विधुवा आमाहरूको भगवान देखाइदेऊ

दिल निसानि मगर 

जारी संविधानमा विधुवा महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने कुरा उल्लेख छैन। प्रवेश गरिहालेमा गंगाजलद्वारा चोख्याउने धारा, उप-धाराहरू समावेश गरिएका छैनन्। बरू धर्म निरपेक्षतासँगै धार्मिक रूपमा हेलित, दमित भएका दलित समुदायलाई कुनैपनि धार्मिक स्थलमा रोक लगाए कडा कानुन लाग्ने दफा र उप-दफा थपिएका छन्। कुनै खास जात, बर्ग, धर्म, पेशा, बर्णलाई विवेध गर्नुपर्ने संवैधानिक ब्यवस्था नदेखिएकाले एउटा राष्ट्रपति जस्तो सम्मानित ब्यक्तिलाई विधुवाको ट्याग भिराइदिएर गंगाजलले चोख्खिनु धर्म निरपेक्षता चाहनु होइन, कट्टरतामा प्रवेश गर्नु हो। र पहिचानवादी राजनीति गरेकाहरूको हाँस्यास्पद कूकर्म हो।

चन्द्र शमशेरको पालामा सति प्रथाको अन्त्य भयो। जुन आगोमाथिको इतिहाँस पढ्दा हामिलाई किताबका पानाहरूसँग समेत डर लाग्छ। हामी यस्तै कू संस्कारका प्रथाहरूलाई झेल्दै २१ औँ शताब्दिको युगसम्म आइपुगेका हौं। यो युगिन शताब्दिमा आईपुग्दा हामीले परिवार, समाज र सिङ्गो राष्ट्र बदल्ने भनेका हौं। हामीले हाम्रो मगजमा नयाँ चेतनाको विकास भएको छ र यसको प्रयोग गर्न पाँउ भनेर अड्डी कसेका हौ। तर यिनै विचारका संवाहक हौ भन्नेहरूलाई पति र पत्नी चाहेर पनि एकै दिन मरेर जान सक्दैनन् भन्ने कुरा थाहा रहेनछ। विधुवा विभेद किनै प्यारो हुँदो रहेछ। यिनले २१ औँ शताब्दिलाई गम्भीर कूठाराघात गरिरहेका छन्।

आफूलाई जन्म दिने आमा बाबु मरेर विधुवा भएपछि अलच्छिना हुने र पवित्रस्थलमा विधुवा आमाको पाइला परेमा गंगाजलले चोख्याउनुपर्ने जनकपुर-जानकीको उदाहरण दिल जलाउने खालको छ। कैयौ विवेकशिल छोराछोरीहरूको बद्नाम गराइदिएको छ, एकाएक शिर निहुराइदिएको छ। राष्ट्र प्रमुख जाने परम्परा अनुसार पूजाका लागि जानकी मन्दिर पुग्नु भएका सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूले मन्दिर प्रवेश गरेको भन्दै जुन किसिमको अपमान भएको छ, पक्कै पनि हाम्रो मुटु काँपेको हुनुपर्दछ। गहिरिएर सोच्ने हो भने यो घटना प्रशान्त महासागर भन्दा पनि गहिरो छ, हिम नदीभन्दा चिसो छ।

राष्ट्रपति पद राष्ट्रको सर्वोच्च संस्था हो, यो संस्था कुनै गाँउघरमा खोलिएको खेलकुद क्लब र आमा समूहको जस्तो कमसल होइन। त्यसैले सम्मानित पूर्वराष्ट्रपति रामवरण यादवज्यूलाई हामीले वर्षौसम्म शान्तपूर्वक झेलेका थियौं। उनी विधुर भनेर कहीँकतै अपमान भएको सुँईको पनि मिलेन, किनभने कतिपय पुरातन सोच भएका मानिसहरूको झुण्डले हावाको तालमा ब्याख्या गरे जस्तै अहिलेको युवाहरू मधेशे, पहाडे वा हिमालीको रुपमा बिभाजित छैनन्। हो, हामी बिभिन्न विचार, दृष्टिकोण, चिन्तन र सिद्वान्तबाट निर्देशित छौ, र यही आधारमा बिभाजित भएका हौ। विचार भएपछि त्यो विभाजित त भैहाल्छ। तर हामी गणतन्त्रमा प्रवेश गरेर आफैंले स्थापना गरेको संस्था ‘राष्ट्रपति’लाई अपमान गरेर भावनात्क रुपमा किन विभाजित भयौ?

