हामी आइमाइको 'अभागी' कर्म

मंगलबार पुस १४,


फोटो खिच्दै गर्दा मैले यी तीनजना मध्ये कुनै पनि महिलाको आँखामा आत्मनिर्णय गर्न सक्ने क्षमता र आत्म विश्वास उग्रिएको देखिन। दाउराको डोको आँगनमा फालेपछि लामो श्वास फरे र, तीनै जनासँगै डिलमा बसे। दाउरा बोकेर ज्यान फतक्क गलेको अनुहारमै देखिन्थ्यो। उदास मुद्रामा आँगनको डिलमा बसेका यी तीन महिलाहरुको प्रतिक्रिया यस्तो थियो-‘सर, पढ्न पाएका भए त हामी पनि तपार्इजस्तै झोलाबोकेर हिड्थ्यौं, किन दाउरा बाकेर बाँच्नु परेको थियो र? पढ्न पाएनौँ, हामी आइमाइको अभागी कर्म।’

भित्र ताउलोमा ६ वर्षे छोरी बिनाले आलु उसिन्न हालेकी थिइन्। उनी स्कुल जाँदिनन् । ६ महिनाको भाइलाई दिनभरी घरमा हेरेर बस्छिन्। भाइ स्कुल जाने नहुन्जेलसम्म बिनाको दैनिक यही काम हो ।भाइ स्कुल जानेवेलासम्म यीनको स्कुल जाने उमेर बितिसक्ने छ। र, यिनी पनि आमाजस्तै अर्की महिला बन्ने छिन्…

२८ वर्ष नकाटेकी बिनाकी आमालाई १७ वर्ष अगाडि भाइ बोक्नु पर्ने यस्तै जिम्मेवारी आइपर्‍यो। त्यसैले उनले पनि स्कुल जान पाइन। आमाले त्यही बेहोरिन र, छोरीलाई पनि यही सिकाइन्।

आँगनमा दाउराको डोको नबिसाउँदै ६ महिनाको वालक दुधचुस्न आइपुग्यो । ‘बिना आलु उसिनिस्’ आमाले दिनभरी ६ महिनाको वालक हेरेर बसेकी छोरीलाई प्रश्न गरिन्। स्कुल जाने उमेरकी बिनाले अनुहारमा खुसी पोख्दै इसाराले ‘पाक्दै छ’ भन्ने जवाफ दिइन्।

आमा दाउरावाट आइपुग्नु भन्दा अगाडि भोकाएको भाइलाई फकाउन बिनाले ‘क…वाट कछुवा’ लयबद्धरुपमा सुनाइरहेको मैले हेरिरहेको थिएँ। उनमा क,ख,ग प्रतिको आर्कषण जति भए पनि उनी स्कुल जान पाउने छैनन्। यो अनुमान लगाउन मलार्इ कुनै गाह्रो थिएन ।

 पाँच मिनेटसम्मका कुराकानी र दृश्यहरु आँखा र कान बन्द नगरेर हेरेँ सुने।
प्रचार–प्रसारमा ठूलो बाजीमारेको जस्तो देखिने नेपालमा महिला सशक्तिकणलाई ‘ग्राँसरुट’बाटै  स्थापित गराउन कहाँवाट र कस्तो बाटो तय  गर्नु पर्ने थियो र, हामी कहाँनेर चिप्लियौँ भन्ने प्रश्नको जवाफ पाउन कठिन भएन।

जवाफ एक शब्दमा टुङ्गिन्छ ‘शिक्षा’
संसारको कुनै पनि मुलुकमा महिलाका अधिकारहरु सँस्थापन गर्नका लागि चाहिने अति सामान्य चारटा सिद्धान्त छन्-शिक्षा, आत्मनिर्भरता, आत्मनिर्णय गर्न सक्ने क्षमता र आत्मविश्वास। यी सिद्धान्तहरुमध्ये एउटालाई मात्र कार्यान्वयन गराउन सकियो भने बाँकी सिद्धान्तहरु आफै स्थापित हुँदै जान्छन्। र, त्यो एउटै र मूख्य सिद्धान्त ‘शिक्षा’ हो।

गएको साता संयुक्त राष्ट्रसंघको महिला सेलले ‘नेपालमा महिलाहरुको अवस्थावारे २० वर्षे प्रगति प्रतिवेदन’ सार्वजानिक गर्‍यो। राजनैतिक र संवैधानिक क्षेत्रमा उल्लेख्य प्रगति भएपनि सामाजिक कुसंस्कार र अन्धविश्वासका कारण महिलाहरुका मौलिक हकहरु स्थापित हुन नसकेको रिपोर्टले बताएको छ।  महिलाहरुका मौलिक अधिकारहरु स्थापित गराउन नसक्नुका कारणहरु २० वर्षदेखि एउटै छन् । महिला शसक्तिकरणका कुनै पनि अभियानहरु छोरीलाई स्कुल पठाउने कर्मसँग जोडिनु पर्छ अनि मात्र २० वर्षपछि आउने अर्को रिपोर्टले भन्नसक्ने छ-‘सामाजिक कुसंस्कार र अन्धविश्वासका कारणले महिला शसक्तिकरणको अभियानलाई रोक्ने दिन अब गए।’  तर, डर लाग्दो सत्य नेपालमा महिला शसक्तिकरणको आन्दोलनले अहिलेसम्म पहिलो बुँदा ‘शिक्षा’लाई नै स्थापित गराउन सकेको छैन।

