पर्वत, निःशुल्क आँखा शिविरमा एकैदिन एघार सयको उपचार

eye pressureफलेवास (पर्वत) पुस ५,

जिल्लाका दुई छुट्टाछुट्टै ठाउँमा एकैदिन आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एकैदिन एक हजार १०० भन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

उत्तरी पर्वतको माझफाँट गाविसस्थित मल्लाज र दक्षिण पर्वतको विकट गाउँ लुंखुदेउरालीमा शिविर आयोजना गरिएको हो । मल्लाजमा ३६० जनाको आँखा परीक्षण गरिएको छ भने लुंखुदेउरालीमा ७६८ जनाको उपचार गरिएको हो । जसमध्ये ३७ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रियासमेत गरिएको छ ।
लायन्स क्लब अफ चावहिल काठमाडौँको सहयोग र लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्र र सामाजिक विकास सशक्तीकरण अयिभानको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरको शनिबार उद्घाटन गर्दै सांसद कल्पना चापागार्इंले विकट गाउँका आँखा तथा दाँतका रोगीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने आयोजकको प्रशंसा गरेकी छिन् ।
कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा रमेशबहादुर प्रधान, वरिष्ठ दन्त रोग विशेषज्ञ डा रवीन्द्र जोशी, रोजिन प्रधानलगायतले बिरामीको परीक्षण गर्नुभएको थियो । उक्त शिविर तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा पर्वत र स्याङ्जाका गरी एक दर्जनभन्दा बढी गाविसका बासिन्दाले सेवा लिएका छन् ।

लायन्स क्लब अफ पर्वत, बेनी, मल्लाज र नेपाल रेडक्रस सोसाइटी माझफाँट उपशाखाको आयोजनामा मल्लाजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका छन् । उनीहरुलाई पुस ११ र १२ गते बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

आँखा उपचार केन्द्र, बेनीका प्रमुख दिनेश बानियाँको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण, चश्मा, औषधि वितरण र परामर्श सेवा दिएको थियो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com