साउदीमा महिला पहिलो पटक सार्वजनिक पदमा निर्वाचित

आइतबार मङ्सिर २७,

साउदी अरेबीयामा पहिलोपटक कैयौँ महिलाहरु सार्वजनिक निकायमा निर्वाचित भएका छन्।

त्यहाँको निर्वाचन आयोगले मक्का प्रान्तको नगर परिषदमा सल्मा विन्त हिजाब अल ओतेबी निर्वाचित भएको जनाएको छ।

देशका अन्य क्षेत्रहरुबाटसमेत महिला चुनिएको खबरहरु आएका छन्।
पछिल्लो उपलब्धिलाई साउदी महिलाहरुले हासिल गरेको एउटा अर्को प्रगतिका रुपमा हेरिएको छ।

अवसर
राज परिवार र प्रबुद्ध धार्मिक वर्गले देशलाई नियन्त्रण गर्ने साउदी अरेबीयामा चुनावको खासै राजनीतिक महत्व रहँदैन।

तर नगर परिषदको चुनावमा जीत हासिल गरेका प्रत्येक महिला सामू साउदी समाजमा महिलाहरुको भूमिका अझ देखिने गरि प्रस्तुत गर्ने अवसर छ।

पछिल्लो उपलब्धिलाई महिला अधिकारवादीहरुले थप परिवर्तनको पक्षमा आवाज उठाउने मौकाको रुपमा प्रयोग गर्ने देखिन्छ।

कैयौँ नाम चलेका महिलाहरु चुनावमा सहभागी भएका थिए।
तर विगतमा खासै नाम नसुनिएकी सल्मा विन्त हिजाब अल ओतेबीले देशको पहिलो जननिवार्चित महिला प्रतिनिधि हुने अवसर पाएकी छन्।

साउदी अरेबीयाको मात्र नभई सम्पूर्ण मुसलमानहरुको आस्थाको केन्द्र रहेको मक्का प्रान्तमा उनले सातजना पूरुषहरुलाई हराउँदै जीत हासिल गरेकी हुन्।

पहिलो पटक महिलाहरुलाई मतदान गर्न र उम्वेदवार बन्ने अवसर दिइएको उक्त चुनावलाई पुरातनवादी साउदी अरेबियाको एउटा कोशेढुंगाका रुपमा हेरिएको छ।

अहिले पनि सार्वजनिक जीवनमा कयौँ बन्देज खेपिरहेका साउदी महिलाहरुलाई सवारी साधन चलाउनेसमेत अनुमति छैन।

उक्त चुनावमा झन्डै ६ हजार पुरुष र एक हजार महिलाले उम्मेदवारी दिएका थिए।

सहभागिता
शनिबारको चुनावका लागि १३ लाख ५० हजार पुरुष र १ लाख ३५ हजार महिला मतदाताका रुपमा दर्ता भएका थिए।

साउदी अरेबियामा कुनै पनि प्रकारका चुनाव विरलै हुने गर्छन् र शनिबारको चुनाव देशको इतिहासकै तेश्रो हो।
सन् १९६० देखि सन् २००५ सम्म ४० वर्ष त्यहाँ कुनै चुनाव भएन।

महिलालाई चूनावमा भाग लिन दिने निर्णय दिवंगत राजा अब्दुल्लाहले गरेका थिए र त्यसलाई उनको विरासतको महत्वपूर्ण अंग मान्ने गरिएको छ।

सुधारहरु घोषणा गर्ने क्रममा राजा अब्दुल्लाहले साउदी अरेबीयाका महिलाहरुले “सहि विचार र सुझाव राख्नसक्ने क्षमता व्यक्त गरेको” बताएका थिए।

गएको जेनवरीमा ज्यान गुमाउनु अघि उनले देशको प्रमुख सल्लाहकार परिषदमा ३० जना महिलालाई निर्वाचित गरेका थिए।

शनिबार २१ सय नगर परिषदका सिटमा चुनाव गराइएको थियो र थप १ हजार ५० सिटका प्रतिनिधिको मनोनयन राजाको स्विकृतिमा गरिनेछ। _ साभार बिबिसी  नेपाली;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com