म याचना गरिरहें, उसले सुन्दै सुनेन (आइएसले अपहरण गरेकी किशोरीको दर्दनाक भोगाई)


शनिबार माघ २,

नादिया मुरादलाई इस्लामिक स्टेटका आतंकवादीले अपहरण गरेका थिए । कैयौं महिना यौन प्रताड़ना ब्यहोरेपछि उनी कसैगरी आतंकवादीको बन्धनबाट भाग्न सफल भइन् । र अहिले दुनियाँलाई यजिदिहरुमाथि भएको अत्याचारका कथा सुनाइरहेकी छन् ।
nadiya
बीबीसीको कार्यक्रम ‘आउटलुक’ लाई नादियाले आफ्नो कथा सुनाइन् । उनमाथिको अत्याचार उनकै बोलीमा पढ्नुहोस् ।

इस्लामिक स्टेटका आतंकवादी आउनु पहिले म आमा र भाई बहिनीहरुसँग उत्तरी इराकको शिंजा नजिक कोचु गाउँमा थिएँ । हाम्रो गाउँका अधिकांश मानिस खेतीमा निर्भर छन् । त्यसबेला म ६ कक्षामा पढ्थें ।

हाम्रो गाउँका जम्मा १७ सय मानिस शान्तिपूर्वक वसिरहेका थिए । हामीलाई आइएसले शिंजा वा हाम्रो गाउँमा आक्रमण गर्दैछ भन्ने कुनै चेतावनी पहिले दिइएको थिएन ।

३ अगस्त २०१४ को कुरा हो, आईएसले यजिदीमाथि आक्रमण गर्यो‍ । केही त माउण्ट शिंजासम्म भागे तर, हामी धेरै टाढा दुर्गममा भएकाले भागेर जानसक्ने ठाउँ थिएन । हामीलाई गाउँमै १२ दिनसम्म बन्धक बनाइयो ।

उनीहरुले तीन हजार भन्दा धेरैको हत्या गरेको र पाँच हजार महिला र बालबालिकालाई आफ्नो कब्जामा लिएको खबर आइरहेको थियो ।
आतंकवादीहरु आएर हाम्रा हथियार कब्जा गरिसकेका थिए । हामी केही गर्नसक्ने अवस्थामा थिएनौं । चारैतिरबाट घेरिइसकेका थियौं । हामीलाई दुई दिनभित्रै आफ्नो धर्म परिवर्तन गर्न धम्की दिइएको थियो ।

१३ अगस्तको दिन म परिवारसँगै थिएँ । हामी निकै डराएका थियौं । त्यसदिन आइएसका करिब एक हजार लडाकु हाम्रो गाउँमा पसे । उनीहरुले हामीलाई स्कुलमा लिएर गए । दुई तले स्क्ुल थियो त्यो ।

पहिलो तल्लामा पुरुषहरुलाई राखे, दोस्रो तल्लामा महिला र बालबालिकालाई । हामीसँग भएका पैसा, पर्स, गहना सबै खोसे । त्यसपछि उनीहरुको नेता जोडले चिल्लायो, ‘जो इस्लाम धर्म अपनाउन चाहन्छ, त्यो कोठाबाट बाहिर जाओस ।’

हामीलाई थाहा थियो जो बाहिरिन्छ, त्यस्को हत्या हुन्छ भन्ने । किनभने यजिदीहरु इस्लाम धर्म अपनाएर मारिनुपर्छ भन्ने उनीहरुको मान्यता थियो । महिला भएकाले उनीहरुले हाम्रो हत्या गर्दैनन् र अरु नै काममा हामीलाई लगाउँछन् भन्नेमा चाहीं हामी स्पष्ट थियौं ।

जुनबेला उनीहरु पुरुषहरुलाई स्कुलको बाहिर पठाइरहेका थिए त्यसबेला कसमाथि के भइरहेको छ भन्ने एकिन नभए पनि हामीले गोली चलेको आवाज सुन्यौं । कसालाई मारिरहेका छन् भन्ने हामीलाई थाहा थिएन । तर, मेरा दाई र अन्य निर्दोषको हत्या गरिरहेका रहेछन् त्यसबेला ।

उनीहरुले बच्चा, जवान र वृद्ध केही भनेनन् सबैलाई गोली ठोके । अली परबाट हामीले हेरिरहेका थियौं, उनीहरु कब्जामा लिएका पुरुषहरुलाई गाउँबाट बाहिर लैजाँदै थिए । त्यसैबेला उनीहरुले एउटा बालकलाई भने स्कुलमै फिर्ता पठाए, उसैले हामीलाई भन्यो लडाकुहरुले कसैलाई छोडेनन् सबैको हत्या गरे भनेर ।
त्यसपछि हामीलाई अर्को गाउँमा लगियो । राति हामीलाई स्कुलमा राखियो, तीन समूहमा बाँडेर । एउटामा युवती, अर्कोमा बालिका र तेस्रोमा अन्य महिला ।

