महिलाले सञ्चालनमा ल्याएका ‘सामुदायिक सूचना केन्द्र’ प्रभावकारी

रत्ननगर (चितवन), माघ १५ ,

 चितवनको माडी उपत्यकामा महिलाले सञ्चालनमा ल्याएको सहुलियतको ‘सामुदायिक सूचना केन्द्र’ प्रभावकारी देखिएको छ।

सबै सेवा एकै ठाउँमा पाएपछि अहिले सूचना केन्द्रमा गाउँगाउँबाट उपभोक्ता प्रविधिको प्रयोग गर्न आउने गरेका छन्। केन्द्रमा अघिल्लो वर्षभन्दा ग्राहक बढेकाले आम्दानीसमेत बढ्दै गएको छ। 

घरनजिकै सूचना केन्द्र स्थापना भएपछि स्थानीय गाउँलेले सहज भएको बताएका छन्। अन्य क्षेत्रको भन्दा सस्तो भएकाले विदेशमा रहेका आफन्तसँग हेरेरै कुरा गर्नेदेखि फोटोकपी तथा फ्याक्स पठाउनसमेत निकै सजिलो भएको स्थानीयवासी गङ्गा भण्डारीले बताइन्। 

सूचना केन्द्र नहुँदा गाउँले टाढाटाढासम्म धाउनुपर्ने अवस्था थियो तर अहिले भने यहाँको सूचना केन्द्रमा प्रविधिको प्रयोगसमेत बढ्दै गएको छ। जसले सूचना केन्द्रको आम्दानीमा समेत वृद्धि भएको केन्द्रकी सञ्चालक इन्दिरा विकले बताइन्। गाउँको विपन्न महिलाले चलाएको समन्वय महिला कृषि सहकारी संस्थामार्फत सूचना केन्द्र सञ्चालित छ। 

कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सक्षम कार्यक्रममार्फत विपन्न महिलालाई समूहबाट सहकारीमा आबद्ध गराएको थियो। अहिले सहकारीले नमुना काम गर्दै आएको स्थानीयवासी श्रीप्रसाद दवाडीले बताए। एकातर्फ महिलाको सहकारीले विपन्न महिलालाई कृषि उद्यमी बनाएको छ भने अर्कातर्फ सूचना केन्द्र सञ्चालन गरेर स्थानीयवासीलाई सेवासँगै आयआर्जनको अवसर दिएको छ। 

मुख्यगरी उक्त सहकारीलाई गएको वर्ष सूचना केन्द्र सञ्चालनका लागि सञ्चार मन्त्रालयबाट रु १० लाख ५४ हजार आएको थियो। जिविस चितवनबाट रु एक लाख सात हजार, केयर नेपालको ३५ हजार तथा अन्य रकम सहकारीको गरी १३ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको सहकारीकी अध्यक्ष इन्दिरा विकले बताइन्। 

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ९८ हजार कमाइ भएको सूचना केन्द्रमा यो आर्थिक वर्षको ६ महिनामा रु एक लाख ३२ हजार आम्दानी भइसकेको छ। यहाँ फोन, फ्याक्स, फोटोकपी, लेमिनेसनसँगै भिडियो कल, स्क्यानिङलगायतका सेवा सुहलियत दरमा छ। रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com