आर्थिक रुपमा बिपन्न १० जनालाई निःशुल्क ओपन हार्ट सर्जरी

काठमाडौँ, ९ मङ्सिर ,

बसुन्धरास्थित ग्रीनसिटी अस्पतालले आर्थिक अवस्था अत्यन्त न्यून रहेका कालीकोट तथा धादिङका १० बिरामीको निःशुल्क ओपन हार्ट सर्जरी गरिदिएको छ ।

अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कालीकोट कुमागाउँ–९ का १२ वर्षीया सुनिल दर्जी, भर्ता–१ का ६ वर्षीय सुनिल धिताल, मान्म–९ का ३० वर्षीया अम्बिका पाण्डे, नानीकोट–७ का २४ वर्षीय मेघराज सञ्जेल मान्म–९ कै २५ वर्षीय हिरा नेपाली, मान्म–५ का २९ वर्षीया विमला शाही, मेहलमुडी–५ का २५ वर्षीया सरिता बोहरा र धादिङ मैदी– १ का १९ वर्षीय एकबहादुर थापाको निःशुल्क उपचार गरिएको जानकारी गराएको हो ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सो शल्यक्रियापछि विकट स्थानबाट ल्याएर उपचार गर्न सकेकामा खुसी लागेको बताउनुभयो । उहाँकै नेतृत्वमा सो शल्यक्रिया गरिएको थियो । गत वर्ष पुस महिनामा डा भट्टराईकै नेतृत्वमा गएको निःशुल्क स्वास्थ्य शिविरमा कालीकोटमा करिब एक हजार ४२० जनाको स्वास्थ्य जाँच गरेको थियो ।

तीमध्ये २० जनाको शल्यक्रिया नै गर्नुपर्ने अवस्था रहेको बताउँदै डा भट्टराईले भन्नुभयो, “दुई महिनाअघि उनीहरुमध्ये फुकोट गाविसका– १३ वर्षीया चरित्रा धमला र ११ वर्षीय टेक विकको उपचार गरेर घर फर्काइसकेका छौँ । बाँकीको पनि क्रमैसँग उपचार गरिनेछ ।” उक्त एउटै शल्यक्रियाको रु चार लाख खर्च लाग्ने बताइएको छ । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com