श्रम स्वीकृत दिन सकिँदैन । तर, व्यक्ति आफैं असुरक्षित ठाउँमा जान खोज्नु उसैका लागिसमेत जोखिमपूर्ण छ ।

परराष्ट्र मन्त्रालय के भन्छ ?
रोजगारको बमहानामा विभिन्न देशमा पुर्‍याइएर अलपत्र परेका थुप्रै नेपालीहरु छन् । ती नेपालीहरुको उद्धार गर्ने गतिलो संयन्त्र नेपाल सरकारसँग छैन । परराष्ट्र मन्त्रालयसँग अहिले कति नेपालीले उद्धारको प्रतिक्षा गरिरहेका छन् भन्ने तथ्यांकसमेत छैन ।

विषेश गरेर अवैध बाटोबाट विदेश पुगेका नेपालीहरुले उद्धारका लागि सरकारसँग आग्रह गर्ने गरेका छन् । उद्धारका लागि भन्दै नेपाली दुतावासमा आएका कतिपय नेपालीहरुको उद्धार भैरहेको छ । तर, अहिले कति नेपालीले उद्धारका लागि आग्रह गरेका छन् भन्ने तथ्यांक परराष्ट्र मन्त्रालयसँग नभएको सह-प्रवक्ता दीपक अधिकारी बताउंछन ।

अधिकारी भन्छन्- जुन देशबाट उद्धार गर्नुपर्ने हो, त्यही देशमा रहेका नेपाली दुतावासले त्यसको पहल गर्छ र तथ्यांक पनि तिनै दुतावासहरुमा हुन्छ ।
रोजगारका लागि विदेश पुगेका युवतीहरुले रामै्र आम्दानी गरिरहेका छन् । केहीले दुख पाएको भए पनि सम्पर्कमा आउँदैनन् र त्यसले उद्धार गर्न समस्या हुने सरकारी अधिकारीहरु बताउँछन् । जाने बाटो गलत भए पनि आम्दानी राम्रो छ भने सरकारले पो के गर्न सक्छ र ? सीआइवीका एक अधिकृतले भने ।
__साभार-अनलाइन खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com