जनकपुरको जानकी मन्दिरमा सम्मानित राष्ट्रपतिमाथि जुन अपमान भयो, त्यो भावनामा पुरै विभाजित मानसिकताको उपज थियो। आम विधुवा महिलाहरू प्रति निहित तप्काबाट भएको गम्भीर भुल थियो, जुन निहित तप्का राजनीतिक शक्ति हुनै सक्दैनन्। राजनीति त कु-संसारलाई अन्त्य गर्नको लागि हुनुपर्ने थियो, तर जनकपुरमा एक हिसाबले कु-संस्कारको संरक्षण गर्न खोजियो। एउटी विधुवा महिला, कठीन अनि लामो संघर्ष गरेर राष्ट्रपति बनेकोमा अपहेलित महसुस गरेको तप्का खुसी हुनुपर्नेमा उल्टै विधुवा आमाहरूको चित्त फाट्ने जुन गम्भीर हर्कत भएको छ, यो धर्म निरपेक्ष राष्ट्रको लागि सुहाउने कुरै थिएन।

विधुवा राष्ट्रपतिले जानकी मन्दिरमा पूजा गरेको भन्दै गंगाजल छर्केर सुद्दिकरण गर्ने जस्तो निच कामको प्रमाणको रुपमा जनकपुरका सामाजिक संजाल प्रयोगकर्ता र अखबारका दृश्य तस्बिरहरू काफी नै छन्। तर केहि पहिचानवादी भनेर परिचय दिन चाहने मानिसहरूको झुण्डलाई ठूलो लाज लागेपछि यो कूकर्मलाई अन्तै डाईभर्ट गरिएको छ। मन्दिरमा सैनिकले कुकुर लिएर पूजास्थल पुगेपछि मन्दिरलाई चोख्याउन परेको जस्ता तर्कको लागि तर्क गरेपनि सत्यता छिप्न सक्दैन। अरूभन्दा फरक विचार प्रस्तुत गर्न रातलाई दिन भन्नेहरूसँग यस्तै चेतना हुन्छ। जानकी मन्दिरमा आईएसभन्दा खतरनाक धार्मिक कट्टरपन्थिहरूबाट आक्रमण भएको हो ।
सुरक्षाको लागि सैनिकका तालिम प्राप्त कुकुरहरू जानकी मन्दिर गएका थिए। धुप, अगरबत्ति बालेर पूजा गर्नको लागि गएका थिएनन्। ती कुकुरहरू मानिसभन्दा धेरै हितकारी थिए। ती कुकरहरूले त सुँघेर बम भेटाइदिन सक्थे। ती कुकरहरूले सम्वावित अपराधीलाई च्याप्प सामतिदिन सक्थे। ती कुकुरहरूले भीडभाडमा धेरै मानिसहरूको ज्यान जोगाउन सक्थे। ती कुकुर मानिसभन्दा सफा, जिम्मेवार थिए, चेतनशील थिए। ती कुकुर मानिसभन्दा सीप, सहयोगी र संबेदना बोकेका थिए। तर पेट्रोल बम प्रहार गर्ने हातहरूले कसरी मन्दिर चोक्खाएको? गंगाजल भनेको तस्करी तेल हो र?

पशुपतिनाथको मन्दिर वरिपरि जानेहरू सबै खाली खुट्टा जाँदैनन्। जानकी मन्दिरको पूजा स्थलमा राष्ट्रपतिज्यू जुत्तासँग पुगेको तस्बिर कसैले देखाउन सकेका छैनन्। त्यसैले विधुवा महिलाले मन्दिरमा पूजा गरेर असुद्ध भयो भन्ने गंगाजलीय कट्टरता दुई वटा कुराबाट गाईडेड छ। एउटा- हिँउ आएको निहुँ पाएको, अर्को दाईलाई सक्दिन भाउजुलाई राख्दिन। केही झुण्डले लामो समयदेखि के धम्की दिईरहेका थिए भने राज्यका मानिसहरू सक्छौ भने मधेश आउ, हाम्रो आन्दोल कति ठूलो छ हेर। आलाङ्कारिक राष्ट्रपति नै मधेश जाने भएपछि तिनलाई रातभरि निद्रा लागेन। विद्यादेविको बायोडाटामा तिनले केबल विधुवा भेटे र गंगाजलको छम्किए।

