स्वास्थ्य रहन व्यायाम

नारायण अधिकारी,
चितवन  माघ १२,

नारायणगढका प्रतिष्ठित व्यवसायी ६८ वर्षीय अमृतमान शाक्य हरेक दिन बिहान भरतपुरको कभर्डहलमा व्याडमिन्टन खेल्न हुन्छ । उहाँसँगै झण्डै एक सय ४० जना युवा, वयस्क र बृद्धहरु कडा व्यायमका साथ व्याडमिन्टन खेल्न व्यस्त देखिन्छन् । पूर्व खेलाडी समेत रहनु भएका शाक्यले सोही कभर्डहलमा नियमित खेल्नु भएको सात वर्ष भैसक्यो ।
मधुमेहको समस्या भएका शाक्य नियमित खेल पुनः थालेपछि त्यो समस्याबाट पनि मुक्त भएको बताउनुहुन्छ । बिहान ४ः३० बजेदेखि १० बजेसम्म कभर्डहलभित्रका चार वटा व्याडमिन्टन कोट खालि हुँदैनन् । एउटा कोर्टमा चार जना खेलाडी खेलमा व्यस्त देखिन्छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक हुँदै कार्यालय प्रमुखहरु र जिल्लास्थित उद्योगी व्यवसायी धेरैको बिहानीको समय कभर्डहलभित्र खेल खेल्न र व्यायाम गर्नमा बित्ने गर्दछ । चितवन जिल्ला ब्याडमिन्टन सङ्घका तृतीय उपाध्यक्ष समेत रहनुभएका भरतपुर उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत टीकाराम कँडेल १८ वर्षदेखि ६८ वर्षसम्मका युवा, वयस्क र बृद्ध कभर्डहलभित्र खेलमा रमाउने गरेको बताउनुहुन्छ ।

चितवनको भरतपुर मात्र होइन नवलपरासीको गैंडाकोट, पश्चिम चितवन र पूर्वी चितवन भेगबाट पनि व्याडमिन्टन खेल्न आउने गरेको कँडेलको भनाइ छ । नवलपरासीको गैंडाकोटको गैह्रीबाट दिनहुँ खेल्न आउनु हुने दया सापकोटा खेलले व्यायामसँगै साथीभाइसँग चिनजान बढाउने गरेको र शरीरलाई पनि फाइदा हुने गरेको बताउनुहुन्छ । सङ्घका सहसचिव नारायण ढकाल वार्षिक रुपमा प्रतिव्यक्ति चार हजार रुपैयाँ तिरेपछि कभर्डहलभित्र खेल खेल्न पाइने बताउनुहुन्छ । सङ्कलित पैसाले सरसफाइका अतिरिक्त जेनेरेटर सञ्चालन गर्न खर्च गरिने छ ।

आवश्यक अन्य पूर्वाधार र खेल सामग्रीका लागि पनि सो रकम खर्च गरिन्छ । एक समूहले ४५ मिनेट खेल खेल्ने गर्दछन् । खेल खेलिसक्दा शरीरबाट पसिना बगिसक्ने भरतपुरको हिलबर्ड बोर्डिङ स्कूलका सहायक प्राचार्य चेतन सेढाई बताउनुहुन्छ । उच्च रक्तचाप र तौल बढेसँगै दुई वर्ष अघिदेखि नियमित व्याडमिन्टन खेल्न सुरु गर्नुभएका सेढाईको अहिले रक्तचाप सामान्य भएको र तौल १० किलो घटेको छ । पन्ध्र वर्ष अघिदेखि यो कभर्डहल बिहानभर व्याडमिन्टन खेलका लागि भरिभराउ हुने गरेको छ । सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रसिंह पन्त राष्ट्रिय खेलका लागि कभर्डहल मर्मत सम्भार गरिएको बताउनुहुन्छ ।

तीन वर्ष अघि सो कभर्डहलमा पार्केटिङ समेत गरिएको थियो । युवा पिंढीलाई खेलतर्फ आकर्षण गर्न जति गर्नुपर्ने हो त्यति गरेको नपाइएपनि कभर्डहल उमेर पुगेकाहरुका लागि राम्रो व्यायामको स्थल बन्न पुगेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनियर मुकुन्दराज अधिकारी खानपान गडबड हुने हुँदा मुटुको समस्या बढ्न नदिन शारीरिक व्यायाम आवश्यक पर्ने बताउनुहुन्छ । यसका लागि खेल उपयुक्त हुने उहाँको अनुभव छ । अन्य जिल्लामा रहँदा पनि खेलमा रुचि राख्ने गरेको बताउने उहाँ चितवन आएपछि खेल्न दैनिक रुपमा कभर्डहलमा आउनुहुन्छ ।

सङ्घका द्वितीय उपाध्यक्ष भरत मल्ल जिल्लामा खेलको विकासका लागि थप तीन चार वटा कभर्डहल आवश्यक रहेको बताउनुहुन्छ । खेलले शरीरमा फूर्ति ल्याउने र निरोगी हुने हुँदा पाको उमेरसम्म खेल्नका लागि थप कभर्डहल बनाउनपर्ने उहाँको सुझाव छ । सङ्घकै पहलमा नारायणगढको बालकुमारी उच्च मावि नजिकै तरकारी मण्डी भएको ठाउँमा थप कभर्डहल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । चिकित्सकहरुले पनि नियमित व्यायाम गर्न सुझाव दिंदै आएका छन् ।

भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी नियमित खेलिने खेलले स्नायु प्रणाली, रक्तसञ्चार प्रणाली र मासंपेशीमा एकैसाथ व्यायाम हुने बताउनुहुन्छ । यसरी खेल्दा शरीरमा खराब कोलेस्टर जम्मा हुन नदिने, रगतको चाल व्यवस्थित हुने हुँदा उच्चरक्तचाप, मधुमेह र युरिक एसिडको समस्या नआउने अधिकारी बताउनुहुन्छ । त्यसका अतिरिक्त मानिसको पेट बढेपछि हुने धेरै समस्या यसले निराकरण गर्ने उहाँको भनाइ छ । नियमित खेल खेल्नेहरुको पेट बढ्दैन । यसका साथै मानसिक रुपमा पनि मानिस स्फूर्तिलो हुने हुँदा रोगको समस्या कम हुने अधिकारीको अनुभव छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com