NRN ले १ करोड २५ लाख रुपैयाँको जीवनरक्षक औषधि हस्तान्तरण गर्यो

काठमाण्डौ मङ्सिर १८,

नाकाबन्दीका कारण नेपालका अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले सरकारलाई करिव १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ ।

स्वास्थ्य सेवा बिभाग टेकुमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मक्सुद आलमलाई औषधि हस्तान्तरण गर्नुभयो । 

संघले पहिलो चरणमा गत मंसिर ८ गते ३८ लाख मूल्य बराबरको औषधि हस्तान्तरण गरेको थियो । त्यसैगरी जनकपुर, बीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयाँको औषधि हस्तान्तरण गरिएको छ । मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।

यसैगरी आज संघले ५० लाख १८ हजार रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको छ । संघले खरिद गरेको करिव १२ लाख रुपैयाँ बराबरको औषधि बंगलादेशबाट आगामी साता काठमाण्डौ आइपुग्नेछ । तत्पश्चात सो औषधि संघले सिधै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । यी सवै चरणमा गरी संघले सरकारलाई कुल १ करोड २५ लाख रुपैयाँको औषधि हस्तान्तरतण गरेको संघका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो ।

बिभिन्न दातृ निकायबाट पनि अत्याबश्यक औषधिहरु आउन लागेको भन्ने सूचनाका आधारमा संघले सरकारलाई थप कति औषधि आबश्यक पर्ने हो भनी जानकारी मागेको जानकारी दिँदै अध्यक्ष घलेले थप औषधि जरुरी भए संघले पुनः सहयोग बढाउने बताउनुभयो ।

संघले दिएको औषधि काठमाण्डौ तथा काठमाण्डौ बाहिरका क्षेत्रीय अस्पतालहरुलाई करिव ६ हप्ताका लागि पुग्ने अनुमान गरिएको छ । सरकार र सम्बन्धित अस्पतालहरुले दिएको सूचीअनुसार बिशेषज्ञ चिकित्सकसमेतको सहभागीतामा यी औषधि खरिद गरी सरकारलाई दिइएको हो ।

‘नेपालीका लागि नेपाली’ भन्ने हाम्रो मूल मन्त्रलाई आत्मसाथ गर्दै मातृभूमीलाई परेको बिपतको बेला साथ दिने हाम्रो कोसिस हो ।’ संघका अध्यक्ष शेष घलेले भन्नुभयो-‘यस्तो बिपतमा हामी हिजो पनि चुप लागेर बसेनौं, आज पनि बसेनौं र भोलीका दिनमा आइपर्ने कुनै पनि अप्ठेरो परिस्थीतिमा संसारभरका गैरआवासीय नेपालीहरु नेपाली दाजुभाई दिदीबहिनीको साथमा रहनेछन् ।’

कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री मक्सुद आलमले नेपालमा परेको विपत्तिमा साथ दिने गैरआवासीय नेपालीको कदमप्रति आभार प्रकट गर्नुभयो । उहाँले एनआरएनबाट प्राप्त औषधि चाँडोभन्दा चाँडो बिरामीसमक्ष पुर्‍याउने र कुनै पनि जिल्लामा औषधि अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

गैरआवासीय नेपाली संघको पछिल्लो वैठकले नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्दै नेपालमा उत्पन्न मानवीय संकट समाधानका लागि औषधि र अत्याबश्यक सामाग्री सहयोग गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार बिभिन्न देशमा गैरआवासीय नेपाली संघको अगुवाईमा बिरोध प्रर्दशन कार्यक्रमहरु भइरहेका छन् भने ‘नेपाल होप्स’ शिर्षकमा ‘हामीलाई जस्तो तिमिलाई नपरोस्’ भन्ने सन्देशसहित नेपालको मानवीय संकटलाई झल्काउने गरी अभियान समेत थालिएको छ ।

संघले औषधि खरिदका लागि सहयोग गर्न आह्वान गरेअनुरुप अध्यक्ष शेष घले र पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले एक करोड रुपैयाँ सहयोग गरेको थियो भने बिभिन्न देशमा गैरआवासीय नेपालीहरुले रकम संकलन अभियान चलाइरहेका छन् । अहिलेसम्म करिव डेढ करोड रुपैयाँभन्दा बढि रकम संकलन भइसकेको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com