देश परदेशमा किराँतीहरु उधौली साकेला मनाउदै

काठमाण्डौ पुस १०, 

देश विदेशमा रहेका किराँतीले रमझमका साथ उधौली मनाउन सुरु गरेका छन् । नयाँ अन्नबाली पाकेपछि पितृपूजा गर्दै हरेक वर्ष मंसिर पूणिर्मा तिथिबाट यो चाड मनाउन सुरु गरिन्छ । 

धान, कोदो, अदुवालगायतका बालीलाई घर-घरमा पितृको नाममा चढाउने र सार्वजनिक स्थलमा भेला भएर प्रकृतिलाई धन्यवाद ज्ञापन गर्दै नाच प्रदर्शन गर्दछन् । त्यसैअनुसार यो वर्षको उधौलीमा ललितपुरको सानोहात्तीवनस्थित किराँत माङहिम (देवघर)मा सामूहिक पूजाआजा गर्दै चाड मनाइएको छ । किराँतीका कुल पुजारी नाक्सो, फेदाङ्माले मुन्धुम विधिअनुसार पूजा गरेपछि श्रद्धालुहरूलाई धानचामल मिश्रति सेतो टीका लगाइदिएका थिए ।

किराँती जातिभित्रका लिम्बु, याक्खा, कोइँच (सुनुवार) र राईले सामूहिक पूजाआजासहित नाचगान थालेका हुन् । ढोल, झ्याम्टा, च्याब्रुङलगायत बाजा बजाउँदै हातमा चमर, सेउली हल्लाउँदै महिला र पुरुषहरू पंक्तिबद्ध नाच्ने गर्दछन् । उधौली चाडलाई चासोक तङनाम, चासुवा, फोलस्याँदर, साकेलालगायत नामले पनि चिनिन्छ । यो चाड पूर्वी पहाडका ओल्लो किराँत, माझ किराँत र पल्लो किरात प्रदेशमा धुमधामसाथ महिना दिनसम्म पूजाआजा गर्ने तथा नाचगान गर्ने गर्दछन् । विदेशमा रहेकाहरूले समेत सामूहिक भेला भएर नाच प्रदर्शन गर्दछन् ।

शुक्रबार सामूहिक पूजाआजापछि लिम्बु जातिले किराँत याक्थुङ चुम्लुङको पहलमा हात्तीवनस्थित किराँत धार्मिक वन क्षेत्रमै खानपानसहित च्याब्रुङ बजाएर मनोरन्जनका कार्यक्रम गरेका थिए । त्यसैगरी किराँत राई यायोक्खाको पहलमा ललितपुरको नखिपोटस्थित मैदानमा सशस्त्र प्रहरी बलका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राईले साकेलाको उद्घाटन गरेका थिए । त्यस्तै, किराँत याक्खा छुम्मा र सुनुवार सेवा समाजले समेत सामूहिक कार्यक्रममा सहभागिता जनाएका थिए । यायोक्खाकी अध्यक्ष यशोदा राईका अनुसार उधौलीका अवसरमा राजधानीको टुँडिखेललगायत स्थानमा साकेला प्रदर्शन गरिनेछ ।_इकान्तिपुरबटा;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com