अब पढाउने र पढ्ने होइन, सिकाउने र सिक्ने’

  प्रकाश सिलवाल

लप्सेफेदी (काठमाडौँ), १३ पुस ,

सामुदायिक विद्यालयका शिक्षक तालिमप्राप्त मात्र छैनन् सेवासुविधाका हिसाबले निजी विद्यालयका शिक्षकभन्दा पेसागत रूपमा सुरक्षित मानिन्छन् तर किन सामुदायिक विद्यालयकै स्तर खस्कँदो छ ?

सामुदायिक विद्यालयका शिक्षकले अर्काे प्रश्न पनि खेपिरहेका छन्, के उनीहरु आफूले पढाउने विद्यालयमा छोराछोरी भर्ना नगरी निजी विद्यालयमा पढाउँछन् ? स्थानीय कालिका शरण उमावि, स्रोत केन्द्रमा सहभागी १४ विद्यालयका प्रअ र शिक्षकलाई पनि आज यस्तै प्रश्न तेर्साइयो । स्रोत केन्द्रका स्रोत व्यक्ति प्रयागराज काफ्लेले घुमाउरो भाषामा भन्नुभयो, “जसरी धामीले आफ्ना परिवारका सदस्यको उपचार गराउन चिकित्सककोमा लैजान्छन्, त्यसैगरी अधिकांश सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी संस्थागत विद्यालयमा पठाउँछन् ।”

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत मङ्सिर ४ गते सार्वजनिक गर्नुभएको १८ बुँदे शैक्षिक सुधारको प्रतिबद्धतामा कर्मचारीका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । काठमाडौँका सहायक जिल्ला शिक्षा अधिकारी युवराज बगालेले भन्नुभयो– “सामुदायिक विद्यालयको स्तर उठाउन शिक्षामा आत्मविश्वास जागृत हुनु अति आवश्यक छ र शिक्षकले पढाउने तथा विद्यार्थी पढ्ने भन्ने पुरानो मान्यता छाडेर सिकाउने र सिक्ने शैली अपनाउनुपर्छ ।”

चाँपाबोट माविका प्रअ नारायण धिमालले शिक्षकले चाहेमा सुधार गर्न सक्नेमा सहमत हुँदै जवाफ दिनुभयो– “प्रधानाध्यापकलाई पनि पाँच÷पाँच वर्षे कार्यकाल तोकेर गुणस्तर सुधार्न दबाब दिइएमा हामीलाई आपत्ति छैन, विद्यालयमा पूर्ण समय शिक्षक टिकाउन विद्युतीय हाजिरी जडान गर्दा पनि हुन्छ ।”

निजी विद्यालयका शिक्षकले झैँ सामुदायिकका शिक्षकले पनि लगनशीलता देखाएमा अभिभावकको आकर्षण पनि बढ्नेमा शङ्का छैन, जबकि समक्षताका दृष्टिले सामुदायिकका शिक्षक अब्बल छन् । शङ्करापुर नगरपालिका वडा नं १ देखि ५ सम्मको क्षेत्र (लप्सेफेदी र नाङ्गलेभारे) मा ‘गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच’ कार्यक्रम सञ्चालन गरिरहेको ग्लोबल एक्सन नेपाल (ज्ञान) का निर्देशक बाबुकाजी श्रेष्ठ भन्नुहुन्छ– “हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउनु राज्यको दायित्व हो भने त्यसलाई सघाउनु सामाजिक संस्थाको कर्तव्य हो ।”

जिल्ला शिक्षा कार्यालय र ‘वी वल्र्ड’ को सहयोगमा तीन वर्षअघि सो संस्थाले सञ्चालन गरेको कार्यक्रमबाट गुणस्तरीय शिक्षामा सहयोग पुगे पनि शिक्षक व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको स्थानीय राजनीतिक कार्यकर्ता र अभिभावकको गुनासो छ । शिक्षकले सो कार्यक्रमबाट व्यवस्थापन समिति गठन, विद्यालय सुधार योजनाको ताजगीकरण, अन्य दातृ निकायको सहयोग प्राप्ति, स्वयम्सेवक परिचालन, अङ्ग्रेजी भाषा सुधार, बाल क्लब र आमा समूह गठन, युवा परिचालन, अतिरिक्त क्रियाकलाप, प्रअको संयुक्त बैठकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन आएको जनाए ।

चाँपाबोट मावि र कालिका शरणसहित रातोमाटे प्रावि, बालज्योति निमावि, पोखरीचौर प्रावि, नवीनग्राम मावि, सूर्यज्योति प्रावि, महेन्द्र राष्ट्रिय प्रावि, शारदा मावि, भुवनेश्वर प्रावि, वैर महादेव प्रावि, जागृति प्रावि, शीलादेवी प्राविलगायत विद्यालयमा आगामी तीन वर्ष पनि ‘गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच’ कार्यक्रम सञ्चालन हुनेछ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com