भोली पहिलो राष्ट्रिय योग दिवस

yoga-up-down

काठमाडौँ पुस ३०,

सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेपछि यस क्षेत्रमा क्रियाशील व्यक्तित्वले नेपालमा योग पर्यटन प्रवर्दन गरिनुपर्ने माग गरेका छन् ।

सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको संयोजनमा कार्यक्रमको तयारी भएको छ । मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।  सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियन्ताले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद् मा प्रस्ताव गरेका थिए ।

“योगको सुरुवात शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत् खण्डमा यसको चर्चा छ”–योग दिवसका अभियन्ता डा पोखरेलले भने ।

स्वास्थ्य मन्त्रालयले योग प्रवद्र्धनका लागि आयुर्वेद विभागमार्फत् १२ जिल्लामा सरकारी तवरबाटै योग हल निर्माणको काम अगाडि बढाएको छ । धनकुटा, नुवाकोट, धादिङ, मकवानपुर, रुपन्देही, चितवन, गुल्मी, स्याङ्जा, तनहुँ, कास्की, दाङ र कन्चनपुर गरी १२ जिल्लामा हल निर्माण सुरु भएको वरिष्ठ कविराज निरीक्षक गोविन्द ढकालले बताए ।

“योग आयुर्वेदको अभिन्न अङ्ग हो, आयुर्वेद नेपालको पहिलो चिकित्सा पद्धति हो, प्रताप मल्लका पालामा ३६६ वर्षअघि नेपालमा आयुर्वेदिक पद्धतिबाट औषधि उत्पादन, उपचार र बिक्री वितरण गर्ने उद्देश्यले सिंहदरबार वैद्यखाना विकास समितिको स्थापना भएको थियो”–निरीक्षक ढकालले भने ।

हल निर्माणका लागि विभागले प्रत्येक जिल्लामा पहिलो चरणमा रु सात लाख ६० हजार निकासा गरेको छ । निर्माण सम्पन्न भएपछि योग अभ्यास सुरु गराउने विभागले जनाएको छ । यसका लागि ७५ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, इलाकास्तरमा फैलिएका ३०१ आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक, स्वास्थ्य प्राविधिक, कविराज र वैद्यलाई योगसम्बन्धी तालिम दिन सुरु गरिएको पनि उनले बताए ।

आयुर्वेदलाई योगसँग जोड्न २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । २०५८ सालदेखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको विभागकी महानिर्देशक डा देवकला भण्डारी बताउछिन् ।
“स्वास्थ्य रक्षा, स्वास्थ्य प्रवद्र्धन र रोग निवारणका लागि आयुर्वेदमा दैव व्यपाश्रय, सत्वावजय र युक्ति व्यपाश्रय गरी तीनवटा विधिको व्यवस्था गरिएको छ, दैवी शक्ति वा प्राकृतिक शक्तिका नाममा नित्य ईश्वर सम्झने प्रक्रिया दैव व्यपाश्रय, मनलाई जित्नका लागि योग, ध्यान आदि साधनाको अभ्यास गर्नु सत्वावजय र जुक्ति लगाएर प्रत्यक्ष, अनुमान र मान्यजनको आदेशमा दर्शन, स्पर्शन र प्रश्न विधिद्वारा शरीर सन्तुलनमा राख्न गरिने उपचार पद्धति युक्ति व्यपाश्रय हो”–उनले भनिन् ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एशोसियसन नेपालका अध्यक्ष क्षीतिज बराकोटीको विश्वास छ ।

हाल नेपालमा योग विज्ञानमा स्नातकोत्तर गरेका जनशक्तिको सङ्ख्या २० पुगेको एशोसिएसनले जनाएको छ । डा राजु अधिकारी, डा चिन्तामणि गौतम, डा पवमान सुवेदी र डा दीपक आचार्यले योग विज्ञानमा विद्यावारिधि गरेका छन् । बराकोटी पनि नेपाल संस्कृत विश्वविद्यालयबाट ‘मानसिक स्वास्थ्यको विकासमा योग र पञ्चमहाभूत चिकित्साको प्रभाव’ विषयमा विद्यावारिधिरत गरेका छन् ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा एकवर्षे शिक्षा शास्त्री (एक वर्षे बीएड) सरहको अध्ययन अध्यापन यसै वर्षदेखि सुरु गरिन लागेकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउछन् ।

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखेपनि यस विषयमा स्नातक गरेका जनशक्तिको अभाव भएपछि अहिलेसम्म पठनपाठन हुन नसकेकाले एक वर्षे शिक्षा शास्त्री कार्यक्रम ल्याइएको हो ।

पहिलो राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा १२७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शिक्षासचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा कार्यक्रम उपसमिति, पतञ्जलि योग पीठका अध्यक्ष इन्जिनियर शालिकराम सिंहको संयोजकत्वमा सामग्री निर्माण उपसमिति, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरको संयोजकत्वमा प्रभातफेरी उपसमिति र डा पोखरेलको संयोजकत्वमा प्रचारप्रसार र अन्तरक्रिया उपसमिति गठन गरिएको मन्त्रालयका उपसचिव बोधराज निरौलाले जानकारी दिए ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।
“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो । यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”–डा पोखरेलले भने ।

योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ ।

नेपालभर योग सिकाउने ६०० संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । नेपालमा योग शिक्षा लिई विदेश गएका जनशक्तिले मासिक रु एक लाखदेखि चार लाखसम्म प्रशिक्षण दिएरै कमाइरहेका छन् । विदेशमा श्रमिक निर्यात गर्नुभन्दा यस्ता विषयमा दक्ष बनाएर पठाउन सके नेपालको विश्वव्यापी पहिचान हुने डा पोखरेल बताउछन् ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यस दिन बिहान प्रभातफेरी दिउँसो योग, ध्यान साधनाका विषयमा अन्तरक्रिया गरी मनाइने आयोजक समितिले जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com