प्रत्येक समूहका लागि उनीहरुसँग बेग्लाबेग्लै योजना रहेछ । बालबालिकालाई उनीहरुले प्रशिक्षण शिविरमा लगे । जुन महिलालाई विवाहयोग्य ठोननन् उनीहरुको हत्या गरे, त्यसमा हाम्री आमा पनि पर्नुभयो ।

राति उनीहरुले हामीलाई मोसुल लगे । मेरा दाजुभाई र आमाको हत्या भइसकेको थियो । हामीमाथि यातना र बलात्कार भइरहेको थियो । म केही पनि सोच्नसक्ने अवस्थामा थिइन ।

उनीहरुले हामीलाई मोसुलको ‘इस्लामिक अदालत’ लगेर प्रत्येक महिलाको तस्वीर लिए । मैले त्यहाँ हजारौं महिलाको तस्वीर देखे, प्रत्येक तस्वीरसँगै एउटा फोन नम्बर थियो । फोन नम्बर त्यो लडाकुको हुन्थ्यो जस्ले उक्त महिलाको जिम्मा पाएको हुन्थ्यो ।

अनेकौं ठाउँबाट आउने इस्लामिक लडाकुहरुले ‘अदालत’ मा राखिएका तस्वीर हेरेर मन परेकीलाई छान्थे । त्यसपछि फोन नम्बर लेखिएको लडाकु र मनपराउनेबीच भाउताउ हुन्थ्यो । किन्नेले केटीलाई आफैसँग राखोस, भाडामा देओस वा आफन्तलाई उपहारमा देओस जे पनि हुनसक्थ्यो ।

पहिलो रात उनीहरुले हामीलाई लडाकुहरुसँगै पठाए । निकै मोटो केटो थियो त्यो जस्ले मलाई मन पराएको थियो । जब हामी केन्द्रमा पुग्यौं।, म भूइँमा घोप्टिएकी थिएँ त्यसैबेला मैले उसका खुट्टा देखें र अनेक विन्तीभाउ गरें, म उसँग जान चाहँदैन भनेर तर, मेरो कुनै सुनुवाई भएन ।

एक सातापछि भाग्ने प्रयास गरेकी म पक्राउ परें, मलाई ‘अदालतमा’ पुर्‍याइयो र सजाए स्वरुप ६ जना सुरक्षा गार्डले ममाथि बलात्कार गरे । तीन महिनासम्म नियमित ममाथि यौन उत्पीडन भइरह्यो ।

यो क्षेत्रमा चारैतिर आइएसका लडाकुको पहरा थियो । तीन महिनासम्म भाग्ने कुनै मौका नपाएकी म, यसपटक भने एकजना पुरुषले मलाई लुगा किनिदिने इच्छा व्यक्त गर्‍यो । शायद मलाई चिरिच्याँट्ट पारेर बेच्न चाहन्थ्यो ऊ । जसै ऊ पसलमा गयो म घरबाट भागें । म मोसुलका गल्लीहरुमा दौडिंदै एक मुस्लिम घरको ढोका ढकढकाउन पुगें । आफूमाथि भएको अत्याचार सुनाएपछि उनीहरुले मलाई लुकाएर कुर्दिस्तानसम्म पुग्न सहयोग गरे ।

शरणार्थी शिविरमा कसैले पनि ममाथि के भएको थियो भन्ने सोधनन् । म दुनियाँलाई ममाथि भएको अत्याचार सुनाउन चाहन्थें र त्यहाँ महिलामाथि के भइरहेको छ भन्ने बारे सबैलाई जानकारी दिन चाहन्थें । मसँग पासपोर्ट थिएन, नागरिकता पनि थिएन । म आफ्ना कागजात प्राप्तिका लागि कैयौं दिनसम्म इराकमै रहें ।
त्यसैबेला जर्मन सरकारले त्यहाँ रहेका एक हजार महिलालाई सहयोग गर्ने निर्णय गर्‍यो । त्यसपछि मेरो उपचारका क्रममा एउटा संस्थाले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफूमाथि भएको अत्याचार सुनाउन सुझाव दियो । म यो कथा सुनाउनका लागि विश्वको कुनै पनि देशमा जानका लागि तयार छु ।

बीबीसीबाट साभार (भावानुवाद)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com