अझै सुधार हुन सकेन छाउपडी प्रथा

चैनपुर माघ १२,

बझाङका केही गाउँमा महिनावारी भएका बेला बस्नेघर छाउगोठ भत्काइए पनि समाजबाट अझै छाउपडी प्रथामा सुधार हुन सकेको छैन । सदरमुकाम चैनपुरमा बस्ने शिक्षित हुन् वा गाउँघरमा बस्ने सर्वसाधारण महिला प्रायः सबैले छाउपडी प्रथा मान्छन् ।

 हालसम्म छाउपडी प्रथामा सुधार हुन नसक्नुको कारण यहाँ देवीदेवतालाई लिने गरिन्छ । विदेशी दातृ निकायको सहयोगमा एनजीओ आईएनजीओहरूले छाउपडी प्रथा हटाउन करोडौं खर्च गरे पनि उपलब्धी भने खासै देखिएको छैन ।


‘छाउपडी सम्बन्धीका तालिम र बैठकमा त कति बसियो कति’, माझीगाउँकी दुदा रोकायाले भनिन्, ‘छाउगोठ भत्काएर मात्र भएन मनभित्र देवता रिसाउने डर यथावत नै छ ।’

गाउँ घरमा अझै दुःखसुख पर्दा देवताका धामीलाई बोलाउने प्रचलन छ । ‘हाम्रा लागि त सरकारभन्दा देवीदेवताले नै न्याय दिन्छन्’, सुनिकोटकी पार्वती कुँवरले सुनाइन्, ‘त्यसैले हामी पनि देवताले भनेको मान्नै पर्‍यो । जहाँसम्म गाउँघर दुरदराजमा देवीदेवता रहन्छन् त्यहाँसम्म छाउपडी प्रथा रही रहने छ ।’

बझाङमा महिनावारी भएका बेला महिलाहरू पाँच दिनसम्म घरभित्र बस्दैनन् । गाईभैंसीलाई छुँदैनन्। दही दूध पनि खाँदैनन् । किशोरीहरू भने ११ दिनपछि नुहाईधुवाई गरी गाईको गौत खाएर चोखिएपछि घरभित्र जाने प्रचलन छ ।

‘पहाड खानु पूजी, मधेस खानु बुझी, भन्ने उखान गाउँमा अझै प्रचलनमा छ’, सुवेडाका पूर्व प्रअ मदनराज जोशीले भने, ‘हाम्रो हिन्दु संस्कार सभ्यतामा रजश्वला अछुत मानिन्छ ।

छाउगोठ छोडेर घरमा बस्न सकिन्छ तर देवीदेवतालाई उपेक्षा गर्न सकिँदैन । यी परिवारको सम्वृद्धिसँगै सुधार भएर जाने कुरा हुन्’, जोशीले भने । छाउपडी प्रथा, लैंगिक समानताका नाममा विदेशी रकम यहाँ अनावश्यक खर्च भएको उनको बुझाइ छ ।

बझाङको छान्ना क्षेत्रमा महिनावारी भएका महिला बस्ने छाउगोठ बढी देखिए पनि तल्कोट, छबिस, नौबिस, थलारा बुङगोल क्षेत्रमा भने कोही महिला घरमा बस्छन् । कतिपय गाउँमा साझाघर बनाएर महिनावारी भएका महिला बस्ने गर्दछन् ।

‘छाउपडी प्रथा सुधारका लागि धेरै प्रयास भए’, महिला विकास कार्यालयकी प्रमुख लीला घलेले भनिन्, ‘तर खासै उपलब्धी नदेखिनुमा गरिबी साथै धर्म संस्कारले पनि असर पारेको छ । सामाजिक कुसंस्कार रुढीबाद हटाउन राज्यले अब व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्नुपर्छ ।’_annapurn;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com