६ हजार ३ सय घरमा गोबर ग्यास जडान

शुक्रबार १० पुष,


गाेबर ग्यासबाट खाना पकाउँदै चितवन, कुमरोजकी कमला पाठक। तस्विरः चाँदनी हमाल  गाेबर ग्यासबाट खाना पकाउँदै चितवन, कुमरोजकी कमला पाठक। तस्विरः चाँदनी हमाल 
दाङको देउखुरी क्षेत्रमा छ हजार ३०६ घरमा गोबर ग्यास जडान गरिएको छ। यस क्षेत्रमा बायो ग्यास जडान गर्ने उपभोक्ताको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ। भारतले गरेको नाकाबन्दीका कारण सहर बजारमा एलपी ग्यासको चरम अभाव भइरहेका बेला बायो ग्यास जडान गरिएका घरमा भने ग्यासको अभावको कुनै प्रभाव नै देखिएको छैन।

राष्ट्रिय गोबर ग्यास कम्पनीले आव ०५२/५३ देखि देउखुरीमा गोबर ग्यास बनाउने काम गर्दै आएको छ। यो कम्पनीले अहिलेसम्म दुई हजार ३०० घरमा गोबर ग्यास जडान गरेको छ। त्यसैगरी नर्ती वन तथा वातावरण बहुउद्देश्यीय सहकारी संस्था लमहीले अहिलेसम्म दुई हजार ५०० उपभोक्ताको घरमा गोबर ग्यास जडान गरेको संस्थाका कोषाध्यक्ष जीवलाल खनालले जानकारी दिए।

सहकारी संस्थाले २०६४ सालबाट गोबर ग्यासमा लगानी गर्दै आएको हो। विसं २०६५ देखि वन तथा वातावरण संरक्षण समन्वय समिति, गढवाले गोबर ग्यास जडान गर्न उपभोक्तालाई सहयोग गर्दै आएको छ। अहिलेसम्म ९४३ उपभोक्ताको घरमा बायो ग्यास जडान गरिएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिए।

राप्ती सोलार पावर तथा गोबर ग्यास प्रालि, लमहीले देउखुरीका ५६३ घरमा गोबर ग्यास जडान गरिदिएका हुन्। बायोग्यास बनाउन सरकारले अनुदान दिँदै आएको छ।

तराई क्षेत्रमा दुई घन मिटरको गोबर ग्यास बनाउन रु १६ हजार, चार घन मिटरको बनाउन रु २० हजार, छ घन मिटरको बनाउन रु २४ हजार र आठ घन मिटरको बनाउन रु २५ हजार सरकारले उपभोक्तालाई अनुदान दिँदै आएको छ।

दलित, जनजाति, एकल महिला र द्वन्द्वपीडितको हकमा थप अनुदानको व्यवस्था रहेको राप्ती सोलार पावर तथा गोबर ग्यास प्रालि, लमहीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो। थप अनुदान दुई घन मिटरमा दुई हजार, चार घन मिटरमा रु दुई हजार ५००, छ घन मिटरमा रु तीन हजार रहेको छ। आठ घन मिटरको गोबर ग्यास बनाउँदा थप अनुदानको व्यवस्था गरिएको छैन।

गोबर ग्यास बनाउन चाहिने जम्मा लागतमध्ये आधा बढी रकम सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ। रासस  ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com