
भीमदत्तनगर, १ माघ ,
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
थारु समुदायको प्रमुख चाड ‘माघी पर्व’ को मनोरञ्जनलाई समेटेर तयार पारिएको यो गीतको बोल झँै यतिखेर कैलाली कञ्चनपुरका थारु बस्ती माघीको रौनकमा छपक्कै छोपिएका छन् ।
मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म छरिएर रहेका थारु समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन् । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानी पिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् ।
माघीमा यसरी संस्कृतीको संरक्षण गर्दै आएका थारु समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माण समेत गर्ने अवसरका रुपमा लिने गरेका छन् ।
थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने थारु पत्रकार धनबहादुर कुस्मी बताउनुहुन्छ । माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको पत्रकार कुस्मीले बताउनुभयो ।
त्यस रात थारु समुदाय मासु, जाँड र ढिँकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन् ।
माघीको पहिलो दिन झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने चलन रहेको थारु समुदायका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ का बिक्रम चौधरीले बताउनुभयो ।
उहाँले पिपलाडी, लक्ष्मीपुर, जोनापुर गाउँमा माघीको दिन थारु महिला समूहको नाचगानको कार्यक्रम रहेको जानकारी समेत दिनुभयो । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने विश्वास रहेको समेत चौधरीको भनाइ छ ।
कञ्चनपुरका पिपलाडी, जोनपुर, बैबाहा, दैजी, कसरौल, चान्देउ, सडकघाट, कलकत्तालगायतका दर्जन भन्दा बढी थारु बस्तीमा माघीको रौनक छाएको थारु अगुवाले जानकारी दिनुभयो ।
त्यसैगरी, बेलौरी नगरपालिकाको कलकत्ता गाउँमा पनि थारु समुदायमा माघी विशेष विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भइरहेको स्थानीय किरन चौधरीले जानकारी दिनुभयो । उहाँले हरेक घरपरिवारमा अहिले विभिन्न खानाका परिकारका साथै माघीको दिनको सबै तयारीमा स्थानीयवासी जुटिरहेको बताउनुभयो । रासस