मृगौला पीडितलाई १० लाख ८० हजार सहयोग हस्तान्तरण

सुरुङ्गा (झापा), १३ मङ्सिर ,

पाँचथरको लिम्वा–३ निवासी १३ वर्षीय मिर्गौला पीडित एक बालकको उपचारार्थ रु १० लाख ८० हजार २३४ उनको परिवारलाई प्रदान गरिएको छ ।

झापाको बिर्तामोडस्थित अतिथिसदन परिसरमा शनिबार आयोजित पत्रकार सम्मेलनका बीच मिर्गौलापीडित बालक विवेक आङ्बुहाङका बुबा नेत्रबहादुर आङ्बुहाङलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

दुवै मिर्गौला खराव भएर गत फागुनदेखि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत बालकलाई थप उपचारका लागि काठमाडौँ लान समस्या भएपछि विवेक आङ्बुहाङ बचाउ अभियानमार्फत सङ्कलित रकम अभियानकी नेपाल संयोजक दुर्गाकुमारी शेर्माले हस्तान्तरण गरे ।

विवेकको उपचारका लागि रु १० देखि १८ लाख खर्च हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएपछि उनको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरिएको अभियानकी संयोजक शेर्माले बताए ।

गत साउनदेखि फेसबुक पेजमार्फत आङ्बुहाङको जीवन रक्षाका लागि अभियानका रुपमा रकम सङ्कलन गर्न सुरु गरिएको र सो क्रम अझै जारी रहेको कार्यक्रममा जानकारी दिइयो । रोजगारीका क्रममा युके, जापान, मलेसिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, कतार, साउदीमा रहेका नेपालीले सहयोगस्वरुप पठाएको रकम एकमुष्ट जम्मा गर्दै परिवारलाई हस्तान्तरण गरेका हौँ – अभियान संयोजक शेर्माले भने ।

आर्थिक अवस्था न्यून भएका आङ्बुहाङ परिवारले छोरा विवेकको उपचारका लागि यसअघि रु सात लाख ५० हजार खर्च गरिसकेको विवेकका बुबा नेत्रबहादुरले बताए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com