"तँ जस्तो को छ ?

"तँ जस्तो को छ ? कुटिल ,खल कामी"  

भारतका प्रधानमन्त्री नियुक्त हुनासाथ नेपाल भ्रमणमा आएका नरेन्द्र मोदी नेपालका आदर्श पुरूष बने । गाडीबाट उत्रिएर सड़क - सड़कमा हात मिलाउदै हिडे । संविधानसभामा सम्बोधन गर्दा नेपाली भाषाबाटै सुरू गरे ।संविधान बनाउन नसकेर स्वदेशी नेताहरूलाई कर्के गाली गरिरहेका सर्वसाधारणले मात्र हैन सभामा उपस्थित प्रधानमन्त्री,लगायत सम्पूर्ण नेताहरुलेपनि टेवुल ठोकी ठोकी समर्थन जनाए र मोदीको प्रशंसा महिनौ गरिरहे । नेपालमा यस्ता नेता भए विकासले आकाश छुन्थ्यो भन्ने स्वैरकल्पनामा रमाए । हेर्दा हेर्दै मोदीले लाउने डिज़ाइनको वेस्टकोट नेपाली बजारमा भाइरल भए । 

नेपाल प्रवेश मोदी हुनु नै देशको लागि अशुभ दुर्भाग्य भयो | मोदीको पाईला पर्नासाथ जनताले संकटको सामना गर्नु पर्यो | नेपालले लगातार दुइटा बिपत्ति खेप्यो । महाभूकम्प र महानाकाबन्दी । भूकम्पबाट त्रसित जनता भारतको नाकाबन्दीबाट प्रभावित भए । एउटै राशिका दुई संकट सामना गरे र गर्दैछन पनि | पिडा सहे र सहँदै छन् पनि अनि देशको अबस्था र मोदीको नियत बुझे अझै बुझ्दैछन |चेतें र चेत्दैछन् अझै । फरक छुट्याउने प्रयास गरे भूकम्पबाट हुने क्षति प्रकृति सीर्जित हो । नाकाबन्दीबाट हुने क्षति भारत सीर्जित हो । दुबै क्षति उत्तिकै घातक छन । भूकम्प भू-धरातलीय गडबडी हो । नाकाबन्दी भूराजनीतिक चलखेल । पहिलो अनियन्त्रित हो । दोस्त्रो निर्देशित र नियोजित । अर्थात क्षति नै पुगोस भन्ने नियतबाट प्रेरित । अझ बिर्सदै गएको चोटलाई समेत बल्झाएर नाकाबन्दीले दोब्बर दर्द दियो । 

नेपाल भारत परापूर्वकालदेखिका घनिष्ठ मित्र थिएँ । अहिलेको अवस्था हेर्दा जनता "हुन" होइन , थिए भन्न थालेका छन । भूकम्पका पीडा भोगी रहेको छिमेकीमाथि सहानुभूति जनाउनु त पुरै जाओस , उ व्यथा थप्ने उत्रिएको छ । होइन भने उपप्रधानमन्त्री कमलथापाले जेनेभामा भनेजस्तो नेपालले आफ्नो संविधान आफै बनाउन किन नपाउने ? 
"तँ जस्तो को छ ? कुटिल ,खल कामी"
तस्विर गुगलबाट;

कतिपय असंतुष्टि कै कारण महात्मा गान्धी संविधान सभामा सहभागी भएनन । मस्यौदा समितिमा मुस्लिम समुदायको प्रतिनि नराखिएको भनेर तीब्र विरोध भयो । तर , सुनवाइ भएन ।निर्धारित २६ नेभेम्बर १९४९ मा संविधानसभाका सदस्यहरूले हस्ताक्षर गर्न राजी भएनन । दुई महिना पछि २६ जनवरी १९५० मा बल्ल ७३ प्रतिशत सभासदको हस्ताक्षर बटुलेर बाँकी भाग जारी गरियो । 

विरोधमा रहेका २७ प्रतिशतका आवाज बलपूर्वक दबाइये । अझै पिछडिएको धेरै समुदायले अधिकार खोज्दै त्यहाँ आन्दोलन गरिरहेका छन । अन्य राज्यको त कुरै छाडौ , मोदी कै गुजरातमा २२ बर्षीय हार्दिक पटेलको नेतृत्वमा उर्लिएको मानव सागर थामि नसक्नु छ । तर मोदीको भारत आफ्नो आंगको हात्ती हेर्न चाहदैन नेपालको ढाडको उपियाँ देखाएर अत्याउन खोज्दछ ।संविधानमा मिलांउनुपर्ने नपर्ने कुराहरूको ज्ञाता भएका हाम्रा बुजरुकहरु संवादका माध्यमबाट मिलाउन आफै सक्षम छ नेपाल । "कौन नहीं जानत है देशमें संकट सृजन नाम तुम्हारो " भारतका प्रख्यात पत्रकार इन्दर मल्होत्राले जुन १९७० को " द स्टेट म्यान" मा प्रकाशित आफ्नो लेखमा भारत - नेपाल सम्बन्ध विग्रनुको प्रमुख कारण " कुरूप भारतीयहरू " ( अगली इण्डियन्स ) कै कर्तुत रहेको उल्लेख गरेका छन । उनको भनाई आसय चाहीं ती व्यापारी हुन वा कर्मचारी , राजनीतिक वा अन्य कोही किन न हुन भन्ने नै थियो । 

