सामान्य प्रशासन मन्त्री, जसले सेनाबाट नर्कजस्तो यातना भोगिन्

Rekha-Sharma-and-Krishnadho
  • सामान्य प्रशासन मन्त्री रेखा शर्मा पति कृष्णध्वज खड्कासँग
चिरञ्जीवी पौडेल/विनोद घिमिरे

२ पुस, काठमाडौं ,

'कहिले झुण्ड्याएर पिटे, कहिले नांगै लतारे'

२ पुस, काठमाडौं । दाङकी रेखा शर्मा र प्यूठानका कृष्णध्वज खड्का बीच पहिलोपटक भेट हुँदा उनीहरु माओवादी पार्टीका ‘सहयोद्धा’ थिए । त्यसको करिब दुई वर्षपछि सम्वन्ध बदलिएर ‘सहयात्री’ मा परिणत भयो । अहिले रेखा सामान्य प्रशासनमन्त्री बनेकी छिन् ।

‘सुरुमा मैले मन पराएको हुम्,’ विवाहको २१ वर्षपछि कृष्णध्वज भन्दैछन्, ‘तर, उनले धेरै समय झुलाइन् ।’ रेखालाई मन पराए पनि पार्टी अनुशासनका कारण कृष्णध्वजले सोझै प्रस्ताव राख्न मिल्दैनथ्यो । अतः विधिसम्मत तरिकाले संगठनमा कुरा राखे उनले ।

अनेरास्ववियूका अध्यक्ष हितमान शाक्यलाई ‘दाङकी फलानो कमरेडलाई मैले चाहेको छु, विवाहको कुरा चलाइयोस्’ भनेपछि खड्काको प्रस्ताव प्रक्रियामा गयो ।

हितमानले केन्द्रीय सदस्य मधुसुदन वैद्य (मोहन वैद्य ‘किरण’का भाइ) लाई फिल्डमा खटाए । प्रस्ताव बोकेर उनी रेखाकहाँ पुगे । ‘प्यूठानका फलानो कमरेडले तपाईंलाई चाहेको कुरा पार्टीमा आएको छ,’ भनेर मधुले सुनाइदिएपछि रेखा सोचमग्न बनिन् । त्यसको नौ महिनासम्म द्वीपक्षीय र बहुपक्षीय सम्वादहरु भए ।
‘उहाँसित पटक-पटक भेट भएता पनि मैले सहयोद्धा कमरेडका रुपमा मात्रै हेरेकी थिएँ, अविवाहित हुनुहुन्छ भन्ने पनि थाहा थिएन,’ २१ वर्षपछि रेखा भन्छिन्, ‘विवाहको प्रस्ताव आएपछि मैले मूलतः आफ्नो राजनीतिक भविश्यका बारेमा धेरै सोचविचार गरेँ । विवाहपछि पनि राजनीतिलाई निरन्तरता दिन सक्छु भन्ने सुनिश्चितता चाहेँ ।’

यसका अतिरिक्त, रेखाले आफ्नो परिवारमा पनि विश्वासको वातावरण बनाउन चाहेकी थिइन् । रामबहादुर थापा ‘बादल’देखि प्रचण्डसम्म उनीहरुको विवाहबारे छलफल र चिन्तनहरु भए ।

विशेषतः बादलले दुई पक्षबीच समझदारी निर्माण गर्न अहम् भूमिका खेलेको बताउँछन् कृष्णध्वज । अन्ततः दुवै पक्ष सहमतिमा पुगे । दाङको बाह्रकुने दहमा एउटा मञ्च बनाएर उनीहरुबीच लगनगाँठो कसियो । यद्यपि त्यहाँ न कुनै लगन थियो न गाँठो । पार्टीको ब्यानरमा मञ्चमा उभिएर दुबैजनाले एक-अर्कालाई माला लगाइदिएर पति-पत्नी स्वीकारेका थिए । ‘पुरेत’ बनेका थिए, माओवादी नेता नारायण शर्मा ।
यसरी ०५१ सालबाट सुरु भयो सहयात्रा, जुन आजपर्यन्त जारी छ ।

