न्युयोर्कको संचार माध्यम द्वारा महिलाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

न्यूयोर्क पुस २१,

सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । 

विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अमेरिकामा बसोबास गर्दै आएकी नेपाली मूलकी प्राशा तुलाधरको फोक्सो प्रत्यारोपणका लागि झण्डै दुई सय दाताहरुबाट संकलित रकम र प्रकाशनको तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप गरी २४ हजार १ सय ७० अमेरिकी डलर बिरामी प्राशा तुलाधरकी आमा शकुन्तला तुलाधरलाई एकमुष्ट हस्तान्तरण गरेको छ । 

सहयोग रकम प्रमुख अतिथि राजदूत डा. कार्की, विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगाना तथा प्रधानसम्पादक विजय पौडेलले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । स्थानीय ओम शक्ति मन्दिरमा विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीलगायत ठूलो संख्यामा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित केहि बुद्धिजीवी ,बिभिन्न पेसामा संलग्न व्यक्तिहरु ,संघ तथा संस्थाका प्रतिनिधि तथा शुभ चिन्तकहरुले विश्व सन्देश साप्ताहिक ९ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै प्रकाशनले प्राशा तुलाधरको सहयोगका लागि अभियानको नेतृत्व गरेकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली महावाणिज्य दूत नारायणप्रसाद मैनालीले विश्वसन्देशको सफलताका लागि शुभकामना व्यक्त गर्दै प्रवासमा पत्रकारिताबारे चर्चा गरेका थिए । प्रमुख अतिथि राजदूत डा. अर्जुनकुमार कार्कीले केक काट्दै उद्घाटन गरिएको कार्यक्रममा विश्वसन्देश साप्ताहिकले प्रवासमा हप्तैपिच्छे पत्रिका प्रकाशन गरेर नेपाली भाषा, साहित्य र सूचनामा दिएको योगदानको प्रशंसा गरेका थिए । साथै, राजदूत डा. कार्कीले फोक्सो प्रत्यारोपणको प्रतीक्षामा रहेकी नेपाली मूलकी प्राशा तुलाधरका लागि विश्व सन्देश साप्ताहिकले सहयोग जुटाउन खेलेको भूमिका प्रवासमा उदाहरणीय भएको बताए ।

गत जनवरी ३ तारिख आइतबार सम्पन्न वार्षिकोत्सवमा विश्वसन्देशका प्रधानसम्पादक विजय पौडेलले प्रवासमा सामुदायिक पत्रकारिताका दुःखसुख र आरोह–अवरोहका बारेमा चर्चा गरेका थिए । उनले प्राशा तुलाधरको सहयोग संकलन अभियानका बारेमा प्रकाश पार्दै दाताहरुबाट संकलित रकममा विश्वसन्देश साप्ताहिकका तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप्ने घोषणा गरेका थिए । 

कार्यक्रममा कोलम्बिया अस्पतालमा उपचारार्थ प्राशा तुलाधरलाई स्काइप प्रविधिमार्फत प्रोजेक्टरमा जोडिएको थियो । साथै, विश्वसन्देशको परोपकारी पत्रकारिताको विगत र प्राशा तुलाधर अभियानलाई समेट्दै आइलाइन क्रियशनसम्बद्ध प्रशान एलुङ राईद्वारा तयार पारिएको ५ मिनेटको श्रव्यदृश्य सामग्री प्रशारण गरिएको थियो । 
साथै, विश्वसन्देशले आठ वर्ष पार गरेको अवसरमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com