राष्ट्रको सबैभन्दा ठूलो र सम्मानित पदमा रहेका मानिसको त यति गम्भीर अपमान भयो भने सामान्य गाँउघरका विधुवा आमाहरूको हालत कस्तो होला? मधेशभन्दा अशिक्षित र अविकशित बस्तिहरूको मन्दिरमा बिधुवा आमाहरूको भगवान कहाँ होलान्? यो समाज कति धैरै जुठो होला? कति धेरैको घर आँगन चोख्याउन परेको होला? कति धेरै छोराछोरी अगति परेका होलान्? कति धेरैलाई बाटोमा साइत नपरेको होला? के हामीले स्थापित गर्न चाहेको पहिचान यही हो ? के हामीले प्राप्त गरेको धर्म निपेक्षताको अधिकार विधुवा आमाहरूलाई मन्दिरमा प्रबेश रोक लगाउन हो? विधुवा आमाहरूलाई भगवान कसले देखाइदिने होला, प्रश्नहरू अनुत्तरित छन्।

संबैधानिक मुद्दाको समाधान विद्यादेविलाई विधुवा भनेर हुँदैन। न उहाँले पूजा नगरेको मन्दिरलाई अपबित्र भयो भनेर गंगाजलले सुद्दिकरण गर्दा सजिलै निकाश निस्किन्छ। विधुवाले मन्दिरमा पूजा गर्‍यो भनेर हंगामा मच्चाउने काम प्रगतिशिल, अग्रगामी सोच कदापि हुन सक्दैन। सयौं महिनासम्म जोडदार आन्दोलन गरेपनि एक न एक दिन वार्तालाइ निचोडमा पुर्‍याउनै पर्छ। र त्यो बार्ता राजनीतिक दलसँग हुन्छ। निश्चित रूपमा मधेसी नेपालीहरू राजनीतिक तवरबाट, संवैधानिक अधिकारको तबरबाट बहिस्करणमा परेका हुन् भने यसलाई राजनीतिक मुद्दाकै रूपमा अगडि बढाउँदा क्षति कम हुन्छ। विधुवा महिलाको अपमान गरियो भने हेलित, दमित तप्काहरूको नाममा राजनीति गर्नु नै बेकार हो।

मधेशी नेताहरूको दिल्ली डौडाह सम्पन्न भएपछि मधेशमा स्थिरता कायम हुने, नाकाहरूको अबरोध (नाकाबन्दी) पूर्णरूपमा खुल्ने र आन्दोलनरत दल, सरकार र प्रतिपक्षबिच वार्ता सकारात्मक हुने आशा थियो। जनकपुर काण्ड अनि पछिल्ला अडान केही घटनाहरूले सहजिकरणमा थप संकट परेको भान हुन्छ। हाम्रो संविधानको संशोधन बारे दिल्लीका विविध फोरमहरूमा बहस हुँदा शक्ति र भक्तिका कमजोर जनताहरू टुलुटुलु हेरिरहन मात्र सक्लान् तर नाका खोल्ने दिल्ली साँचो कहिले कहिले आउँछ भन्नुपर्‍यो। विरामीको औषधि खाने अधिकार हरण गरिएको छ। बालबालिकाले स्कुल जान पाएका छैनन्।  अपाङ्गहरूलाई दाउरामा पकाएर खान दुःख भयो।

आन्दोलनका उपलब्धिहरू जोगाउन संविधान सभा भनियो। ती उपलब्धिहरू कति जोगिए, कति थपिए, कति नाश भए तिनको बारेमा वर्षौसम्म संशोधन प्रस्ताव पारित हुँदै जान्छन्, पास हुँदै जान्छन्। दुनियाँमा हुने भनेको पनि यहि बिधि हो। बिगतमा गरेका सहमतिहरू पुरै चाहियो भन्ने हो भने एमाओवादी फेरि जंगल जानुपर्छ किनकि उसले पुरा हुन नसकेका आफ्ना केही महत्वपूर्ण मुद्दाहरूलाई संबिधानसभामा फरक मत दर्ता गरेको छ। मधेशसँग बिगतमा गरिएका सहमति पुरा भएका छैनन् भने ती क्रमश पुरा हुन्छन्। त्यो काम मधेशमा चुनाव जितेका संसदहरूलाई छोड, जनताहरू पहिचान नपाएर प्याकप्याक हुँदैनन्। _ साभार- सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com