बिहे भोजको खर्च सामाजिक कार्यमा

फलेवास (पर्वत), २९ मङ्सिर ,

मङ्सिर महिना बिहेको मौसम । हरेक दिन विवाहको भोज भइरहेको हुन्छ र यस्ता भोजमा लाखौँ रुपैया खर्च पनि हुन्छ । तर पर्वतका युवाले विवाहमा भोज खुवाउने चलन त्याग्दै बिहे भोजको खर्च सामाजिक काममा लगाउन थालेका छन् ।

पर्वतको कुस्मामा क्रियाशील ‘रोट्याक्ट क्लब’ अफ पर्वतका युवाले बिहे भोजको रकम सामाजिक काममा खर्च गर्न थालेका छन् ।

शनिबार मात्रै बिहे बन्धनमा बाँधिएका क्लबका अध्यक्ष कुस्माबजार निवासी सन्तोष पौडेल र उहाँकी जीवन सङ्गिनी शर्मिला बराल पौडेलले बिहेमा भोज नखुवाई आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ भने गाउँमा शय्याको अभावमा सुत्केरी गराउन समस्या झेलिरहेको स्वास्थ्य चौकीलाई सुत्केरी गराउने शय्या तथा पेरिलाइट पनि सहयोग गर्नुभएको छ । उहाँहरुले आफ्नो गाउँको आमा समूहलाई बिरामीलाई बजार पु¥याउन सहयोग पु¥याउन स्टेचरसमेत सहयोग गर्नुभएको छ ।

पौडेल दम्पतीले कुस्मा नगरपालिका–१८ स्थित वीरेन्द्र उच्च माविमा रु एकलाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गर्नुभएको छ भने सोही गाउँको जागृति महिला समूहलाई झन्डै रु २० हजार पर्ने अत्याधुनिक स्टेचर सहयोग गर्नुभएको छ ।

यस्तै पर्वत जिल्लामा अस्पतालबाहेक सबैभन्दा बढी सुत्केरी गराउँदै आएको शङ्करपोखरी गाविसस्थित स्वास्थ्य चौकीमा रु ५० हजार मूल्य पर्ने सुत्केरी शय्या र पेरिलाइट सहयोग स्वरुप उहाँहरुले प्रदान गर्नुभएको छ ।
‘विवाहको भोजमा तडकभडक गरेर मनाउनु भन्दा सामाजिक क्षेत्रमा लगाउनु उचित ठानेर विद्यालय र स्वास्थ्य क्षेत्रमा सहयोग गरेकी हुँ,’ पौडेलले भन्नुभयो – ‘मेरो सहयोगले आर्थिक अभावमा पढ्न नसकेका जेहेन्दार विद्यार्थीले शिक्षा पाउने र गाउँका महिलालाई सुत्केरी गराउन सहयोग पुग्ने विश्वास लिएको छु ।’
वीरेन्द्र उच्च माविमा पौडेलका दाजुभाइले अध्ययन गर्नुभएको थियो । नगरपालिका भएपछि बाह्रैमहिना सवारी साधन नचल्ने भएकाले बिरामीलाई मोटरबाटोसम्म ल्याउन समेत समस्या थियो ।

यसैगरी शङ्करपोखरी स्वास्थ्य चौकीले वर्षमा ४० जनाभन्दा बढीलाई सुत्केरी गराउँदै आएको छ । शङ्करपोखरी, थापाठाना, भङ्गारा गाविसलगायतका ठाउँबाट आउने गर्भवती महिलालाई सुत्केरी गराउन शय्या र पेरिलाइटको अभावमा सामान्य शय्यामा राखेर लाइट बालेर सुत्केरी गराउनुपर्ने समस्या रहेको स्वास्थ्यचौकी प्रमुख उमाकान्त सापकोटाले बताउनुभयो ।

यसअघि गएको जेठमा विवाह बन्धनमा बाँधिनुभएका रोट्याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्यको दम्पतीले कुस्मा बजारमा सौर्य बत्ती जडान गर्नुभएको थियो । आचार्य दम्पतीले कुस्मा बजारमा सबै भन्दा बढी भीड हुने शिवालयचोक र संवेदनशील क्षेत्र मानिने लोकतन्त्रचोकमा सौर्य बत्ती जडान गर्न सहयोग गर्नुभएको हो ।
रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com