काठमाडौंमा अर्धभूमिगत
विवाह हुने बेलामा कृष्णध्वज मोटो मशालको भातृसंगठन अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष थिए भने रेखा जिल्लाकी उपाध्यक्ष थिइन् । पार्टीको आचारसंहिता अनुसार श्रीमान-श्रीमती सँगै बस्न नमिल्ने । त्यसैले बिहेपछि कृष्णध्वज काठमाडौंतिरै लागे भने रेखा प्यूठानतिर ।

विवाहलगत्तै संगठनले रेखालाई प्यूठानको जिल्ला कमिटीमा सरुवा गर्‍यो र उनी श्रीमानको घरमा बसेर राजनीति गर्न थालिन् । ०५१ सालमा एकताकेन्द्र फुटेर माओवादी बनेपछि कृष्णध्वज अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बने । त्यसपछि उनले प्रचण्डको सोर्स लगाएर श्रीमतीलाई पनि काठमाडौंमै ताने ।
रेखाले भर्खरै डिप्लोमा पास गरेकाले पढाइका लागि काठमाडौं ल्याउने बहाना मिलेको थियो । यतिञ्जेलमा माओवादीभित्र जनयुद्धको गृहकार्यले ठोस रुप लिइसकेको थियो । ०५२ साल फागुन १ गतेदेखि माओवादी जनयुद्ध सुरु भइहाल्यो ।

पार्टी जनयुद्धमा गएर नेताहरु भूमिगत भए पनि जनवर्गीय संगठनहरु लगभग खुल्ला नै थिए । काठमाडौंमा पार्टीका खुल्ला गतिविधिहरु अगाडि बढाउने जिम्मेवारी थियो कृष्णध्वज र रेखाको जोडीमा ।
पहिले वसन्तपुरमा डेरा भए पनि जनयुद्ध सुरु भएपछि उनीहरुले अर्धभूमिगत शैलीमा काम गर्न थाले । डेरा फेरी-फेरी बस्न थाले ।
फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सडकमा निस्किँदा रेखाको पेटमा सात महिनाको गर्भ थियो । त्यतिबेला पक्राउ परिन्छ भनेर बुढाबुढीले घरमा भएको तीन सय रुपैयाँ डेढ-डेढ सय बाँडेर लिए, रेखाले आइरन चक्की झोलामा हालिन् । यद्यपि प्रहरीले पक्राउ गरेन । डेढ सय रुपैयाँ र आइरन चक्की घरै फिर्ता आए ।
त्यसको एक महिनापछि चैत्र २४ को विरोध प्रदर्शनका क्रममा भोटाहिटीबाट कृष्णध्वज पक्राउ परे । त्यतिबेला आफूहरु पक्राउ दिने भनेरै सडकमा निस्केको बताउँछन् कृष्णध्वज ।
आठ महिनाकी गर्भवती रेखा ठूलो भूँडी हल्लाउँदै त्योभन्दा ठूलो बाल्टिनमा भात बोकेर हनुमानढोका जान्थिन्, श्रीमान र उनका साथीहरुलाई खुवाउन ।
त्यसबेला एमालेलगायतका वामपन्थी पार्टीहरुको दबावमा छोटो समयमै खड्का जेलबाट रिहा भए । त्यसपछि कृष्णध्वजको पक्राउ पर्ने र छुट्ने सिलसिला चलि नै रह्यो । ०५८ सालसम्म दर्जनचोटि पक्राउ परेको उनी सम्झन्छन् ।
रेखाले ०५३ असारमा बच्चा जन्माइन् । सुत्केरी भएको दुई महिनाजति उनी माइतीमा गएर बसिन् । त्यसपछि फेरि फर्किइन् र छोरी च्यापेरै राजनीतिमा सक्रिय रहिन् ।
कृष्णध्वज भन्छन्, ‘त्यतिबेला पार्टीमा मेरो भूमिका निकै अहम् थियो । मेरो तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्कासित सीधा कुरा हुन्थ्यो । राजा ज्ञानेन्द्रसित प्रचण्डको भेट गराउने गृहकार्य भइरहेको थियो
डेराबाटै झ्यापझुप
सरकारले संकटकाल लगाएर ०५८ सालमा माओवादीका जनवर्गीय संगठनलाई समेत प्रतिवन्ध लगायो । संकटकालपछि उनीहरु काठमाडौंमै भूमिगत भए । उनीहरु दुबैको टाउकाको मूल्य तोकिएको थियो, ३५ हजारका दरले । तर, राज्यले सो रकम खर्च गर्नुपरेन ।

सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ गर्‍यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । आफूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि राजसंस्थासम्मको सम्पर्कमा रहेर वार्ताका लागि समन्वय गरिरहेको अवस्थामा सेनाले पक्राउ गरेको कृष्णध्वजको दावी छ ।

काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय ब्यूरो मातहत दुई उपब्यूरो थिए । केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज कृष्णध्वज थिए भने रेखा संगठन तथा संघर्ष उपब्यूरोकी इञ्चार्ज थिइन् । उनीहरुले बादलको दिशानिर्देशमा काम गर्नुपर्थ्यो ।
पक्राउ पर्नुअघि बादलको निर्देशनअनुसार पार्टीको संघर्षका आगामी कार्यक्रमका विषयमा बुढाबुढी चाबहिलमा रहेका एक सहयोगीका कोठामा छलफल गर्दै थिए ।
कृष्णध्वज भन्छन्, ‘त्यतिबेला पार्टीमा मेरो भूमिका निकै अहम् थियो । मेरो तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्कासित मेरो सीधा कुरा हुन्थ्यो । राजा ज्ञानेन्द्रसित प्रचण्डको भेट गराउने गृहकार्य भइरहेको थियो ।

त्यसैका लागि म राजाका सम्पर्क सूत्रलाई फोन गर्न आँट्दै थिएँ । उक्त फोन मलाई शेरबहादुरले नै प्रधानमन्त्री कार्यालयबाट उपलब्ध गराएका थिए । फोन गर्नलाई सीम बदल्न खोज्दै गर्दा सेना भित्र पस्यो ।’

बिहान नौ बजे कोठामा श्रीमान-श्रीमती मात्रै रहेको अवस्थामा सेनाले ढोका ढक्ढक्याएको थियो । गोरखाको बर्दबहादुर गणबाट आएका सेना थिए । उनीहरुले दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाइदिए, हात पछाडि लगेर हत्कडी लगाइदिए । अनि त्यहीँ सुरु भयो पिट्ने क्रम ।

रेखा भन्छिन्, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुन्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झर्‍यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन् भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुरे ।
नर्कमा जस्तै यातना
त्यहाँबाट दुबैलाई गाडीमा हालेर ललितपुरको राजदल गणमा लगियो । त्यहाँ पुगेको धेरै समयपछि मात्रै उनीहरुले थाहा पाएका थिए, त्यो गोरखाको बर्दबहादुर गण रहेछ । जहाँ नित्यकर्म जस्तै थियो, यातना ।

राजदल गणमा पुग्दा त्यहाँ सैनिक अधिकृतहरु सुर्रिएर बसेका थिए । नभन्दै रेखा र कृष्णध्वजमाथि उनीहरुले यातनाका विभिन्न ‘प्रयोग’ हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्म । चक्कुले चिरेका दागहरु अहिले पनि रेखाका शरीरमा छन् ।

