उपचार नहुँदा २२ वर्षदेखि यस्तो अबस्थामा रत्ना

दैलेख मस्निर १७,

२२ वर्षअघि आगोले जलेर दुवै खुट्टा पोलिएकी रानीवन–७ की रत्ना शाही उपचार अभावले ९ महिनासम्म घरमै थलिइन्। ९ महिनासम्म घरेलु जडीबुटी प्रयोग गरेकी उनले निको नभएपछि छरछिमेकबाट ऋण सापटी मागेर भारतसम्म उपचारमा पुगिन्।

पैसा अभावमा उनको उपचार पूर्ण रुपमा घर ल्याउदा जाम भएको खुट्टा निको नहुँदा २२ वर्षदेखि हातले टेकेर हिड्नुपर्ने बाध्यता छ। रत्ना २२ वर्षदेखि सामान्य हिँडडुल गर्न नसक्ने भएपछि हात टेकेरै बाहिरभित्र गर्छिन्।  २२ वर्ष अघि खाना पकाउने क्रममा कपडामा आगोको मुस्लो सल्केर घाइते भएकी रत्ना अहिले दुई हात टेकेर शौचालयसम्म पुग्छिन्। 'अपांगता भएपछि श्रीमानले पनि साथ छोडे,' एक छोरीकी आमा ३७ वर्षीय रत्नाले भनिन्, 'उतिबेला मलाई मन पराएर पे्रम विवाह गरियो, अहिले यो हाल भयो। अपांगता बनेपछि घरपरिवारका सबैले घृणा गर्न थाले।' पतिसँगको सम्बन्ध विच्छेदपछि उनी माइतीमै बस्दै आएकी छिन्। रत्नाको उपचारमा २६ हजार ऋण लिएर खर्च गरिएको पैसा अझैं तिर्न नसकिएको आमा तुल्सा रावतले बताइन्।

रत्नालाई गाउँलेको सहयोगमा ०६५ सालमा सदरमुकाममै आएर अपांगता परिचयपत्र बनाएको आमा तुल्साले बताउँछिन्। 'परिचयपत्र बनाएपनि भत्ता दिइएको छैन,'आमा तुल्साले भनिन्, 'उपचार गरेपनि २२ वर्षदेखि छोरीको अवस्थामा सुधार आएन।' उनलाई महिला तथा बालबालिका कार्यालयले उनलाई 'ख' वर्गको अपांगता परिचयपत्र दिएको छ। परिचयपत्र बनाएपनि अहिलेसम्म भत्ता भने नपाउँदा खर्च गुजारा गर्ने बाटो पनि बन्द भएको रत्नाको गुनासो छ। सरकारले 'ख' वर्गकालाई कोटा निर्धारण गरी गाविसमार्फत मासिक ३ सय रुपैंया प्रदान गर्ने व्यवस्था गरेको छ। एकातिर सीमित कोटा हुनु र अर्कोतिर अपांगता क्षेत्रको बजेट अन्य शिर्षकमै खर्च गर्ने गाविसको परिपाटीका कारण रत्नाजस्ता थुपै्र अपांगता भएकाहरुको अवस्था बेहाल हुन पुगेको अधिकारकर्मी रत्न शाहीले बताए। निकै दयनीय अवस्थामा अपाङगता भएका ब्यक्तिहरुलाई सरकारले नहेरेको अधिकारकर्मी शाहीको भनाइ छ। _स्रोत-नागरिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com