जीवनरथका एकल पांग्रा

जीवनरथका एकल पांग्रा
काठमाडौं– उनलाई सानैदेखि रातो रङ मनपर्थ्यो। रातो चोलो र फरियामा उनी निक्कै सजिन्थिन्। काठमाडौं भद्रबासकी पवित्रा घिमिरेको बिहे सात वर्षकै उमेरमा नगरकोट टुसालका भोलानाथ घिमिरेसँग भयो। २५ वर्षको उमेरमा पुग्दा उनी तीन सन्तानकी आमा बनिन्। पति–पत्नी मिलेर परिवारको रथलाई अगाडि बढाउँदै थिए। त्यहीबीचमा पति भोलानाथको मृत्यु भयो। जीवनरथको एउटा पांग्रो बीच बाटोमै खुस्कियो।
उनको एक्लो काँधमा परिवारको रथ अगाडि बढाउने ठूलो जिम्मेवारी आइलाग्यो। केही समय त उनी निराश र मौन बसिन्। सात वर्षीय छोरा, दुई वर्षकी छोरी र १० महिनाकी काखे छोरीले उनलाई चुप रहन दिएनन्। उनीहरूको अनुहार नियालिन्। र, जस्तो दुःख पाए पनि हार नखाने सोच बनाइन्। यहीँबाट उनको हिम्मतिलो एकल यात्रा सुरु भयो।

पतिको काजकिरिया बसेको १३ दिन उनका लागि निक्कै पीडादायक थियो। काखे छोरीले दूध खान खोज्दा उनी कुनामा लुकेर बस्नुपरेको थियो। 'त्यो सम्झँदा मन अझै पनि कटक्क हुन्छ,' उनले भनिन्, 'अरू दुःख त कति परे–परे।'

श्रीमान् बितेपछि उनलाई त्यो बस्ती नै निराश लागेको थियो। उनी तत्कालै त्यहाँबाट माइती गाउँ फर्कन चाहन्थिन्। तर, सेतो लुगा लगाएको समयमा माइतीका भाइहरूले दिदीलाई हेर्न नहुने चलन भएका कारण उनी एक वर्ष त्यहीँ रहन बाध्य भइन्। 'जति बेला मलाई आफन्तको बढ्ता महसुस भएको थियो, त्यति बेला हाम्रा नियमले रोके,' उनी भन्छिन्, 'साना बालबालिकालाई पिठ्युँमा बोकेर मेलापात गरँे। त्यही ठाउँमा दुःख गरेर एक वर्ष बिताएँ।'

बरखी सकेलगत्तै उनी माइती नजिकै आएर बस्न थालिन्। एक बिहान घरको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा गएर दाउरा जम्मा गर्ने अनि भक्तपुरको थिमि बजार लगेर बेच्ने उनको दैनिकी सुरु भयो। ऊन कातेर सन्तानका आङ ढाकिन्। 'आम्दानीले रुखोसुखो किनेर सन्तानलाई हुर्काएँ,' उनी भन्छिन्, 'मैले पसिना बगाएर नानीहरूको खुट्टा दह्रो बनाएँ।'

उनले आफ्नो एकल जीवनका कथा सुनाउँदै गर्दा उनीसँगै रहेकी ८५ वर्षीया कान्छी खत्रीका आँखा रसाउन थाले। तीन छोरा र तीन छोरीकी आमा कान्छीले १६ वर्षअगाडि आफ्नो श्रीमान् ललितबहादुरलाई गुमाएकी हुन्। तर त्यति धेरै पीडा आफ्नो जिन्दगीमा नपरेको उनले सुनाइन्। 'बुढेसकालको सहारा गुम्दा बेसाहाराजस्तो त लाग्यो,' उनले भनिन्, 'छोराछोरी हुर्किसकेकाले यति धेरै दुःख खेप्नुपरेन।' एक वर्ष सेतो कपडा लगाएकी उनले त्यसपछिका केही वर्ष राताबाहेकका अन्य रङका कपडा लगाउँदै आइन्। 'अघिल्लो वर्ष त छोरीले यो सुइटर ल्याएर दिई,' रातामा कालो बुट्टा भएको स्वेटर लगाएकी उनले भनिन्, 'मैले अप्ठ्यारो मान्दा उसले आफंै लगाइदिई।' रातो कपडामा उनी झनै हँसिली देखिइन्। 'समाजले हेर्ने कुरामा फेरबदल आएको उनले महसुस गरेकी छिन्। 'अझै पनि समाजका कतिपय मान्छेमा चाहिँ पति गुमाएका महिला 'लच्छिन'को नहुने पुरातन सोच बाँकी नै रहेको जस्तो लाग्छ,' उनी भन्छिन्।

यो पार्वती र कान्छीको मात्र पीडा होइन। बीचबाटोमै जीवनसाथी गुमाएका तमाम एकल आमाहरूले भोगेको साझा कथा हो। जति बेला हामीलाई उनीहरूलाई समाजको सहारा चाहिन्थ्यो। त्यति बेला अवहेलना पाए। तर उनीहरूले हिम्मत हारेनन्। रथको एउटा पांग्रो टुट्यो। तर रथ लड्न दिएनन्। ढलपल–ढलपल गर्दै उनीहरूको जीवनरथ अगाडि बढिरह्यो ।