‘नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा सबैभन्दा असैह्य महसुस भयो,’ रेखा सम्भिन्छन्, ‘म कयौंपटक यातनाका क्रममा बेहोस भएँ । बेहोसीबाट ब्युँझदा शरीरमा अर्कै कपडा हुन्थ्यो ।’

जति चर्को यातना दिँदा पनि नेताहरुको पोल खोल्न दुबैले इन्कार गरे । त्यसपछि राजदल गणमा उनीहरुलाई लामो समय राखिएन । १० दिनको यातनापछि उनीहरुलाई फेरि गाडीमा हालेर कतै लगियो, जहाँ त्योभन्दा बर्बर यातनाको अभ्यास सैनिक अधिकृतहरुले गरे । उक्त गणमा यो जोडीले एकवर्ष नर्कतूल्य जीवन भोग्यो । २४ सै घण्टाजस्तो उनीहरुको अनुहारमा कालो मुखुण्डो र हात पछाडि लगेर बाँधिएको हुन्थ्यो । रात हो कि दिन हो, उनीहरुलाई थाहा हुँदैनथ्यो । जीवन हो कि मृत्यु हो, उनीहरुलाई थाहा हुँदैनथ्यो ।
रेखा भन्छिन्, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुन्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झर्‍यामझुरुम एकैचोटी कति बुट हाने कति
‘सुरुका महिनामा सुत्नलाई ओछ्यानका नाममा सुकुल पनि दिइएन । चिसो सिमेन्टमा घुँडा टेकेरै रात काटिन्थ्यो । कहिले रातभरि बाहिरै लडाइदिन्थे, र उज्यालो भएपछि यातना दिन थाल्थे । यातनाले गर्दा चैतको गर्मीमा पनि थरथरि जाडो हुन्थ्यो ।

कहिलेकाहीँ खानेकुरा ल्याएर लौ खा, भन्थे । गाँस हाल्न लाग्दा मुखमा बुटले हान्थे । कहिले पानी माग्दा ट्वाइलेटको फोहोर पानी ल्याएर पिउन लगाउँथे । एक महिनासम्म केही नखाइकन गुज्रियो ।
श्रीमान-श्रीमतीलाई वल्लो-पल्लो कोठामा राखिएको थियो । एउटालाई यातना दिँदा अर्कोले सुनोस् भन्ने सैनिकहरु चाहन्थे ।

कृष्णध्वज सम्झन्छन्, ‘हामीले दोहोरो यातना भोग्नुपर्‍यो । एक-अर्कालाई यातना दिएको आवाज सुन्दा आफैंलाई दिएको यातनाभन्दाअसैह्य पीडा हुन्थ्यो । मलाई कहिल्यै राति निद्रा परेन । उनलाई यातना दिइरहेका छन् कि भनेर रातभर ढोकामा कान थापेर बस्थेँ ।’

उनीहरुलाई दिइने यातनाको स्तर बाहिरको वातावरणले पनि निर्धारण गर्थ्यो । वाहिर वार्ताको सकारात्मक वातावरण बनिरहेको छ भने यातनाको पारो तल झर्थ्यो । माओवादीले कतै हमला गरेर सुरक्षाकर्मीको हताहती भयो भने पारो माथि चढ्थ्यो । कहिले त सारा रीस उनीहरुमाथि पोखौंला झैं गर्थे सैनिकहरु ।
मंसिर २८ मा जुम्लामा माओवादीले आक्रमण गरेपछि रेखाले यातनाको चरमोत्कर्ष भोगिन् । ब्यारेकभित्रको पीचरोडमा निकालेर आफूलाई नांगेझार बनाएर घिसार्दै पिटिएको उनी बताउँछिन् । ‘मैले लगाएको सुरुवालको इँजार काटेर खोलिदिए । नांगै बनाएर सडकमा घिसारे । घिसार्दा पेन्टी समेत च्यातिएर झिल्झिल भएको थियो ।’