मैल चिनेको एकजना आर्चाय थरकी दिदीले जुम्लामा त्यो वेला साहश गरेर महिनावारी भएका वेला गोठमा बस्दिँन भनेर अड्डी कसिन्। बाउन परिवारभित्र उनको जिद्धी असामान्य थियो । तर, परिवार शिक्षित थियो र, उनी शिक्षित थिइन् त्यसैले  घरभित्र उनको क्रान्तिलाई स्वीकारियो। त्यो बेला जुम्लाको चन्दनाथ माविमा पढ्न जाने केही युवतीहरुले पनि उनको सिको गरे।  उनकै उमेरका तर, स्कुल जान नपाएका दिदीहरु अहिले पनि महिनावारी भएकावेला गोठमै गएर बस्छन् । यो  ‘झुरप्रथा’ को विरोधमा उनीहरुले क्रान्ति गर्न सकेनन् । अनि अशिक्षित भएपछि महिलाहरुमा कसरी आँउछ साहश? र, कसरी समाजमा सयौं वर्षदेखि चल्दै आएका झुर प्रथाहरुको विरोधमा क्रान्ति गर्न सक्ने आत्मविश्वास जुटाउन सक्छन् महिलाहरु?

हिजो, २० वर्ष अगाडिवाटै महिलाका अधिकारलाई स्थापित गराउने मुल सुत्र नै शिक्षा हो र, त्यसका लागि आजका छोरीहरुलाई शिक्षित बनाउन जरुरी छ भन्ने कुरालाई स्थापित गराउन सकेको भए कमसेकम महिलामाथिका सामाजिक असमानताहरु अहिले सम्म निख्रीसकेका हुन्थ्ये। अशिक्षाले महिलामात्र होइन पुरुषलाई पनि कमजोर बनाइदिन्छ। सामान्य महिलाको मात्र के कुरा गर्ने, राष्ट्रपतिजस्तो पदमा पुगेका महिलाले समेत हामीले परिवर्तन गर्न नसकेका झुर संस्कारहरुको सिकार हुनु परिरहको छ। यस्ता कुसंस्कारहरुवाट चुनौति झेल्नु परिरहको छ।
राष्ट्रको सर्वोच्च पदमा पुगेकी महिलाले समेत अशिक्षाले पिल्सीएका संस्कारहरुलाई उन्मूलन गर्न नसक्ने अवस्था छ। अनि अशिक्षित महिलावाट कसरी आत्मनिर्भरता, आत्मनिर्णय गर्न सक्ने क्षमता र आत्मविश्वासको आस गर्न सकिन्छ?

मेरो दिमागको कुनै पनि कुनामा अशिक्षित महिलाले आत्मनिर्णय गर्नसक्ने क्षमता र राख्छन् र आत्मविश्वास बोकेका हुन्छ भन्ने सम्मको तर्क पनि आउँदैन।

शिक्षा मानवीय विकासको पहिलो सुचाङ्क मात्र होइन, महिला शक्तिकरणका लागि चाहिले महत्वपूर्ण बुँदा पनि हो। आजका छोरीहरु शिक्षावाट बन्चित हुन थाले भने अबको पन्ध्र वर्षपछिका महिलाहरु कसरी आत्मनिर्भर बन्न सक्छन्, आत्मनिर्णय गर्न सक्ने क्षमताको विकास कसरी हुन सक्छ उनीहरुमा? र महिलाहरुमा कसरी आत्मविश्वास बलियो हुन सक्छ?

एकपटक देशमा प्रौढ शिक्षाको अभियान ल्याइएको थियो। हामीले प्रौढ शिक्षालाई गाउँसम्म लग्यौं। नपढेका महिलाहरुलाई नाम लेख्न सिकायौँ । ‘तिमीहरुले नाम लेख्न सिक्यौँ अब तिम्रा नानीहरुलाई कम्तीमा एसएलसीसम्म पढाउने जिम्मा तिम्रो’ भन्ने जिम्मेवारीबोध महिलाहरुलाई गराउन सकेनौं। प्रौढ शिक्षा अभियान सकियो। आमाहरु नाम लेख्न सक्ने भए। ‘एउटा आमा शिक्षित भयो भने सिंगो परिवार शिक्षित हुन्छ’ भन्ने भनाइ हामीले पनि घोक्यौं र, तिनै आमाहरुलाई पनि घोकायौं तर, यसलाई ब्यवहारमा स्थापित गराउने दु:ख हामी कसैले गरेनौं।

उमेर ढल्किँदा पनि पढ्ने कुराले मोहित बनाएर क, ख पढन आएका महिलाहरुले ‘छोरीले पनि भोली-पर्सी प्रौढ शिक्षा पढेर नाम लेख्न सक्ने भइहाल्छे नी’ भन्ने मात्र बुझेर गए । हामी यसैमा चिप्लियौं ।
हामीले १५ वर्ष अगाडिबाटै महिला अधिकार तथा शसक्तिकरणका मुद्धाहरु उठाउँदै गर्दा आजका साना छोरीहरु पनि भोलिका महिला हुन् र, उनीहरुको जीवनलाई शिक्षाले मात्र परिवर्तन गर्न सक्छ भन्ने सुचना गाउँ-गाउँमा पुर्‍याउन सकेनौँ ।  शिक्षावाट जन्मिएको विज्ञानले रकेट साइन्समार्फत हामीले देख्दै आएको भगवान (चन्द्रमालाई) खुट्टाले कुल्चिसक्यो । संसार यस्तो रफतारमा दौडिरहेका वेला अशिक्षित महिलाहरुले आत्मनिर्णय गर्नसक्छन् कि सक्दैनन् ? र, तपाई, म र राज्य मिलेर महिलाहरुलाई ‘तिमीहरु जन्मजात अभागी होइनौ’ भन्ने सन्देश दिन सक्नु पर्छ कि पर्दैन? _ ;साभार-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com