सामान्य प्रशासनमन्त्री शर्माले यसो भनिन्

काठमाडौँ, १५ मङ्सिर,

 सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती प्रशासन र राजनीतिक नेतृत्वप्रति गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने र परिवर्तित राजनीतिक परिस्थितिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको नवनियुक्त शाखा अधिकृतका लागि स्वागत तथा निर्देशन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणकालको अन्त्यसँगै निजामती प्रशासनमा सङ्क्रमणकाल सुरु भएकाले त्यसलाई सहजरुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

राज्यको पुनःसंरचनाअनुसार नै कर्मचारी प्रशासनको व्यवस्थापन गर्नु, विभिन्न नियम तथा कानुनको व्यवस्था गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिँदै मन्त्री शर्माले संविधानले प्रदत्त गरेको व्यवस्थालाई सहज कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सुगम स्थानमा मात्रै कर्मचारी बस्ने, दुर्गममा जानै नचाहने प्रवृत्ति निजामती प्रशासनमा मौलाएको भन्दै उहाँले नवनियुक्त अधिकृतले दुर्गम क्षेत्रमा गएर सेवा गर्ने र जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

इमान्दार को हो, सज्जन को हो, जनताको काम नगर्ने को हो, जनतालाई दिने सेवाबाट प्रष्ट हुने भन्दै मन्त्री शर्माले कर्मले उत्कृष्ट हुने प्रयत्न गर्न नवनियुक्त शाखा अधिकृतलाई निर्देशन दिनुभयो । जनताको सेवक भएको भावनालाई केन्द्रबिन्दुमा राखेर काम गर्न, जनतालाई सहजरुपमा सेवा प्रवाह गर्न आग्रह गर्दै उहाँले गैरकानुनी काम नगर्न तथा नगराउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले कार्यसम्पादन करार गरेर काम गर्ने प्रणालीको सुरुवात थालिएको उल्लेख गर्दै नवनियुक्त अधिकृतको पनि विभिन्न क्षेत्रमा कार्यसम्पादन करार गरिने बताउनुभयो ।
निजामती ऐनले तोकेबमोजिम नै काम गर्न र मुलुकको बदलिँदो परिवेशअनुसार अगाडि बढ्न आग्रह गर्दै उहाँले निजामती सेवालाई पारदर्शी र व्यवस्थित बनाउन मुख्य भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

निजामती प्रशासनमा नमुनायोग्य बनेर काम गर्न आग्रह गर्दै मुख्यसचिव सुवेदीले यहाँ ठूलो विलासी जीवन प्राप्त नहुने र जनताको सेवा गर्दा विभिन्न दुःख र हन्डरसमेत पाइने भएकाले त्यसलाई सम्मान गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारको प्रतिबिम्ब निजामती प्रशासनमा जनताले अनुभूत गर्नुपर्नेमा जोड दिँदै उहाँले इमान्दार भएर सेवा प्रवाह गर्न र रोलमोडलको रुपमा स्थापित हुन नवनियुक्त अधिकृतलाई आग्रह गर्नुभयो ।

सो समारोहमा सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्माले निजामती सेवालाई जनपक्षीय बनाउन र जनताको सेवालाई प्रभावकारी बनाउन नवनियुक्त अधिकृतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले कुनै एउटा विषयमा विशेषज्ञ बन्न र धैर्यता राखेर काम गर्न निर्देशन दिँदै सचिव शर्माले सेवामा जनताको चाहनालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो ।

लोक सेवा आयोगले यस वर्ष सञ्चालन गरेको शाखा अधिकृत परीक्षामा उत्तीर्ण भएका ३३७ जना अधिकृतलाई सो अवसरमा शपथ तथा पदबहाली गराइएको थियो । निजामती कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा छ महिनाको तालिमपछि नवनियुक्त अधिकृत सेवा प्रवेश गर्नेछन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com