यता, कृष्णध्वजको एउटा आँखा बुटले कुल्चिएर घाइते बनाइदिएका थिए । लगातार १२-१३ दिनसम्म रक्तस्राव भएपछि उनले त्यो आँखाको माया मारेका थिए । तर, पच्चीसौं दिनबाट आँखामा ज्योति पलाएको महसुस गरे ।

‘मैले २५ औं दिनमा आफ्नो घाइते आँखाबाट पहेँलो तोरीको दानाजस्तो मसिनो ज्योति देखेँ । त्यो मेरो जेल जीवनको सबैभन्दा खुशीको दिन थियो । मलाई लाग्यो अब मेरो आँखाको ज्योति फर्किन्छ । नभन्दै बिस्तारै त्यो दानो बढ्दै गयो र केही समयपछि आँखा खुल्यो,’ उनले सुनाए ।

‘यदि जेलमा एक्लै थियौं भने पक्कै पनि आत्महत्या गर्ने अवस्था हुन्थ्यो,’ रेखा भन्छिन्, ‘मैले धेरैपटक आत्महत्याको सोच बनाएँ । यस्तो यातना भोग्नुभन्दा आत्महत्या धेरै सहज विकल्प हुन्थ्यो । तर, जब म मरेपछि उहाँलाई के होला भन्ने दिमागमा आउँथ्यो । फेरि सोच बदल्थेँ ।’
जवानहरुको सदभाव
ब्यारेकभित्र माथिल्लो तहका हाकिमहरुले तल्लो स्तरको व्यवहार गरे पनि तल्लो तहका जवानहरुले बिस्तारै माया र सहानुभूति देखाउन थालेका थिए । हाकिमहरु नभएका बेलामा उनीहरुले बेलाबखत अनुहारको मुखुण्डो निकालिदिन्थे । शौचालय जाने बेलामा भन्थे, ‘अलि धेरैबेर बस्नु, बरु त्यहीँ आराम हुन्छ ।’
कसैले उनीहरुलाई लुकाएर औषधि ल्याइदिन्थे त कसैले खानेकुरा । सेन्ट्री बस्ने एकजना राई थरका जवानले तेल ल्याएर मालिस समेत गरिदिए । यदि हाकिमले थाहा पाए भने उनीहरुले कुटाइ खानुपर्थ्यो भने कसैको यही निहुँमा सरुवासमेत गरिन्थ्यो ।
जवानहरुले ल्याइदिएको औषधिले नै सायद कृष्णध्जजको आँखा खुलेको थियो ।

केही जवानहरुले रेखालाई दिदी र कृष्णध्वजलाई भिनाजु भन्न थालेका थिए । भाइटीकाको दिन रेखाको हातमा पैसा राखिदिन्थे । उनीहरुको अहिले पनि आफूहरुकहाँ आउजाउ रहेको रेखा बताउँछिन् ।

