राष्ट्रपति भण्डारीले पशुपतिमा विशेष पूजा गर्ने

काठमाण्डौ पुस १०,

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै १३ पुसमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएकी छन् । मुलुकमा भइरहेको सङ्कटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले सोमबार राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिए । 

“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान ९:३० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ”–सदस्यसचिव डा टन्डनले भने । 

पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति परिसरमा बिताउने कार्यक्रम छ । राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हुनेछ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com