कविता : रिमोट -जीवन



कविता : रिमोट -जीवन

तिमी जाँदै गरेको बाटोमा
हृदयबाट फूल बर्षाएको छु
नसोचेको स्वार्थीपन तिम्रो
धुनलाई स्वच्छपन दिएको छु
रूदिनँ म बिदाईमा
माटोमा झर्ने आँसुको मुल्य
आजभोली अरबौँ राखेको छु
तिमीले किन्न सक्दैनौ

माया लाग्छ तिम्रो
कवाडीको थुप्रोमा
तिम्रो मुल्य
अढाई रूपिया सुन्दा
तिमी त मुटुको सङ्ग्रालयमा
अमूल्य आँखाको ज्योति
मेरो मनको दियो थियौ

यो कोलाहल शहरमा
तिमीले आफैलाई चिनेनौ
मनको गरिमा ताजलाई
पित्तलको लेपन सम्झियौ
सुन थियौ तिमी त
जीवन रापमा कसी लगाएर
नम्बरी सुन बनेको
चिनेनौ तिमीले प्रदूषणमा
आफ्नै कस्तुरीलाई

किन बुझेनौ तिमीले
बाँच्नुको ब्यबधानहरूले
जीवनलाई बचाउँदैन
बरू पलपल मारिरहन्छ
तिमी मुस्कुराउँने त्यो खुशी
सागर अटाउँने मनको स्वच्छता
जीवन नैतिकताको इमान्दारीता
कुल्चेर किन हिँड्यौ
रिमोटले चल्ने मनोरञ्जन भएर ?

दीपा राइ पुन ;
बोस्टन , अमेरिका :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com