स्वास्थ्यकर्मीको अभावमा उपचार प्रभावित

जाजरकोट, २२ पुस ,

यहाँको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा रिक्त रहेको दरबन्दी लामो समयदेखि पूरा हुन नसक्दा उपचार सेवा प्रभावित भएको छ ।

विसं २०५७ मा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा एक मेडिकल अधिकृतको दरबन्दी भए पनि स्थापनाकालदेखि नै चिकित्सक पुग्न सकेका छैनन् । एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, तीन अनमीसहितको दरबन्दी पनि लामो समयदेखि रिक्त छ ।

दुई कार्यालय सहायकको दरबन्दी भए पनि हाल एकजनाको पनि पदपूर्ति हुन नसक्दा कार्यालयको सरसफाइ र अन्य प्रत्यक्ष प्रभावित बनेको केन्द्रका निमित्त प्रमुख अहेव बलबहादुर शाहीले बताए । “सहयोगीदेखि कार्यालय प्रमुख र उपचारको काम सबै आफैँले गर्नुपर्छ ।” उनले भने ।

उक्त संस्थामा दुई अहेब, एक अनमी र एकजना ल्याब असिस्टेन्ट मात्र कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दरबन्दीअनुसारको पदपूर्तिका लागि सम्बन्धित निकायमा माग गरिएको निमित्त स्वास्थ्य प्रमुख डा राजेन्द्र जिसीले बताए ।

अहिले जिल्लामा चिकित्सकदेखि कार्यालय सहयोगीसमेत गरी ८९ कर्मचारीको दरबन्दी खाली छ । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com