‘उनीहरुमध्ये कोही मेजर भएका छन्, कोही विदेश गएका छन् । विदेशबाट पनि कहिलेकाहीँ फोन गर्छन्,’ सामान्य प्रशासनमन्त्री रेखाले भनिन् ।
कसैले उनीहरुलाई जेलबाट भाग्न सल्लाह दिँदै त्यसका लागि सहयोग गर्नेसमेत बताउँथे । तर, उनीहरुको शारीरिक अवस्था नाजुक रहेकाले भाग्न सक्ने स्थिति थिएन ।
बर्दबहादुर गणमा कैदीहरुको नाजूक अवस्थाका विषयमा सैनिक जवानहरुले बेनामी पत्रसमेत दरबारमा पठाएका थिए । रेखा र कृष्णध्वजको विषयमा मिडियामासमेत समाचारहरु आए । त्यसपछि सेनाको मानवअधिकार सेलबाट एउटा टोली निरीक्षणका लागि उक्त गणमा आइपुग्यो । टोली आउँदा उनीहरु दुबैको अवस्था नाजुक थियो । त्यसपछि उनीहरुमाथिको बर्बरता अलिकति मत्थर भयो ।
अब नयाँ परिस्थितिमा नयाँ सोचका साथ अगाडि बढ्ने हो । आफ्नो जिम्मेवारी निभाउनेतर्फ ध्यान केन्द्रित गर्ने हो । त्यसरी यातना र दु:ख दिने कसैप्रति बदलाभाव छैन’
‘तल्लो तहका जवानहरुले सदभाव नदेखाएको भए हाम्रो जिवित शरीर त्यहाँबाट फिर्ता आउने थिएन,’ दुबै एक स्वरमा भन्छन् ।
यसरी छुटे
सरकार र माओवादीवीच ०५८ सालको वार्ता गराउन कृष्णध्वजको अहम भूमिका थियो । उनले दुबैतर्फ समन्वय गरेर युद्धविराम गराउन र वार्ता गराउन भूमिका खेलेका थिए । उनको माथिसम्मै चिनजान थियो । विवेकविक्रम शाहको मैले देखेको दरबारमा लेखिए अनुसार उनीहरुका विषयमा तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि थाहा थियो ।

ज्ञानेन्द्रले भनेका थिए, ‘उनीहरुलाई नमार्नु ।’ राजाको आदेशले गर्दा नै सेनाले आफूहरुलाई मार्न नसकेर मृत्यूभन्दा चर्को यातना दिएको ठम्याइ छ कृष्णध्वजको ।
दरबार हत्याकाण्डअघि पनि आफू वीरेन्द्र र प्रचण्डबीच वार्ता गराउन प्रयत्नशील रहेको कृष्णध्वज बताउँछन् । ‘०५७ सालमा पार्टीले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको तीन सूत्रीय रणनीति अख्तियार गर्‍यो । त्यसपछि राजासँग पनि मिलेर जान सकिने कुरा भयो । म वीरेन्द्रका भाइ धीरेन्द्रसँग सम्पर्कमा थिएँ र उनीमार्फत वीरेन्द्रसम्म पुग्ने प्रयास भइरहेको थियो । तर, यत्तिकैमा दरबार हत्याकाण्ड भयो ।

त्यसपछि आएका राजा ज्ञानेन्द्रसित हाम्रो सुरुमै सम्वन्ध बिग्रियो किनकि हाम्रो पार्टीले उनैलाई वीरेन्द्रका हत्यारा ठहर गरेको थियो । डा. बाबुराम भट्टराईले यसलाई नयाँ कोतपर्व भनेर कान्तिपुरमा लेख लेख्नुभएको थियो । तर, ज्ञानेन्द्र भने माओवादीसित प्रत्यक्ष संवाद गर्न चाहिरहेका थिए । विस्तारै हामी पनि लचिलो भएर उनीसँग वार्ता गर्ने अवस्थामा पुगेका बेलामा म पक्राउ परेँ ।’

माघ-फागुनतिर वार्ताको वातावरण बन्न थाल्यो । वार्ताको वातावरण बनाउनका लागि जेलमा रहेका आफ्ना नेता-कार्यकर्तालाई मुक्त गर्नुपर्ने माग माओवादीले राखेको थियो र त्यसमा रेखा-कृष्णध्वजको नाम एक नम्बरमा थियो । बाहिर वार्ताको चर्चा हुन थालेपछि व्यारेकभित्रको वातावरण पनि बदिलिन थाल्यो । उनीहरुलाई ओढ्ने ओछ्याउने दिइयो । यातना बन्द भयो । आँखाको मुखुण्डो हटाइयो ।

यता, छोराबुहारी सेनाको ब्यारेकभित्र थुनिएपछि कृष्णध्वजका बुवाको मानसिक अवस्था खराब भएर उनी बिते । यसबाट पनि सेनालाई आफूहरुलाई मुक्त गर्न दबाव परेको हुन सक्ने कृष्णध्वज बताउँछन् । आखिरमा उनीहरु दुवैलाई पक्राउ परेको १ वर्षपछि ०५९ साल चैत्र १ गतेका दिन मुक्त गरियो ।