यस्तै एउटा जीवनरथको 'पांग्रो' भक्तपुर थिमिको नासननी चोकमा कपासको बत्ती कात्दै गरेको अवस्थामा भेटियो। ८७ वर्षीय चुरीनानी प्रजापती ३४–३५ वर्षको उमेर हँुदा पतिको मृत्यु भयो। त्यही बेलाबाट पाँच वर्ष र छ महिनाका दुई सन्तानकी आमा चुरीनानीका दुःखका दिन सुरु भए। सन्तानले पापा माग्ने समयमा पिता गुमाएको पीडा निक्कै दुःखलाग्दो हुने उनले सुनाइन्। उनी सानो छोरालाई पिठ्युँमा बोेकेर दिनभर चिउरा कुट्थिन्। त्यसैको ज्यालाले उनको परिवारको गुजारा चल्थ्यो। चिउराको काम नपाएको समयमा उनले माटो मुछिन्। भाँडा बनाइन्। र, बेचिन्।

'त्यति बेला कति दुःख थियो भन्न सक्दिनँ,' एकाएक उनका आँखा भरिए। आँसु झर्न थाले। त्यसो त उनले जीवनमा सेतो कपडा लगाउन परेन। उनका ससुराले उनलाई त्यति बेलै यो छुट दिएका रहेछन्। 'त्यतिले पनि मन केही हल्का त भयो,' उनी भन्छिन्, 'तर दुःख आफ्नै ठाउँमा थिए।'

नौ वर्षअगाडि जंखु गरेपछि उनले रातो लगाउन पाएकी छिन्। रातो टीका र रातो फरियामा सजिएकी छिन्। 'रातो फेरि जीवनमा आएको छ,' उनले भनिन्, 'हुर्केका छोरा नातिहरूले खुसी दिएका छन्।'

मैनबत्तीजस्तै आफू पग्लिएर सन्तानका सुखको लागि जीवन आहुति गर्ने आमाहरूको बारेमा समाजमा अझै पनि टिकाटिप्पणी गरिने गरेको छ। आफ्ना आमा, दिदीबहिनीको बारेमा गरिएको यस्ता टिप्पणीले एकल महिलासँगै सिंगो परिवार आहत हुने गरेको छ। उनीहरूलाई राम्रोसँग थाहा छ— आमाहरूले हिम्मत नहारेका कारण आफूहरूको जीवन यहाँसम्म आएको हो।

चुरीनानीको परिवारका सदस्यलाई पनि उनको कथा राम्रोसँग थाहा छ। त्यसैले उनीहरू चुरीनानीको मान–सम्मानमा खुब ध्यान दिन्छन्। 'उहाँ त हाम्रा लागि निक्कै लच्छिनको हुनुहुन्छ,' नजिकै रहेकी बुहारीले भनिन्, 'हाम्रो भत्केको परिवारलाई उहाँले स्ाम्हालेर यहाँसम्म ल्याएकाले नै हामी अहिले खुसी छांै।'

एकल महिलाको पीडा प्रत्येक समाजमा रहेको छ। जता गए पनि हरेक एकल महिलासँग दुःख र हिम्मतको एउटा कथा भेटिन्छ। सिन्धुपाल्चोक बाह्रबिसेकी ७५ वर्षीया गुणमाया तिमल्सिनाको कथा उस्तै छ। छ वर्षकै उमेरमा उनको बिहे भयो। तीन छोरा र चार छोरी जन्माएकी उनले सन्तान नाबालक छँदै पति वियोग खेप्नुपर्योउ। 'मेलापात र पर्म गरेर सन्तानलाई हुर्काएँ,' हाल मुलपानीमा बस्दै आएकी तिमल्सिनाले भनिन्, 'ती दिनहरू सम्झँदा निक्कै दुःख लाग्छ।' एक वर्ष सेतो कपडा लगाएकी उनले त्यसपछि निलो, हरियो र पहेँला कपडा लगाउन थालिन्। 'समयअनुसार मैले पनि बिस्तारै रातो कपडा लगाउन थालेको छु,' उनले भनिन्, 'पहिलाको तुलनामा अहिलेको समयमा केही सहज भएको छ।' समाजको सोचाइ फेरिएसँगै कपडाको रङ पनि सेतोबाट पहेँलो, हरियो हुँदै रातोसम्म आइपुगेको उनले सुनाइन्। एकल महिलालाई हेर्ने दृष्टिकोण फेरिएको उनले महसुस गरेकी छिन्। 'पहिले कालो सारी लगाउदा पनि फेरोमा रातो छ कि भनेर चियोचर्चो गर्ने जमाना थियो,' उनले भनिन्, 'अहिले पूरै रातो लगाए पनि चासो हुन छाड्यो।'

उनले भनेजस्तै समयअनुसार एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आएको छ। उनीहरूको लवाइखवाइ फेरिएको छ। कपडा बदल्नेमात्र होइन कतिपयले कलिलैमा श्रीमान् गुमाएका आफ्ना बुहारीलाई कन्यादान गरेका उदारणसमेत भेटिन थालेको छ। एकल महिलाको जीवनमा आएका सकारात्मक परिवर्तनलाई विरोध गर्ने स्वरहरू मथ्थर हुँदै आएको छ।

भद्रबासकी पार्वती घिमिरेको पनि यस्तै बुझाइ छ। पतिको मृत्यु आफूले जीवनभर रातो नलगाए पनि उनकी जेठी छोरीले भने बिस्तारै रातो पहिरन लाउन थालेकी छिन्। सुरुमा आफूलाई यस्तो ठिक नलागे पनि बेलाअनुसार ठिकै लागेको सुनाउँछिन् उनी। 'समयअनुसार कपडा फेरेको आमा भनेर उसले मलाई सम्झाई,' उनले भनिन्, 'मैले छोरीको अनुहारमा खुसी देखेँ अनि चुप लागेँ।'

__ साभारी नागरिक न्युज;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com