कञ्चनपुर, स्वास्थ्य चौकीमा जीवनजलसम्म छैन

कञ्चनपुर मङ्सिर २९,

कञ्चनपुरका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा औषधिको चर्को अभाव भएको छ । उपचारका लागि स्वास्थ्य चौकी पुग्ने बिरामीलाई उपलब्ध गराइने निःशुल्क औषधि नभएपछि स्वास्थ्यकर्मीले रित्तो हात फर्काउने गरेका छन् ।

स्वास्थ्य चौकीमा जीवनजलसमेत नभएपछि निजी क्लिनिकबाट महँगो मूल्यमा औषधि खरिद गर्नुपरेको बेदकोट नगरपालिकाका गणेश पाण्डेयले बताए ।

स्वास्थ्य चौकीहरुमा तीन महिनाअघि केही औषधि जनस्वास्थ्य कार्यालयले पठाए पनि एक महिना नपुग्दै औषधि सिद्धिएकाले बिरामीलाई औषधिबिना नै उपचार गर्नुपरेको पिपलाडी स्वास्थ्य चौकीका प्रमुख चेतराज भट्टले भने, ‘दैनिक स्वास्थ्य चौकीमा ५० देखि ७० जना बिरामी उपचारका लागि पुग्ने भए पनि औषधि नहुँदा निजी औषधि पसलबाट औषधि खरिद गर्न पठाउँदै आएका छौँ ।’

स्वास्थ्य चौकीमा निमोनिया, झाडापखाला, ज्वरो, टाउको दुखाई, एलर्जी र छालासम्बन्धी रोगका बिरामी बढी पुग्ने गरेको देखतभूली स्वास्थ्य चौकीका लीलाकान्त झाले बताए ।

उनका अनुसार स्वास्थ्य चौकीमा दुई महिनादेखि जीवनजल, एन्टिलार्जिन, सिप्रो, आइरन चक्की, एमोक्सोलिन, पारासिटामोल, कोट्रिम र छाला रोगसम्बन्धीका औषधि अभाव भएको छ ।

स्वास्थ्य चौकीको आफ्नो आन्तरिक स्रोत नभएकाले औषधि खरिद गर्न नसकेको पिपलाडी स्वास्थ्य चौकीका प्रमुख भट्टले भने ‘जनस्वास्थ्य कार्यालयले ढुवानीको समस्या देखाउँदै औषधि आपूर्ति गर्न सकेको छैन ।’ रासस 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com