जेलबाट निस्कँदा कृष्णध्वजको खुट्टा र हात तथा करङको हड्डी भाँच्चिएको थियो । रेखाको मेरुदण्डको हड्डी भाँच्चिएको थियो भने टाउकोदेखि शरीरभरि चोटैचोट थिए । उनीहरुले तीन वर्ष भारतमा बसेर उपचार गराए ।

कृष्णध्वजको हात र गोडामा रड राखिएको छ । अहिले पनि उनलाई हिँडडुल गर्न समस्या पर्छ । फिजियोथेरापी गराइरहेका छन् । रेखाको पनि पूर्णरुपमा ठीक भएकी छैनन् । उनको मेरुदण्डमा समस्या छ ।
पार्टीबाट कारवाही र उतार चढाव
Rekha-sharmaजेलबाट छुटेपछि उनीहरुको राजनीतिक यात्रा त्यति सहज भएन । माओवादीले आत्मसमर्पण गरेर जेलबाट छुटेको आशंका गर्दै उनीहरुलाई पार्टीबाट निस्काशन गर्‍यो ।

तर, छानविनपछि उनीहरुले सफाइ पाए । नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र माओवादीमा मिसिएका बेला उनीहरु दुवै पार्टीको केन्द्रीय समितिमा तानिए ।
एमाओवादी विभाजित भएर ०६९ सालमा वैद्य नेतृत्वको नेकपा-माओवादी गठन भएपछि उनीहरु केही समय त्यतैतिर लागे । फेरि एमाओवादीमा फर्किए ।
दोस्रो संविधानसभा चुनावमा प्यूठानबाट प्रत्यक्ष उम्मेदवारी दिएका कृष्णध्वज पराजित भएभने रेखा समानुपातिकबाट सभासद बनिन् । केपी शर्मा ओली नेतृत्वको हालको सरकारमा रेखा सामान्य प्रशासनमन्त्री बनेकी छिन् ।

पछाडि फर्केर हेर्दा
‘मन्त्री भइसकेपछि आफ्नो विगतलाई फर्केर हेर्न मन लाग्छ कि लाग्दैन ?’ पुल्चोकस्थित मन्त्री क्वाटरमा रेखालाई सोधियो । उनी गम्भीर बनिन् । अनि लामो जवाफ दिइन् ।

‘हामीले आफ्नो अतीतलाई चाहेर पनि भुल्न सक्दैनौं । अतीतलाई बिर्सेर आजको दुनियाँमै रमायौं भने हामी आफ्नो कर्तव्यबाट विमूख हुन सक्छौं । मलाई आफ्नो अतीतमा कुनै खेद छैन । बरु गर्वानुभूति छ । मैले भोगेको दु:खकष्ट र यातनाका लागि कुनै पुरस्कार पाउनुपर्छ भन्ने हामीलाई कहिल्यै लागेन । हाम्रोभन्दा बढी दु:ख भोग्नेहरु, अझै चरम यातना पाउनेहरु पार्टीमै छन् । हामी त जीवनमरणको युद्धमै थियौं । सबै किसिमका परिस्थितिको सामना गर्ने मानसिक रुपमा तयार भएरै युद्धमा होमिएका थियौं । त्यसैले यसमा कुनै दु:खमनाउ पनि छैन । अब नयाँ परिस्थितिमा नयाँ सोचका साथ अगाडि बढ्ने हो । आफ्नो जिम्मेवारी निभाउनेतर्फ ध्यान केन्द्रित गर्ने हो । त्यसरी यातना र दु:ख दिने कसैप्रति बदलाभाव छैन ।’  _ साभार-अनलाइन खबर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com