कुनै समय संसारमा महिलाहरुको राज थियो

आदिमकाल, जसलाई हामी ‘जंगलीयुग’ पनि भन्छौं । त्यो बेला मानिसहरुबीच पनि कुनै भेदभाव थिएन । धनी, गरिब, भन्ने कोही थिएनन् । उच्च जात र तल्लो जात भन्ने थिएन भने नारी–पुरुषबीच कुनै विभेद पनि थिएन । त्यतिबेला व्यक्तिगत सम्पत्तिको ‘जन्म’ भइसकेको थिएन । न निजी जमिन थियो, न त घर नै । न पैसा न गहना, न त कुनै सम्पत्ति 

त्यसबेला मानिसहरुलको जीवन भनेको घुमन्ते जीवन थियो । जंगल–जंगलमा नै उनीहरुको जीवन बित्थ्यो । घाम, बतास, पानी आदिबाट जोगिन ओडार पाए ओडारमा नपाए रुखको फेदमै बास बस्ने गर्थे । जंगलमा पाएका फलफूल, कन्दमूल जनावरको मासु खाएर नै उनीहरु जीवन धान्थे । फलफूल, कन्दमूल शिकार खोज्न समूहका पुरुष तथा महिलाहरु सबै एकसाथ जान्थे । सबैले खोजेर ल्याएका खानेकुराहरु एक ठाउँमा राख्थे । ती खानेकुरा सबै एक आपसमा बाँडेर खान्थे ।


त्यसैले त्यतिबेला सम्पत्तिमाथि कसको प्रभुत्व रहने भन्ने कुरा पनि थिएन । सबै मानिसहरु समान थिए । बिहेबारीको चलन पनि थिएन । समूहमा भएका लोग्नेमानिस सबै स्वास्नीमानिसहरुका साझा लोग्ने हुन्थे भने सबै महिलाहरु सबै लोग्नेमान्छेका स्वास्नी हुन्थे । त्यसले गर्दा आफ्नो छोराछोरी को हुन् भन्ने कुरा बाबुलाई थाहा हुँदैनथ्यो । छोराछोरीलाई पनि आफ्ना बाबु को हो भन्ने थाहा हुँदैनथ्यो । आमाले मात्र आफ्नो छोराछोरीलाई चिन्ने गर्दथे । छोराछोरीहरुले पनि आमालाई मात्र चिन्दथे ।

सन्तानको चिनारी आमाबाट हुन्थ्यो । योक्रम महाभारतकालसम्म पनि देख्न सकिन्छ । जस्तो कुन्तीपुत्र, गान्धारीपुत्र, द्रौपदीपुत्र आदि भनेर महाभारतका पुत्रहरुलाई सम्बोधन गरिनु त्यसै कुराको उदाहरण हो । यसरी काममा पनि नारीहरु पुरुष सरह नै खटिने र सन्तान पनि आमाद्धारा मात्रै चिनिने भएकाले आदिमकालमा छोरा–छोरी, नाति–नातिनी, पनाति–पनातिनी आदिबाट आमाहरुले नै सम्मान पाउँथे ।

त्यतिबेला समूहमा सबैभन्दा बढी सन्तान भएको महिलालाई समूहको नेता मान्ने चलन थियो । उनै नेताको आज्ञालाई सबैले पालना गर्नु पर्दथ्यो । उनी नै त्यस समूहको हर्ताकर्ता हुन्थिन् । समूहमा खाद्यान्न वितरण गर्ने, दन्ड दिने, पुरस्कार दिने, युद्धको निर्णय गर्ने, कामको बाँडफाँड गर्ने आदि काम उनैबाट हुन्थ्यो ।

त्यतिबेला अहिले देखिने थरिथरीका धर्मको ‘जन्म’ पनि भइसकेको थिएन । त्यस्तै राजा र राज्यको पनि जन्म भइसकेको थिएन । त्यसैले त्यतिबेला धर्मले उब्जाएको आजको जस्ता महिलाहरुले लोग्नेलाई देवता मान्नुपर्ने, विधुवा विवाह गर्दा पाप लाग्ने चलन पनि थिएन । अनि, राज्यको कानुन पनि थिएन । त्यसैले त्यतिबेला महिलाहरु न धर्मको नीति–नियमबाट बाँचिएका थिए न त कानुनको बन्धनमै थिए ।


यस प्रकार आदिमकालमा महिलाहरु कसैको बन्धन तथा शोषण, उत्पीडनमा परेका थिएनन् । उनीहरु स्वतन्त्रतापूर्वक आफनो विवेक लगाएर स्वनीर्णय गर्नसक्थे । आपतको बेलामा आफैं पनि युद्धमा खट्ने गर्दथे । देवता र दैत्य अदितीका सन्तान र दैत्य दितीका सन्तानको रुपमा लिने गरिएको छ । यसरी आदिमकाल मातृसत्तात्मक अथवा महिलाको अधिकार सम्पन्न समाज थियो । तर, यसो भन्दैमा अहिलेको पुरुषप्रधान समाजमा महिलाहरु शोषित–पीडित भएजस्तै त्यतिबेला पुरुषहरु शोषित–पीडित भने थिएनन् । उनीहरु पनि सम्मानपूर्वक नै जीउन पाउँथे । यो मातृसत्तात्मक समाजको चलन ‘कबिला’ समाजको सुरुसम्म थियो ।

कबिला समाज भन्नाले स्थायी बसोबास भएको समाज मानिन्छ । कबिला समाजको स्थिति फेरिँदै गएपछि सम्पत्तिमाथि पुरुषको हैकम चल्नथाल्यो । यसको साथ–साथै महिलाहरु पनि पुरुषको सम्पत्ति बन्न थाले र महिलाहरुको स्वतन्त्रता हराउँदै गयो । यसरी कुनै समय संसारमा महिलाहरुको राज थियो । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com