बाबियाचौर(म्याग्दी), २ माघ ,
म्याग्दीको घार गाविस–१ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका बासिन्दाले पर्यटकलाई पानी बेचेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् ।
घोडेपानी क्षेत्रको भम्रणमा आउने पर्यटक र स्थानीयवासीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रशोधन गरिएको खानेपानी बिक्री गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो ।
घोडेपानी स्वास्थ्य तथा समाज सुधार समितिद्वारा सञ्चालित ‘कम्युनिटी सेफ ड्रिङकिङ वाटर’मार्फत हुने आम्दानी स्वास्थ्य केन्द्रमा कार्यरत अहेवको तलब भत्ता, औषधि खरिदलगायतको क्षेत्रमा खर्च गरिँदै आएको समितिका कोषाध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।
मेसिनमार्फत प्रशोधन गरिएको पानीलाई प्रतिलिटर रु ६० मा बेच्ने गरिएको छ । पानी बिक्रीबाट आएको आम्दानीबाटै स्वास्थ्यकर्मीका लागि मासिक रु १७ हजार तलब, भत्ता उपलब्ध गराउँदै आएको कोषाध्यक्ष पुनले बताउनुभयो ।
सामुदायिक स्वास्थ्य केन्द्रका लागि घोडेपानीका स्थानीयवासीकै करिब रु १० लाख लगानीमा २०६४ सालमा पाँच कोठे भवन निर्माण गरिएको थियो ।
स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि भ्रमणमा आउने पर्यटकमा अचानक हुने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न सहज भएको छ ।
केन्द्रबाट मासिक ६० देखि १०० जनाले स्वास्थ्य सेवा लिने गरेका छन् । पर्यटक, स्थानीय बासिन्दा, पर्यटक मजदुर केन्द्रबाट लाभान्वित भएका छन् । केन्द्रमा परामर्श, औषधि वितरण र स्वास्थ्य परीक्षणलगायतको सेवा दिने गरिएको अहेव बिनु थापाले बताउनुभयो ।
सरकारी स्वास्थ्य चौकीबाट सरकारले निःशुल्क वितरण गर्ने औषधिसमेत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
यसैगरी भिटामिन, पोलियो र परिवार नियोजनसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको छ । झाडापखला, रुघाखोकी र दाँतसम्बन्धी समस्या भएका बिरामी धेरै आउने गरेका अहेव थापाले बताउनुभयो । रासस ;