अहिले समस्त नेपाली जनताले अनाहक भोग्नु परेको पीड़ादायी क्षण र भारतीय संस्थापन पक्षको अति क्षुद्र व्यवहार व्यहोर्नु पर्दा हाम्रो मानसपटलमा ती कुरूप भारतीयहरूकै प्रतिबिम्ब अंकित भएको छ । आफ्नो विदेश नीतिमा सात्विक शक्तिको प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक बर्ष अधि नेपालीहरूलाई जसरी मुग्ध पारेका थिए , अहिले तामसी शक्तिको दुरूपयोग गरी त्यसलाई घृणामा बदलेका छन ।संकट मोचन होइन कि संकट सृजनकार भएका छन । २०६२ / ६३ यता हाम्रा सरकारका अपरिपक्वताका कारण हचुवाका भरमा तराईमा नागरिकता विकरण गर्दा लाखौं गैरनेपालीले नागरिकता प्राप्त गर्ने दुर्भाग्यपूर्ण घटनाले त्यस क्षेत्रको स्थितिमा केही असहजता देखापरेको छ । यो पक्षलाई स्वयं तपाईंको सरकारका एकजना मन्त्रीले नेपालको तराईमा झण्डै एक करोड बढी भारतीयको सुरक्षा हाम्रो चासो हो भनी दिएको अभिव्यक्तिले पनि संकेत गर्छ । 

फलत: नव नेपालीहरूले साम्प्रदायिकता र जातीय विभाजनका प्रयासहरू कोर्न मलजल गर्न थाले पछि समानता , समावेशी र मूलप्रवाहीकरणको मर्ममा नै भ्रम सिर्जना गर्ने काम हुदै आएका छन । जसको नियंत्रणका लागि हामीले चौतारामा बसेर चार / पाँचजना मानिसले सनाखत गरेर दिलाएको नागरिकतामा छानबीन गरी बैज्ञानिक किसिमले वास्तविक नेपालीहरूलाई त्यसबाट बन्चित नगर्नेगरी पुनर्विचार गर्ने अवस्था नआउला भन्न सकिन्न । 

हाम्रा बीचमा खुला सीमा छन तर ती एकअर्का विरूद्ध गतिविधि सन्चालनका निम्ति नभई सहज आवत - जावत र व्यापारिक प्रयोजनका लागिमात्रै हुन । तर सीमा आसपासमा आन्दोलनरत मानिसहरूका लागि रक्सौलमा भारतीय नागरिकहरूले निरन्तर मेस सन्चालन गर्नु सीमा पारिबाट नेपालमा ढुँगा हाल्नु आदिलाई नियंत्रण गर्न नसकिने स्वस्फुर्त गतिविधि हुन भनी नेपालस्थित भारतीय राजदूतले दिएको अभिव्यक्ति हाम्रो खुला सीमाका सन्दर्भमा गम्भीर भएर सोच्नु पर्ने अवस्था देखा पर्न थालेको प्रतीत हुन्छ । 

भारतले जस्तै सीमामा हुने भारत विरूद्धका गतिविधिमा यदि नेपालले आँखा चिम्लिने हो भने के हुन्छ ? कहिल्यै मोदीको भारतले कल्पना गरेका छ ? नेपाल सरकारले तल ओर्लिएर त्यस्तो काम कदापि गर्ने छैन । मोदीको भारतले हामीलाई यस्तो गर त्यस्तो नगर भनी दबाव दिए झैं गोर्खाल्याणडको माग गरेकाहरू प्रति नेपालले सहयोगात्मक प्रतिक्रिया दिने अनि कस्मिरमा संयुक्त राष्ट्रसंघले जनमत संग्रह बाट निर्णय गर्न गरेको अनुरोधलाई समर्थन गरिदिन्थ्यो भने नेपाल प्रति मोदीको भारतको सोचाई र प्रतिक्रिया कस्तो हुने थियो होला ? मोदीको भारतले सोचेंको छ एकपल्ट ? ठीक त्यस्तै भएको छ आज कहिल्यै पराधीनता नसस्वीकारेको नेपाललाई उसको आन्तरिक मामिलामा मोदीको भारतको नांगोहस्तक्षेप । 

अन्त्यमा , विगतमा हाम्रो राजनीतिक नेतृत्वको नालायकीपनका कारण बाह्य शक्तिलाई खेल्ने ठाउँ दिएकाले भारतले छिमेकी हुँदाका न्यूनतम मर्यादा र कूटनीतिक आचरण विपरीत हामीमाथि हर सम्भव सर्तहरू थुपार्ने दु:साहस गर्न थालेको होला मोदीको भारतले । तर अब संविधान जारी भएसंगै संक्रमणकालको अन्त्यसहित ती गलतीहरू नदोहोर्याउने प्रयत्नसहित मित्रराष्ट्रलाई आफ्ना गतिविधिहरू कूटनीतिक मर्यादा अनुरूपमात्रै सन्चालन गर्न दिनमा नेपाल सजग हुदै जानेछ । छिमेकीहरू महत्वपूर्ण हुन्छन । भनाई पनि छ " साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न " । यसकारण छिमेकीहरू मिलेर बस्नुपर्ने अबस्था सबैका निम्ति बाध्यात्मक हुन्छ । 

चीन र भारतका बीचमा पनि थुप्रै तनाव छन तथापि भारतले र तीनले एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन । हामी पनि त्यही आत्मनिर्भरतामा आधारित सम्बन्ध स्थापित गर्न चाहन्छौं , जसलाई मोदीको भारतले पनि पालना गर्नु पर्छ । तर यस विपरीत भूकम्पका क्रममा पुर्याएको सहयोग प्रतिफलस्वरूप नेपालले आफ्नो स्वाधीनता र स्वाभिमान अन्य मुलुकप्रति भेंटी चढाउने अाशा नगर्न पनि म सबैमा आग्रह गर्दै हाम्रा सम्बन्ध सुधारमा मोदीको सरकारले परिपक्व भूमिका खेल्ने कुरामा आशावादी छु । 
निशा अर्याल
इज़रायल ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com