महिला हिंसाविरुद्धको अभियानमा राजधानीकै महिला अनविज्ञ

काठमाडौँ, १७ मङ्सिर ,

अहिले सम्पूर्ण देश महिला हिंसाविरुद्धको सोह्रदिने अभियान मनाउन जुटिरहेको छ तर राजधानीकै विभिन्न स्थानमा बसोबास गर्ने साधारण महिलालाई भने यस अभियानबारे अनभिज्ञ छन् ।

उमेरले ७२ वसन्त पार गर्नुभएकी गोरखा पालुङ्टारकी पूर्व स्वयम्सेविका विष्णुमाया सापकोटालाई यो अभियानबारे अहिलेसम्म कुनै जानकारी छैन । बसाइँ सरेर राजधानी आएको सात वर्ष भए पनि उहाँले गाउँ न सहर कहीँ पनि महिला हिंसाविरुद्धको अभियान मनाइन्छ भन्न आफूलाई जानकारी नभएको बताउनभयो ।
नेपालमा महिला अधिकारका लागि काम गर्ने सङ्घसंस्थाले महिला हिंसाबारे बर्सेनि विभिन्न कार्यक्रम गरे पनि त्यो लक्ष्यित समुदायसम्म पुग्न नसकेकाले पनि धेरै महिलालाई यस अभियानबारे जनाकारी नभएको महिला आयोगका शाखा अधिकृत शान्ता पन्त बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीले रेडियो, पत्रपत्रिकालगायत विभिन्न पर्चा÷पम्प्लेट प्रकाशित गरी महिला हिंसाबारेमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम पनि गर्दै आएका छौँ तर महिला नै यसबारेमा जानकार हुन चाहँदैनन् ।” धेरै महिला घरव्यवहार र अशिक्षाका कारण प्रकाशित भएका लेख रचना पढ्न सक्दैनन् ।

गोङगबुँकी ४७ वर्षीया राधिका भण्डारी लेखपढ गर्न नजानेकाले आपूmले महिला हिंसाबारे जानकारी नपाएको हुनसक्ने ठान्नुहुन्छ । सोह्र दिने अभियानबारे सोधिँदा उहाँले घरकै काममा व्यस्त रहनुपर्ने भएकाले यसबारे अहिलेसम्म नसुनेको जवाफ दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “घरव्यवहारकै कामले फुर्सद हुँदैन, महिलालाई जति अभियान मनाए पनि घरको काममा छुट्टी हँुदैन । थाहा पाएर मात्र के गर्न सकिन्छ र ?” उहाँ मात्र होइन ओखलढुङ्गा घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ६० वर्षीया देउमाया खड्कालाई पनि यस अभियानले के गर्छ, महिला हिंसा भनेकै के हो भन्नेबारेमा जानकारी छैन ।

राजधानीको रत्नपार्क शान्तिवाटिकामा दिनहुँजसो कार्यक्रम भइरहने स्थानमा नाङ्ग्लोमा बदाम, छुर्पी राखी व्यापार गर्ने खड्कालाई रेडियो, टिभी हेर्ने र जानकारी लिने समय हुँदैन । उहाँ भन्नुहुन्छ, “के थाहा हुनु र ! दिनभर अलिअलि व्यापार नगरे बेलुका खाने केही हुँदैन । कतै सुनेको पनि छैन यस्तो अभियानका बारे ।”
अभियानबारे थाहा नपाए पनि महिलालाई दुःख दिनु हँुदैन भन्नेबारे उहाँलाई थाहा छ तर, पुरुषले महिलालाई दुःख दिन नछोड्दासम्म महिलालाई कहिल्यै सुख नहुने उहाँको तर्क छ । हिंसामा परेका महिलालाई उद्धार गर्ने, उनीहरुलाई निःशुल्क कानुनी सेवा दिँदै आएको राष्ट्रिय महिला आयोग भने आपूmले महिला हिंसाका बारेमा पर्याप्त जनचेतनाका कार्यक्रम गर्दै आएको दाबी गर्छ ।

शाखा अधिकृत पन्त महिलाकै कमजोरी कारण यसबारेमा उनीहरु जानकार हुन नसकेको बताउनुहुन्छ । सञ्चालित कार्यक्रम पर्याप्त नभएकाले गाउँघरसम्म प्रभाव पार्ने खालका कार्यक्रम आवश्यक छ भन्नुहन्छ आयोगकी कानुनी परामर्शदाता तारा महर्जन । उहाँका अनुसार आयोगमा जति पनि महिला आउँछन् धरै जसो अरूबाट थाहा पाएर आउने गरेकाले हिंसामा परेका सबै महिला आयोगमा आउन सकेका छैनन् ।

आर्थिक वर्ष २०७१÷७२ मा आयोगमा विभिन्न हिंसामा परेका १०२ महिलाबाट हिंसासम्बन्धी निवेदन परेका छन् । अधिकारबाट वञ्चित, नाता कायमबाट वञ्चित, शारीरिक, मानसिक हिंसा, कुरीति, हत्या, बहुविवाह, बलात्कार, हाडनाता करणीलगायतका हिंसामा परेका निवेदन परेको महर्जन बताउनुहुन्छ ।

दश कक्षासम्म पढ्नुभएकी गृहिणी शीला पोखरेल भन्नुहुन्छ – “पुरुषले घरमा सहयोग गरे हिंसाको स्थिति नआउला जस्तो लाग्छ तर महिलाका लागि काम गर्ने सङ्घसंस्थाले महिलाका नाम आफ्नै फाइदाका लागि मात्र काम गर्ने गरेका छन् । त्यसो भएकाले सबै महिलालाई आफ्नो अधिकारका बारेमा पर्याप्त जानकारी हुन सकेको छैन ।”

महिला आयोगले हिंसामा परेका महिलालाई आवश्यक सम्पूर्ण परामर्श र कानुनी सहायता निःशुल्क गरे पनि पर्याप्त जनचेतना र आयोगबारे जानकारी नपाउँदा बाहिरी जिल्लामा मात्र होइन राजधानीकै महिला हिंसा सहन बाध्य छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com