म सुरुदेखि नै लखेटिएकी थिएँः आयुक्त गुरुङ

शरद अधिकारी काठमाडौं, पुस २२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा (गुरुङ)ले नियुक्तीसँगै आफूलाई लेखेट्ने क्रम सुरु भएको र यो क्रम अझै जारी रहेको बताएकी छन् । आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले बुुधबार आयुक्त गुरुङले सम्हाल्दै आएका विभिन्न जिम्मेवारी खोसेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

प्रमुख आयुक्तबाट जिम्मेवारी खोसिएपछि सेतोपाटीसँग गुरुङले भनिन्, ‘आयोगका आयुक्तहरुलाई प्रमुख आयुक्तहरुलाई जिम्मेवारी बाडफाँडको क्रममा मलाई पनि केही जिम्मेवारी दिइएको छ। तर ती जिम्मेवारीबाट मलाई हटाइएको मैले पनि सुनें। तर मलाई जिम्मेवारीबाट हटाइएको औपचारिक जानकारी मैले पाएको छैन।’

आयोगका विभिन्न आयुक्तहरुलाई प्रमुख आयुक्तले विभिन्न मन्त्रालय तथा विभागका गतिविधि र आयोगमा परेका उजुरी हेर्न जिम्मेवारी तोक्ने गरेका छन्। प्रमुख आयुक्त कार्कीले बुधबार आयुक्त गुरुङलाई हेर्न तोकिएका मन्त्रालय हेर्ने जिम्मेवारीबाट मुक्त गरेका छन्।

उनलाई परराष्ट्र, सिँचाई, भौतिक योजना तथा पूर्वाधार, बाणिज्य, आपूर्ति र उद्योग मन्त्रालय लगायत मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रका सरकारी कार्यालयको प्रारम्भिक अध्ययन गर्ने जिम्मेवारी तोकिएको थियो। उनलाई जिम्मेवारीबाट हटाइएको समाचारप्रति आश्चर्य व्यक्त गर्दै गुरुङले भनिन्, ‘म आयोगको आयुक्त भएदेखि नै मलाई लखेट्ने काम भएको हो। अहिले आएका कुरा पनि त्यसैको एउटा सिलसिलामात्र हो।’ उनले आयोगमा काम गर्ने वातावरण नभएको पनि बताइन्।

 आयोगमा गुरुङसहित ५ आयुक्त २०७१ चैत १९ गते नियुक्त भएका थिए। उनी आयुक्तमा नियुक्त हुनु अघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा आवेदन दिएकी थिइन्। प्राध्यापक हुने आशाले गर्दा उनले सहप्राध्यापक पदमै एक बर्षको बेतलवी विदा स्वीकृत गराएकी थिइन्।

गुरुङबारे सर्वोच्च अदालत लगायत विभिन्न पत्रपत्रिकामा नैतिक तथा कानुनी प्रश्न उठेपछि आयोगका प्रमुख आयुक्तले वुधबार उनले सम्हाल्दै आएको जिम्मेवारीबाट हटाएका थिए। आयोगको आयुक्तमा नियुक्त भए यता पनि गुरूङले त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा नगरी दोहोरो सुविधा लिएको आरोप लगाउँदै एक कानुन व्यवसायीले सर्वोच्चमा मुद्धा हालेका थिए।

दोहोरा सुविधा लिएकोबारे सोधिएको प्रश्नमा गुरुङले भनिन्, ‘मैले मेरो नियुक्ती विरुद्ध मुद्दा हालिएकोबारे मलाई कहींकतैबाट केही जानकारी प्राप्त भएको छैन । केवल पत्रपत्रिकाबाट पढेकोमात्र हो । यो सन्दर्भमा चर्चा चल्नु अघि नै मैले त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा गरिसकेको छु । विश्वविद्यालयले मेरो राजीनामा स्वीकृत गरिसकेको छ ।

यसअघि पनि अख्तियार लगायतका संवैधानिक आयोगमा आफू कार्यरत संस्थामा पद कायम राख्दै नियुक्ती लिने र काजमा जाने गरेको आधारमा आफूले पनि त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदलाई कायम राख्दै वेतलवी विदा स्वीकृत गराएर आयुक्तको पदमा नियुक्ती लिएको उनले बताइन्। _ सेतो पाटीबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com